संसदीय मर्यादाविपरीत नेपाल समूहका १० कर्म, जुन एमालेमै रहन बाधक

तीन वर्षअघि ०७५ साल जेठ ३ गते माओवादीकेन्द्रसँग पार्टी एकता गर्नुभन्दा अघिसम्म नेकपा (एमाले)को चिनारी थियो– सबैभन्दा संगठित र व्यवस्थित पार्टी। यो पार्टी यति अनुशासित र संगठित मानिन्थ्यो, जुन नेपालका अरु राजनीतिक दलले ईर्ष्या गर्थे।

त्यसको तीन वर्षपछिको जेठमा आइपुग्दा त्यही एमाले देशको सबैभन्दा अनुशासनहीन, असंगठित र अव्यवस्थित अराजक भीडमा रुपान्तरण हुन पुगेको छ। आज एमालेको नियति बनेको छ– ‘फ्लोर क्रस’, ह्विप उल्लङ्घन, पार्टी अध्यक्षविरुद्ध प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने काजगमा हस्ताक्षर, माओवादीकेन्द्रका नेतालाई विश्वासको मत, ‘रुख’ चिन्हमा मतदान आदि इत्यादि। पाइला–पाइलामा एमाले असफल देखिन थालेको छ।

विधि, पद्धति र ‘चोखो कम्युनिष्ट पार्टी’ निर्माणका नाममा यी सबै कर्म भइरहेका छन्। एमालेकै वरिष्ठ नेताहरु पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालको नेतृत्वमा अहिले एमालेलाई पराजय हात लगाउने कामहरु भइरहेका छन्। यो असफलतालाई ‘समानान्तर समूह’ ले सफलता मानिरहेको छ, जुन विनाशको बाटो हो।

एमालेको फूटमा मात्र आफ्नो भविष्य देख्ने माओवादीकेन्द्रको ‘मिशन’ लाई पूरा गर्न एमालेको खनाल–नेपाल समूह क्रियाशील छ। जसलाई सिद्धान्तको जलप लगाउन दोस्रोपुस्ताका नेताहरु सक्रिय छन्। एमाले भने स्वस्थानी कथामा सतीदेवीका अंग पतन ठाउँ–ठाउँमा भएजस्तै कहिले हेटौंडा वा काठमाडौंमा, अनि कहिले दाङमा त कहिले बुटवल, सुर्खेत, पोखरा वा धनगढीमा पतन भइरहेका छन्। त्यसको खुशीयालीमा खनाल–नेपाल समूहले सिन्दुरजात्रा गरिरहेको दृश्य ठाउँ–ठाउँमा देखिन्छ। यो संसदीय मर्यादा, कम्युनिष्ट पार्टीले भन्ने गरेको ‘जनवादी केन्द्रीयता’, लेनिनवादी संगठनात्मक सिद्धान्त वा राजनीतिक संस्कार कुनै हिसाबले पनि मिल्दो र क्षम्य विषय अवश्य होइन।

एमालेको फूट चाहने देशभित्र र बाहिरका सबै शक्ति खनाल–नेपाल समूहका संसदीय मर्यादाविपरीतका कार्यलाई ‘सत्कर्म’ भनेर प्रचार गर्न तम्तयार छन्। विभाजनलाई मलजल गरिरहेका छन्। एमालेको विभाजनमा मात्र आफ्नो भविष्य देख्ने सबै शक्ति खनाल–नेपाल समूहलाई उकासिरहेका छन्, जसरी ०५४ सालमा वामदेव गौतमलाई ‘राष्ट्रवादी नेता’ को पगरी गुथाइएको  थियो। एमाले फुटाउने ‘परियोजना’ सफल बनाइएको थियो।

वामदेव गौतम नेतृत्वमा भएको विभाजनले एमालेलाई २० वर्ष पछाडि धकेलेको सबैसामु छर्लङ्ग छ। अहिलेको परिदृश्य ठ्याक्कै त्यस्तै छ। त्यस बेला वामदेव गौतमले बोकेकै भारी अहिले माधव नेपालको काँधमा आएको छ। त्यो जिम्मालाई नेपालले वामदेवले भन्दा पनि विकृत ढंगले पूरा गरिरहेका छन्।

सर्वोच्च अदालतको फागुन २३ को आदेशबाट एमाले र माओवादी केन्द्र अलग–अलग पार्टीमा विभाजित भइसकेपछि नेपाल समूह निरन्तर रुपमा माओवादीलाई लाभ र एमालेलाई हानी हुने कार्यमा क्रियाशील छन्।  काठमाडौंमा २०७७ चैत ४–५ गते राष्ट्रिय भेला आयोजना गरेर माधव नेपाल पक्षले एमालेविरुद्ध सङ्गठित रुपमा अभियान थालेका थिए । त्यो अभियान अहिले सुदूर पश्चिम प्रदेशमा माओवादी सरकारलाई विश्वासको मत दिनसम्म निरन्तर अघि बढेको छ । एमालेलाई पराजित र माओवादीलाई लाभ पुग्ने काम मात्र भएको छ ।

