किन फुट्यो नेकपा?

हिमाल खबर

काठमाडौँ

सन्त गाहा मगर   

मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण घोषणाका दिन, ३ जेठ २०७५ मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बालुवाटारमा वनस्पति जगत्‌मा जीवित जीवाश्म (लिभिङ फोसिल) भनेर चिनिने गिङ्को बिलोबाको विरुवा रोपेका थिए। दोस्रो विश्वयुद्धताका अमेरिकाले जापानको नागासाकीमा परमाणु बम खसालेपछि कुनै बिरुवा उम्रिन सकिरहेको थिएन। त्यस्तो बेला ६ महीनापछि एउटा विरुवा पलाउन थाल्यो र त्यो थियो–गिङ्को बिलोबा। जस्तोसुकै कठिन परिस्थितिमा पनि बौरिन सक्ने उक्त वनस्पतिको प्रकृति र ऐतिहासिकता बुझेरै ओली र दाहालले एकता घोषणाको दिन त्यो बिरुवा रोपेका थिए।

बिरुवा रोपेपछि ओलीले भने, “हिन्द महासागरमा गएरकोशीको पानी कुन, सेतीको पानी कुन हो छुट्याउन सकिँदैन। हामी एकीकृत मात्रै होइन अन्तरघुलित भएका छौं।”

दाहालले पनि झन्डै त्यही आशयको टिप्पणी गरे, “हाइड्रोजन र अक्सिजन मिलेपछिपानी बन्छ। तर, पानी बनिसकेपछि त्यसबाट अक्सिजन वा हाइड्रोजन छुट्याउन खोजेर पाइँदैन, त्यो केवल पानी हुन्छ। नेकपामा पनि अब न एमाले छ, न माओवादी। साँच्चै भन्दा नेकपा छुट्टै यौगिक बनिसक्यो।”

तर, एकाकार पानी बनेर महासागरमा मिसिएको दाबी गरिएको नेकपाभित्र एकताको दुई वर्ष पुग्दानपुग्दै कलह बढ्न थाल्यो। आपसमा सुन्नै नसकिने गालीगलौज चुलिन थाल्यो। दुई अध्यक्षले एकता घोषणाको दिन व्यक्त गरेको 'आत्मीयता’ एक-अर्कालाई ‘अपराधी’ को संज्ञा दिने तहमा झर्‍याे।

एकीकृत पार्टीमा देखिएको सत्ता–स्वार्थको ज्वारभाटाको असर नेकपाकै नेतृत्वमा रहेको सरकारमा नपर्ने कुरै थिएन। ३ फागुन २०७४ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को समर्थनमा प्रधानमन्त्री नियुक्त हुँदा केपी शर्मा ओलीलाई एमालेका १२१ र माओवादीका ५३ गरी १७४ सांसदको समर्थन थियो।
 

प्रकाशित मिति: : 2021-05-28 21:31:00

प्रतिकृया दिनुहोस्