ट्याक्सी व्यवसायी र पठाओ राइडरबीच हानाहान

कमल प्रभात

काठमाडौँ

सोमबार साँझ काठमाडौंको सामाखुशी चोकमा बसेकी एक युवती ट्याक्सी मार्फत कतै जाँन खोज्दै थिइन्।

ट्याक्सीमा चढ्नै लाग्दा सोही ठाउँमा एक पठाओ राइडर आइपुगे। ट्याक्सीमा चढ्नै लागेकी युवतीले पठाओ राइडरसँग जाने सहमति गरिन्। त्यत्तिकैमा ट्याक्सीमा चढ्न लागेकी युवतीलाई खोसेको भन्दै ट्याक्सी चालकले पठाओ राइडरमाथि हात हाले। क्षणभरमै उनीहरुबीच हानाहानको अवस्थानै आयो। जुन दृश्य केवल एक मिनेटमै सिर्जना भएको थियो। 

पछिल्ला दिनहरुमा ट्याक्सी व्यवसायी र पठाओ राइडरबीच सडकमा दिनहुँ जसो विवाद र झगडा हुन थालेको छ। केहीदिन अगाडी दरबारमार्गमा पनि यस्तै विषयमा ट्याक्सी व्यवसायी र पठाओ राइडरबीच ग्याङ फाइट नै भयो। त्यस्तै सोमबार नै गोगंबुमापनि विवाद भयो। 

खासगरी पठाओ राइडरहरुको नियम विपरित सार्वजनिक सवारीले जसरीे चोकमा कुरेर अफलाइन यात्रु ओसारपोसार गर्ने प्रवृतीले सडकमा ट्याक्सी व्यवसायी र पठाओ राइडरबीच विवाद उत्पन्न भएको हो। 

हुन त ट्याक्सी व्यवसायी र पठाओ राइडरबीच अहिले मात्रै विवाद भएको भने होइन्। पठाओ लगायतका सेयर राइडिङ बन्दको माग राखेर ट्याक्सी व्यवासायीहरु विगत ३ वर्षेदेखि आन्दोलनमा छन्। रातो प्लेट हुनेले यात्रु बोक्न नपाउने उनीहरुको माग छ। 

पछिल्लो समय थुप्रै पठाओ राइडरहरु कम्पनीको ज्याकेट लगाएर चोकमा यात्रु कुर्दै बसेको अवस्थमा भेटिन्छन्। जसको कारणले ट्याक्सी व्यवसायीहरुसँगको विवाद दिनप्रतिदिन बढ्दो छ।

अफलाइन यात्रु बोक्दा कम्पनीलाई बुझाउनु पर्ने २० प्रतिशत रकम बुझाउनु नपर्ने भएकाले पठाओ राइडरहरुले चोकमा बसेर यात्रु बोक्दै आएका छन्। ट्याक्सी व्यवसायीहरुले भने पठाओ लगायतका सेयर राइडरहरुले यसरी सडकमा बसेर यात्रु ओसारपोसार गर्दा आफूहरुको व्यवसाय नै धरापमा परेका भन्दै आन्दोलन गर्दै आएका छन्।  

यस विषयमा यातायात व्यवस्थापन विभागले कुनै चासो देखाएको छैन। पठाओ लगायतका सेयर राइडिङको व्यवस्थापन आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै विभाग पन्छिदै आएको छ। यातायात व्यवस्था विभागका अनुसार सेयर राइडिङ व्यवस्थापन सम्बन्धी कुनै निर्देशिका बनेको नै छैन।    

व्यवस्थापनको माग गर्दै पठाओ राइडरहरुपनि आन्दोलनमा

सोमबार ट्याक्सी व्यवसायीसँग काठमाडौंको गोगंबुमा विवाद भएपछि पठाओ राइडरहरु सोही स्थानबाट र्याली गर्दै पठाओको कार्यालय बानेश्वर पुगेर नारा र जुलुस लगाए। उनीहरुले ट्याक्सीलाई जस्तै स्टेशनको व्यवस्थापन गर्न माग गर्दै आएका छन्। कम्पनीले यात्रु पर्खने स्नेशटको व्यवस्था नगरिदिदाँ ट्राफिक प्रहरीले आफूहरुमाथि ज्यादती गरेको राइडरहरुको गुनासो छ। 

आगामी दिनमा राइडरहरु संगठित भएर अगाडी बढ्न आवश्यक रहेको राइडर भोला रेग्मीले बताए। पठाओ कम्पनीले पनि राइडरहरुको समस्याको समाधानका लागि छलफल चलिरहेको जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-23 18:55:00

प्रतिकृया दिनुहोस्