माओवादीकेन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा भनिसकेका छन्– माधव नेपाल पक्ष सके एमाले कब्जा गरेर माओवादीसँग पुनः एकीकरण गर्ने, त्यसो गर्न नसके एमालेलाई फुटाएर माओवादीमा मिलाउने दिशामा क्रियाशील छन्।

चण्डको आशा त कति पूरा होला तर एमाले–माओवादी अलग भएपछिका यी १० घटनाले भावी दिनमा माधव नेपाल, भीम रावललाई पुनः एमालेकै राजनीतिमा फर्कन बाधा गर्ने छ :

घटना १ : जेठ २४ गते मंगलबार। एमालेभित्र सहमति खोज्ने कार्यदलको बैठक बस्ने समय तय हुँदै थियो, त्यति बेला सुदूर पश्चिम प्रदेशमा माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु माओवादी केन्द्र नेता मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिँदै थिए। १३ सीट भएको माओवादीलाई एमालेका १७ जनाले भोट दिए।

मुख्यमन्त्री भट्टलाई भोट दिने निर्णय गरेको कांग्रेस तटस्थ बस्यो तर समर्थन फिर्ता लिएको एमाले संसदीय दल विभाजित गरेर समर्थन गर्न तत्पर भयो। ५२ सदस्यीय उक्त प्रदेशसभामा एमाले एक्लैका २५ सदस्य छन् तर मुख्यमन्त्रीमा माओवादीलाई समर्थन गर्ने समूह नै १७ जनाको बनेको छ।

एमालेले पार्टी–केन्द्रको निर्णयबमोजिम दुई सीट भएको जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर सरकार बनाउन समर्थन फिर्ता गरेको थियो। एमालेलाई जसपाको समर्थन प्राप्त हुँदा सरकार बन्थ्यो तर नेपाल समूहको माओवादी मोहले त्यो संभावना अब अन्त्य भएको छ। उनी नै यो कार्यकालभरि मुख्य मन्त्री हुने अवस्था नेपाल समूहले सिर्जना गरिदिएको छ।

घटना २ : एमाले अध्यक्ष केपी शर्मा ओलीले ०७८ जेठ २३ गते राति पार्टी एकताका लागि छ–बुँदे प्रतिबद्धतासहितको आह्वान गरे। ०७५ जेठ ३ अघिको अवस्थामा पार्टीलाई फर्काउने भनी नेपाल समूहको मागबमोजिम ओलीले ‘झुकेर विनम्रता’ देखाएकै हुन्। ओलीको वक्तव्यमा विगतका व्यवहारप्रति पूर्वाग्रह नराख्नेदेखि खनाल–नेपाल पक्षका निष्कासितहरुमाथिको कारवाही फुकुवा गर्नेसम्म थियो।

खनाल–नेपाल समूहका चार नेताहरू– सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईसँग दुई रात दरबारमार्गस्थित पाँचतारे होटल ‘याक एण्ड यती’ मा ओलीनिकट नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले छलफल गरेपछि निकालेको सहमति थियो। जुन आह्वान प्रधानमन्त्री ओलीको स्वभावअनुकूल थिएन। उनको इच्छाले जारी भएको मान्न सो समूह नै तयार छैन। यो केवल पार्टी एकता जोगिन्छ भने गर्नुपर्छ भन्ने सुझावको परिणाम थियो।

नेपालले त्यस आह्वानलाई स्वीकार गरेनन्। उल्टै त्यसको जवाफमा साढे ४ पृष्ठलामो ‘खण्डन–वक्तव्य जारी गरे। ओलीले राखेका कुनै पनि प्रस्तावलाई सकारात्मक रुपमा ग्रहण गरेनन्। त्यसलाई प्रस्थान–बिन्दु मानेर एमालेभित्र सहमति खोज्न सकिने भन्ने योगेश भट्टराई लगायत उनी पक्षधर नेताले गरेको स्वागतलाई पनि उनले अस्वीकार गरे।

