मनाङ बाढीपहिरोः बाटो नखुले खाद्यान्न नपाएर भोकभोकै मर्नुपर्ने हुन सक्छ

मनसुन सुरु हुन नपाउँदै देशका अधिकांश ठाउँमा बाढीपहिरोले वितण्डा मच्चायो। करोडौँको नोक्सानी भयो। निर्माणको अन्तिम चरणमा पुगेका संरचनामा क्षति पु-यायो।

तराई पस्ने बाढी यसपालि हिमालमै पस्यो। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ, मुस्ताङ जिल्ला प्रशासन कार्यालयमा बाढी पस्यो। धेरै मनाङमा क्षति पुग्यो।

चामे, नासोंलगायतका गाउँपालिकाबाट एक हजार बढी विस्थापित भए। बाढीले बाहिरी जिल्लासँगको सम्पर्क छुटेको छ। हेलिकप्टरबाट राहत सामग्री लैजानुपर्ने अवस्था छ। सक्दो चाँडो सडक सञ्चालनमा नआए मनाङमा खाद्य संकट आउने देखिएको छ।

बाढीको अवस्था सामान्य देखिए पनि सडक सञ्जाल अवरुद्ध हुँदा भोकभोकै बस्नुपर्ने अवस्था आउन सक्ने चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले बताउँछन्। पैसै तिरेर पनि खाद्यान्न नपाउने अवस्था आउन सक्ने उनले बताए।

अहिले आर्थिक रुपमा सबल स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित ठाउँतिर हिँडे पनि सीमान्त समुदाय मारमा छ। पालिकाले अहिलेसम्म राहत बाँडे पनि बाटो नखुले त्यति पनि गर्न सक्ने अवस्था छैन। ‘अहिलेसम्म त खल्तीमा भएको पैसाले खाइरहेका छन्। राहत पनि आएको छ। अब त पसलहरु पनि रित्तो हुन लागि सक्यो,’ उनले भने।

बाहिरी जिल्लाबाट रोजगारीका लागि आएका ६० बढी कामदार अहिले चामेमा छन्। पश्चिम नेपालको रुकुम, रोल्पादेखि आएका कामदार अहिले निर्माण कार्य ठप्प हुँदा समस्यामा परेको अध्यक्ष घलेले बताए।

‘हेलिकप्टर आउँदा पठाइ दिउँ भनेको पनि पैसा छैन भन्छन्। काम पनि ठप्प छ। बाहिरी जिल्लाबाट कामका लागि आएकाहरुलाई गाह्रो छ,’ उनले भने। स्थानीयका लागि भने राहत सामग्री आइरहेको छ।

बाढीले बिजुली बत्तीमा पनि क्षति पु-यायो। चामे गाउँपालिकामा रहेको पावर हाउसको क्यानल पाइप पनि बाढीले बगायो। तिमाङ १ मा रहेको पावर हाउस पनि बगाउँदा अँध्यारोमा बस्नु परेको उनले बताए। ‘चामेको सदरमुकाम वडा ठप्प अन्धकारमा छ। विभिन्न कार्यालयमा भएका सोलार त बलेका छन्,’ उनले भने।

मर्स्याङ्दीमा आएको बाढीले पक्की पुलमै क्षति पु-याउँदा खाद्य सामग्री मनाङ भित्रिन सक्ने अवस्था छैन। सडकको समस्या चाँडो नसुल्झाए खाद्य संकट आउने उनले बताए।

‘भोलि पैसै तिरेर किन्छु भन्दा पनि नपाउने अवस्था आउने सम्भावना छ। बाटो सबै क्षतविक्षत छ। कतै पहरा फोर्नुपर्ने छ, व्यक्तिको घर बचेको पनि भत्काएर बाटो बनाउनुपर्ने छ,’ उनले भने, ‘दिने हो कि होइन। त्यसकारण बाटोका लागि चाँडो चाँडो ध्यान दिनुपर्ने छ।’

आफूहरु समस्यामा पर्दा प्रदेश सरकार आन्तरिक कलह फसेको उनले बताए। प्रदेश र केन्द्र सरकारलाई चाँडो समस्या समाधानको लागि पहल गर्ने उनको आग्रह छ। चामेमा बाढीले ८ घर पूर्ण क्षति पु-याएको छ।

नदी किनारमा रहेका ३५ बढी घर जोखिममा छन्। मनसुन भर्खरै सुरु भएको छ। जोगिएको बस्तीमा पनि डरले स्थानीय बस्न सकेका छैनन्। बस्ती छोडेर सुरक्षित स्थान खोज्दै डाँडा उक्लेको उनले बताए। ‘मान्छे सबै त्रासमा छन्। भोलि के हुने हो ? भर्खर मनसुन सुरु भएको छ। जोगिएको बस्ती पनि फेरि बगाउने हो कि भन्ने पिर छ, मान्छे सामान सबै बोकेर पालमा डाँडामा गएर बसेका छन्,’ उनले भने।

बाढीले सबैभन्दा बढी चामे र नासों गाउँपालिकामा क्षति पु-याएको छ। नासों गाउँपालिकाका सूचना अधिकारी गोविन्दबहादुर रानाभाटले पालिकाको प्रशासनिक भनव बाढीले बगाएको बताए। दुई बित्तिय संस्थाको भवन पनि बाढीले बगायो। बिजुली बत्ती, पानी, सडक, टेलिफोन बिच्छेद छ।

‘एउटा वडाबाट अर्को वडामा जान सक्ने अवस्था पनि छैन। अहिलेसम्मको तथ्यांकमा करिब १ सय बढी घर विस्थापित भएका छन्,’ उनले भने। नासोंका आर्थिक रुपमा सबल केही स्थानीय हेलिकप्टर चार्टर गरेर सहर झरे पनि बाँकी सुरक्षित स्थानमा सरेर बसेको उनले बताए। नासोंमा अहिले बाहिरी जिल्लाबाट आएका ६० कामदार छन्।

जिल्ला प्रशासन कार्यालय मनाङ प्रमुख विष्णु लामिछानेले बाढीपहिरोले क्षति पु-याएका ठाउँमा खाद्यान्न पु-याउने काम भइरहेको बताए। मस्र्याङ्दीमा पानीले पुल छोएको छ। पुलमा बाढीले क्षति पु-याएको भिडियो सामाजिक सञ्जालमा पनि आई रहेको छ। आकाशबाट पानी पर्न रोकिए पनि मर्स्याङ्दीमा पानीको सतह नरोकिएको उनले बताए।

चामे गाउँपालिकाको वडा नम्बर ४ र ५ जोड्ने पुल पानीले जोखिममा छ। ‘बेलिब्रिज जस्तो ट्रस्टको ठूलो पूल छ। त्यो लाइफ लाइन नै हो माथिल्लो मनाङसँग जोड्ने। त्यो पुललाई अहिले पनि पानीले छोइरहेको छ,’ उनले भने, ‘त्यहाँ ठुल ठूला मुडाहरु आएरु अड्की रहेको छ। त्यसलाई सफा गर्न सेना प्रहरी सबै लागि रहेका छौं। अझैं पनि सबै सफा भई सकेको छैन। पुल अझैं जोखिममा छ।’ यही बाटो भएर अपर मनाङ, थोरङलासपा, तिलिचो जाने गरिन्छ। 

प्रकाशित मिति: : 2021-06-22 20:32:00

प्रतिकृया दिनुहोस्