वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने 

वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अरवीन्द लाल कर्णलाई आइतबार विद्यार्थीहरुले एक घण्टा उनको कार्यकक्षामा थुनेका छन्। 

कोरोना संक्रमणकालमा आवश्यक तयारी विना नगरक्षेत्रको विद्यालय संचालन गराउन खोजेको भन्दै विद्यार्थीहरुले शिक्षा महाशाखा प्रमुख कर्णलाई विहान ११ः३० देखि १२ः३० सम्म १ घण्टा कार्यकक्षमै थुनेका हुन्।

केहीदिन अघि संयुक्त विद्यार्थी संघर्ष समितिले भौतिक रुपमा विद्यालय संचालन गर्ने मोडल र मापदण्डका बारेमा प्रष्ट पार्नु पर्ने, विद्यार्थीका विषयमा कुनै पनि निर्णय गर्दा आफुहरुलाई पनि संलग्न गराइनु पर्ने लगायतका माग राख्दै शिक्षा महाशाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए।

संयुक्त विद्यार्थी संघर्ष समितिका संयोजक विकास तिवारीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले कर्णलाई कार्यकक्षमा थुनेका हुन्। 

ध्यानाकर्षणका वाबजुद पनि महाशाखा प्रमुख कर्णले विद्यार्थीको हितविपरित काम गर्न लागेपछि बाध्य भएर उनलाई कार्यकक्षमै थुन्नु परेको संघर्ष समितिका प्रवक्ता हेमन्त तामाङले बताएका छन्। 

विद्यार्थीहरुले महाशाखा प्रमुखको कार्यकक्षमा ताला लगाउँदै “शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीको स्वास्थ्य माथ खेलवाड गर्न पाइँदैन, नालायक शिक्षा महाशाखा प्रमुख मुर्दावाद ” लगायतका नारा लगाएका थिए। 

तालाबन्दी पश्चात विद्यार्थी नेता कविराज पटेल एजाज बाबु, धर्मराज यादव लगायतकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै अघि बढ्न स्थानीय सरकारलाई आग्रह समेत गरेका छन।

प्रकाशित मिति: : 2021-06-20 16:04:00

प्रतिकृया दिनुहोस्