घटना ३ : माधव नेपालको एमालेमै रहने इच्छा हो भने ओलीको आह्वानको भोलिपल्ट उनको पहिलो भेट ओलीसँगै हुनुपथ्र्यो, प्रचण्डसँग होइन। नेपालले जेठ २४ गते प्रधानमन्त्री ओलीसँग भेट त के, टेलिफोनमा पनि संवाद गरेनन्। बरु पूर्व प्रधानमन्त्री नेपालको पहिलो भेटघाट प्रचण्डसँग भयो। त्यसपछि उनी कांग्रेस सभापति शेरबहादुर देउवा निवास, बुढानीलकण्ठ पुगे। उनले दुवै विपक्षी पार्टीका अध्यक्षलाई आश्वस्त पार्ने प्रयास गरे, ‘ओलीको आह्वानलाई नपत्याउनुस्, त्यो केपी ओलीको एकतर्फी वक्तव्य हो, हामी उनीसँग सहमति गर्दैनौँ।’

देउवा निवासमा नेपालले सुदूर पश्चिम प्रदेशको माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने प्रतिबद्धता पनि जनाए। भयो। अनि नेपालको जवाफी वक्तव्य आयो– आफ्नो समूहका स्थायी कमिटी सदस्यको बैठकबाट पारित भनेर। देउवा र प्रचण्डसँग बैठकको परिणाम धनगढीको प्रदेशसभा बैठकमा देखिइसकेको छ।

घटना ४ : राष्ट्रियसभा सदस्यको वागमती प्रदेशमा भएको उपनिर्वाचनमा एमाले उम्मेद्वार रामबहादुर थापा ‘बादल’ को पराजय। एमाले एक्लैको प्रष्ट बहुमत हुँदाहुँदै  जेठ ६ गते हेटौँडामा भएको निर्वाचनमा ‘सूर्य’ चिन्ह लिएर लडेका गृहमन्त्री बादल पराजित भएका थिए। कांग्रेसको प्रस्ताव र माओवादीकेन्द्रको समर्थनमा चुनाव लडेका माधव नेपाल समूहका ‘कलम’ चिन्हका उम्मेद्वार खिमलाल देवकोटा विजयी भए।

घटना ५ : राष्ट्रियसभा सदस्यको लुम्बिनी प्रदेशमा उपनिर्वाचनमा एमाले उम्मेद्वार चन्द्रबहादुर खड्काको पराजय। एमाले एक्लैको प्रष्ट बहुमत हुँदाहुँदै जेठ १७ गते दाङमा भएको निर्वाचनमा ‘सूर्य’ चिन्ह लिएर लडेका थापा पराजित भए। एक सीटका लागि भएको उक्त निर्वाचनमा कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भए। उक्त चुनावमा नेपाल पक्षका जनप्रतिनिधिले ‘रुख’ चिन्हमा मतदान गरेका थिए।

पाण्डे तिनै नेता हुन्, जो लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेबाट निर्वाचित सदस्य थिए। मुख्यमन्त्री शङ्कर पोखरेलको सरकार ढाल्न प्रदेशसभा सदस्यबाट राजीनामा गरी कांग्रेस प्रवेश गरेका थिए।

घटना ६ : एमालेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य दृगराज पाण्डेलाई राजीनामा गराएर कांग्रेस प्रवेश गराउन नेपाल समूहको भूमिका थियो। नेपाल समूहकै योजना मुताविक पाण्डेलाई कांग्रेसले राष्ट्रियसभा सदस्यको उपचुनाव उठायो र नेपाल समूहले मत दिएर उनलाई जितायो। त्यसबाहेक दाङबाट निर्वाचित एमालेका प्रदेशसभा सदस्य अमर डाँगीलाई प्रदेशसभाबाट राजीनामा गराउने र अर्की सदस्य विमला ओलीलाई माओवादी केन्द्रमा प्रवेश गराउनमा पनि सो समूहको भूमिका छ, जसले मुख्यमन्त्री रहेका एमाले नेता शङ्कर पोखरेलको सरकार ढाल्ने प्रयासलाई सहयोग पुर्‍यायो।

घटना ७ : कर्णाली प्रदेशको ‘फ्लोर क्रस’। कर्णाली प्रदेशसभामा बैशाख ३ गते माओवादीकेन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन एमालेका चार जना प्रदेशसभा सदस्यले एमालेको ‘ह्वीप’ उल्लङ्घन गरे। माधव नेपाल पक्षका प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिए। ४० सदस्यीय प्रदेशसभामा एमाले एक्लैको २० सीट थियो। एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री हुने सुनिश्चित हुँदाहुँदै नेपाल पक्षले ह्वीप उल्लङ्घन गराएर माओवादीका मुख्यमन्त्री शाहीलाई निरन्तरता दिए। एमालेले ज्वालासहित चार जनालाई प्रदेशसभाबाट हटाइदिएको छ।

