समुन्द्रबाहिरको रोचक कथा 'लुका'

Breaknlinks
Breaknlinks

ओस्कार पुरस्कार बिजेता सिनेमा ‘सोल’ पछि पिक्सार एनिमेशन स्टूडियोले नयाँ सिनेमा ‘लुका’  डिज्नी प्लस हटस्टारमा हालै रिलिज गरेको छ।

किशोर दर्शकका लागि निर्माण गरिएको यो कम्प्युटर एनिमेटेड सिनेमा सबै वर्गका दर्शकले उत्तिकै रमाइलोसँग हेर्न सक्छन्।

अझ् अंग्रेजी भाषामा दखल छ भने सिनेमाका मानवीय भावनालाई बुझ्न सहज हुनेछ। यसलाई फिल्ममा रमाइलोढंगले परिभाषित गरिएको छ। यस्तो भावना मित्र मित्रबीचको र नातेदारबीच हुन् सक्छ।

सिनेमाको कथा रोचक छ। कथाअनुसार जमिनमा बस्नेले समुन्द्रभित्र बस्ने र समुन्द्रभित्र बस्नेले जमिनमा बस्नेलाई विश्वास गर्दैनन्। उनीहरुको दृष्टिमा एकले अर्कालाई हानिपुर्याउन उद्धत छन्।

अर्काको राम्रो पक्ष चिन्न नसकेर नराम्रो मात्र सोच्नु हाम्रो मूर्ख्याइँ हो। अनावश्यक त्रास लिएर बाच्नुभन्दा वास्तविक कुरा के हो भनेर पत्ता लगाउन लुका एकदिन समुन्द्रबाट निस्केर जमिनमा आउँछ। समुन्द्रबाहिर के कस्ता समस्या छन्? यसको खोजी गर्ने क्रममा लुकाले रमाइलो अनुभव गर्छ, जुन सिनेमाको प्रमुख कथा हो।

एनिमेसन सिनेमाका पारखीलाई यो सिनेमा हेर्दा ‘फाइण्डिङ निम्मो’ को सम्झना आउन सक्छ। वास्तवमा सिनेमाको कथा अभिभावकको कुरा नमानेर मनपरी गर्ने नयाँ पिढीप्रति लक्षित छ।

यसको साथै सिनेमामा दुई मित्रको बीचको सम्बन्धलाई पनि कथामा समेटिएको छ। सिनेमामा मित्रताको भावलाई रोचक तरिकाले चित्रित गरिएको छ।

इटालियन सिनेमाका प्रख्यात निर्देशक एनरिको केसारोसाले नयाँ भन्दा पनि पुरानै प्रबिधिबाट सिनेमाको निर्माण गरेका छन्। जसमा थोरैभन्दा थोरै क्यामरा प्रयोग गरिएको छ। निर्देशक केसारोसाले सिनेमालाई हास्य रसमा निर्माण गरेका छन्, जसले दर्शकलाई पूर्ण मनोरन्जन दिन्छ।

सिनेमामा जेकब ट्रेम्बले, ज्याक डिलन ग्रेजर, एमा बर्मन, मार्को बेरिसेली, सेवेरियो रायमोन्डो, माया रुडोल्फ र जिम गेफिगनले विभिन्न पात्रको आवाज दिएका छन्, जो वास्तविक लाग्छ। 

डेन रोमरको संगीत, डेभिड जुन ब्लिञ्ची र किम ह्वाइटको सिनेमाटोग्राफी र क्याथरिन एप्पल र जेसक हुडेकको सम्पादन उच्च स्तरीय छ। सबै कुराको विचार गर्दा यो सिनेमा अत्यन्तै मनोरन्जक छ। आफ्ना केटाकेटीसँगै अविभावकले पनि यो फिल्म हेर्दा समय गएको पत्तो हुँदैन।

प्रकाशित मिति: : 2021-06-25 09:17:00

प्रतिकृया दिनुहोस्