शुक्रबार, ११ जुलाई २०२५

दिग्भ्रमित हुँदै गएको एनआरएनएको उद्धेश्य

बिएल संवाददाता

बिएल संवाददाता

अमेरिका
2021-05-26 21:58:00
News Image
• • •

कुनै संघ–सस्थामा सक्रिय भएर लाग्नु–नलाग्नु कुनै आश्चर्यको कुरा होइन। हाल गैरअवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनको चहलपहल चलेको छ।

यो संघप्रति विश्वास हुनेहरु प्रचारप्रसारमा दौडधुप गरिरहेका छन् तर पंक्तिकार जस्तो मन्दबुद्धि  चुनावी तयारीको समाचार सुनेर र पढेर नै जिल्लाराम भएको छ अर्थात् एनआरएनएको बिषयमा बुझ्न नसकेको कुरा सोचेर बसेको छ।

जहाँसम्म मेरो जानकारी छ– एनआरएनएको सुरुवात विदेशमा बसोबास गरिरहेका नेपालीहरुले नेपालभित्र लगानी गर्ने र देशलाई उन्नत बनाउने सोच अनुसार भएको थियो। आफूलाई धनाढ्य दाबी गर्ने केहि ब्यक्तिहरुले नेपालमा लगानी गरेका हुन् तर उत्पादनशील क्षेत्रमा भन्दा आफूलाई मात्र नाफा हुने क्षेत्र जस्तै बैंक, होटल आदिमा लगानी भित्रिएको छ।

जसको कुनै ठूलो फाइदा छैन। सानो टुक्रा जग्गामा झ्याल नभएको घर बनाएर भाडा खाने र क्यासिनोमा जुवा खेल्ने जुवाडेलाई ऋण दिने जस्ता कार्यलाई नै ब्यापार मान्ने नेपाली मानसिकताको अगाडी बैंक र होटल पनि ठूलै उद्योग होला तर यस्ता प्रतिष्ठानहरुले देशको अर्थतन्त्रलाइ खासै ठूलो टेवा दिदैन।

मैले बुझेसम्म दशैंको ठिकअघि आयोजना हुने एनआरएनएको सम्मेलनको खासै अर्थ छैन। बिभिन्न देशबाट प्रतिनिधि भएर नेपाल गएका प्राय: को योजना दशैंमा घर जानु हुन्छ। यस्ता सम्मेलन गरेर आजसम्म कति डलर, पाउण्ड, युरो र यान नेपाल भित्रियो त्यो सम्बन्धित निकायलाई थाहा होला तर एउटा सामान्य सर्वसाधारणको लागि यस्तो सम्मेलन ‘कागलाई बेल पाक्नु हर्ष न बिस्मात’ जस्तै हो।

सम्मेलनमा सहभागीहरुले परिचयपत्र घाँटीमा झुण्ड्याएर फोटो खिच्ने र त्यो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर आत्मरतिमा रमाउने क्रियाकलाप जति हाँसो लाग्दो छ, त्यो त्यतिकै उपलब्धिबिहिन पनि छ।

एनआरएनए अमेरिकाको चुनावका उम्मेदवारलाई हेर्दा उनीहरु आफूलाई के सोच्छन् जस्तो लाग्छ! अपार्टमेन्टमा चौकीदारी गर्ने,  होम डिपोमा घन्टे काम गर्ने, अपांग मान्छेको स्याहारसुसार गर्ने जस्ता काम गर्नेहरुले एनआरएनएको चुनाव जिते पनि उनीहरुसंग के नै अजेण्डा छ, त्यो कसैले बुझ्न सकेको छैन।

अर्को थरि नेपालमा रहँदा प्रहरी र सेनामा जागिर खाएका र सरकारले शान्ति मिसनमा खटाएको स्थानबाट भागेर अमेरिका छिरेर म आफ्नो देशमा बस्न नसक्ने भए भन्दै नक्कली कागजपत्र पेश गरेर बसेकाहरुले कुन नैतिकताले एक पटकको नेपाली सधैको नेपाली भन्दै छन्। त्यो पनि आठौ आश्चर्य लाग्छ।

अधिकांश नेपालीमूलका अमेरिकीसंग जीवनयापन गर्न यथेष्ट धन सम्पत्ति होला, त्यो पनि नेपाली मापदण्ड अनुसार। तर, देशमा लगानी गर्न सक्ने पैसा हुदैन। जोसंग लगानी गर्ने पैसा छ, त्यसले नेपालमा किन लगानी गर्ने? जबकी मन्त्री र उसका धुपौरेहरुलाई पैसा नदिए हड्ताल र बन्द भनेर भएको लगानी पनि चौपट हुन्छ।

पंक्तिकार एनआरएनएको बिरोधी होइन तर मलाई यसप्रति विश्वास छैन भनेर भन्न पाउने अधिकार छ। त्यसैले मैले लेख लेख्ने जमर्को गरेको हो। यो निर्वाचनमा मेरा धेरै अभिन्न मित्रहरु लाग्नु भएको छ। उहाँहरुलाई शुभकामना दिन चाहन्छु। मैले नबुझ्दैमा यो प्रकरणनै गलत छ भन्ने भ्रम मलाई छैन र त्यो सत्य पनि होइन।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?