घटना ८ : एमाले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बैशाख २७ गते विश्वासको मत मागेका थिए, जसमा एमालेको खनाल–नेपाल समूहका २८ जना सांसद्हरु अनुपस्थित भएका थिए, जबकि सो पार्टीका प्रमुख सचेतकले सबै सांसद्लाई अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मत हाल्न ‘ह्वीप’ जारी गरेका थिए।

विघटित प्रतिनिधिसभामा एमालेका १२१ जना सदस्य थिए। प्रधानमन्त्रीले ९३ मत मात्र पाए। एमाले एकढिक्का भएको भए राजपाको महन्थ ठाकुर पक्षको २० जनाले समर्थन गर्दा प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुन्थ्यो। फेरि संसद् विघटनको अवस्था आउँदैनथ्यो।

घटना ९ : संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्रीको दाबी गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा एमालेका माधव नेपाल समूहका २६ सांसद्ले हस्ताक्षर गरे। नेपाल स्वयम् देउवाको साथ लागेर राष्ट्रपति कार्यालय पनि गए।

संसदीय प्रणालीमा संसद्भित्र मतविभाजनका बेलामा प्रत्येक सांसद्को मत गणना हुन्छ। त्यसबाहेकका बेलामा संसदीय दलको नेताले आफ्नो संसदीय दलको सङ्ख्याका आधारमा दाबी प्रस्तुत गर्ने परम्परा हुन्छ।

घटना १० : देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न पनि माधव नेपाल पक्षका २३ जना प्रतिनिधिसभा सदस्यले हस्ताक्षर गरे। नेपालसहितका विघटित प्रतिनिधिसभा सदस्यहरु रिट–निवेदन लिएर सर्वोच्च अदालत पनि गए। नेपाल–खनाल समूहका सांसद्हरु प्रतिपक्षी दलका नेता देउवालाई प्रधान बनाउने प्रयास संसदीय मर्यादाविपरीत कार्य हो।

एमालेको खनाल–नेपाल समूहका नेताहरु नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, बेदुराम भुसाल लगायतका नेताहरुको गतिविधि नयाँ पार्टी गठन गर्नेमै छ। उनीहरु उक्त १० घटनाले पनि त्यही देखाउँछ तर ‘समानान्तर समूह’ का नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराई लगायत उनीहरुनिकट सांसद् र एमाले केन्द्रीय सदस्यको धारणा भने फरक छ। यो समूह चाहिँ ‘समानान्तर गतिविधि’ र संसदीय मर्यादाविपरीतका गतिविधिका बाबजुद एमालेभित्रै ‘स्पेस’ खोज्ने प्रयासमा छ। शायद् प्रधानमन्त्री ओलीको आह्वान यही समूहको प्रयास हो।

खनाल–नेपाल समूहको मुख्य माग छ– एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने । अध्यक्ष ओलीले त्यसमा फर्कन तयार रहेकाे भनिसकेका छन् । नेपाल समूहले चाहिँ त्यस आह्वानलाई स्वीकारेका छैनन् । ओलीले प्रतिबद्धता जनाए पनि र नेपालले जति सुकै जेठ २ भने पनि अब एमाले तीन वर्षअघिजस्तो संगठित हुन समय लाग्ने छ ।

विधि–प्रक्रियाको कुरा गर्दै एमालेको हितविपरीत व्यवहार गरिरहेको नेपाल पक्षको व्यवहार तीन वर्षअघिको एमालेजस्तो हुनु पहिलो आवश्यकता हो । नेपाल, रावललगायत सो पक्षका नेताहरुले अहिले अभ्यास गरिरहेको जस्तो पार्टीहितविपरीत क्रियाकलापले कुनै पनि पार्टी वा संगठन चल्नसक्ने छैन। भोली नेपालकै नेतृत्वमा सो समूहको मात्र पार्टी बन्याे भने पनि यस्तो व्यवहारमा सुधार नगर्ने हो भने पार्टीका रुपमा अघि बढ्न सक्ने छैन।



घनश्याम-योगेशले प्रधानमन्त्रीसँग गरेको सहमति भीम रावलले उल्टाए, नेपाल र रावल आजै निष्कासित हुनसक्ने

प्रतिनिधिसभा विघटनपछि चलेको भूतपूर्वहरुको लहर

माओवादीसँग तीन वर्ष ‘सहवास’पछिको एमाले पुरानै अवस्थामा फर्किन कति संभव ?

ओलीको आह्वानप्रति नेपाल समूहभित्र दुई दृष्टिकोणः सुरेन्द्र–योगेश सकारात्मक,नेपालले गरे स्वकीय सचिवमार्फत विरोध

प्रकाशित मिति: : 2021-06-09 18:00:00

प्रतिकृया दिनुहोस्