नेपालमा ‘विमान अपहरण’ पछि छुटेका उमर शहिद शेखलाई कडा सजाय हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको दबाब

नवीन रायमाझी

वासिङ्टन डीसी

आतंकवादी संगठन अल कायदाका आतंकवादी अहमद उमर सईद शेखलाई कडाभन्दा कडा कार्वाही गर्न अमेरिकी सरकारले कुनै कसर बाँकी नराख्ने अमेरिकी नवनियुक्त विदेशमन्त्री एन्टाेनी ब्लिन्कनले बताएका छन्। उनले आतंकवादी संगठन अल कायदाले सन् २००२ मा पाकिस्तानको कराची शहरमा हत्या गरेको ‘वाल स्ट्रिट जर्नल’ का ब्युरो चिफ पत्रकार डेनियल पर्लका परिवारलाई भेटेर  न्याय दिलाउने आश्वासन दिए।  

पाकिस्तानको जासुसी संस्था आइएसआइ र आतंकवादी संगठनबीच सम्बन्धको बारेमा समाचार संकलन गरिरहेका पत्रकार पर्ललाई अल कायदाका आतंकवादीहरुले अपहरण गरेर टाउको काटेर हत्या गरेका थिए।

हत्या आरोपी बेलायती नागरिक तथा अल कायदाका आतंवादी अहमद उमर सईद शेखलाई अमेरिकी दबाबका कारण पाकिस्तानले जेलमा राखे पनि अदालती प्रक्रिया अगाडी नबढाउँदा हालसम्म कुनै सजाय हुनसकेको छैन। यसैबीच विदेशमन्त्री ब्लिन्कनले उमर सईद शेखलाई कडा सजाय हुनुपर्ने बताएका छन्।

उमर सईद शेख पहिले भारतीय जेलमा थिए। तर सन् १९९९ मा नेपालबाट भएको इण्डियन एअरलाइन्स बिमान अपहरण काण्डपछि बिमानमा रहेका १ सय ५० यात्रुलाई छोड्ने सर्तमा भारत सरकारले रिहा गरेको थियो। यो काण्डमा शेखसहित जेश ‘ए‘ मोहम्मदका प्रमुख मसुद अजहर र  मुश्ताक अहमद जरगरलाई अफगानिस्तानको कन्दहारमा लगेर रिहा गरिएको थियो। 

त्यसको तीन बर्षपछि पत्रकार पर्लको हत्या भएको थियो। १० अक्टुबर १९६३ मा प्रिन्सटन, न्यु जर्सीमा जन्मेका पत्रकार पर्लको १ फेब्रुअरी २००२ मा हत्या गरिएको थियो। उनको लाश १६ मे २००२ मा मात्र भेटिएको थियो।

प्रकाशित मिति: : 2021-04-04 20:35:00

प्रतिकृया दिनुहोस्