साइकल दौड प्रतियोगीता सुरू भएसँगै लिगलिकोटमा पर्यटकको चहलपहल

ऐतिहासिक गन्तव्य लिगलिगकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। 

प्रजातन्त्र दिवसकाे अवसरमा गत फागुन ७ गते ‘लिगलिगे साइकल दौड’ आयोजना भएसँगै लिगलिगेमा पर्यटकको आगमान बढेको हो। विशेषगरी राजधानी काठमाडौं तथा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउन थालेका छन्। 

साहसिक खेल साइकल दौड आयोजनापछि लिगलिगकोटको प्रचारप्रसार तथा प्रवर्धन भई पर्यटन आगमन बढेको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष सञ्जीव रानाले बताएका छन्।  

‘गत फागुनमा सम्पन्न साइकल दौडपछि अहिले यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएको छ, यसले यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुगेको छ।’ अध्यक्ष रानाले  भने। 

त्यसैगरी लिगलिग साईकल दौडपछि ‘हामस्टेहरु’मा आन्तरिक पर्यटकको भिड लागेकाे ‘होमस्टे’का अध्यक्ष चन्द्रावति राना मगरले बताएकी छन्।

‘यसले गर्दा हाम्रो दैनिक जीवनमा पनि आयआर्जन  बढ्नुका साथै हामी महिलाहरुलाई घरमै बसेर आफ्नाे बारीमा उब्जेको खाद्यान्न लगायत तरकारी, कुखुराको खपत बढेकाे छ।’ अध्यक्ष राना मगरले भनिन्,‘यसको श्रेय लिगलिगे साईकल दौड प्रतियोगितालाई जान्छ।’

मौरी विज्ञ तिर्थबहादुर श्रेष्ठले मौरी पालनको लागि कृषि तालिम भ्रमणकाे लागि उक्त स्थानमा जाँदा गाउँका महिला दिदि–बहिनीहरुले सुरुवात गरेको ‘होमस्टे’मा अर्गाानिक खानपिनमा रमाइलाे अनुभुति भएकाे बताएका छन्।

त्यस्तै, पछिल्लो समय लिगलिगकोटमा देशका विभिन्न स्थानहरुबाट भ्रमण टोली आउन थालेका छन्। 

केही समयअघि ललितपुरको निम्स कलेजका ‘सोसल वर्क’का विद्यार्थी भ्रमणको लागि आएको लिगलिगकोट पर्यटनका अभियन्ता प्रमिला गुरुङ रानाले बिएल नेपाली सेवालाई जानकारी गराएकी छन्।

त्यससँगै भ्रमणको लागि नियमित रुपमा विभिन्न गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरु पनि लिगलिगमा आउने गरेका छन्। 

यसअघि वर्षेनी लिगलिगे दाैड आयोजना हुँदै आएकोमा गतवर्ष भने कोरोना महामारीको कारण रोकिएको थियो। यसरी पछिल्लो समय ऐतिहासिक लिगलिगकोट ‘एडभेन्चर डेष्टिनेशन’का रुपमा समेत नयाँ चिनारी बनेको छ।

लिगलिगकोटको इतिहास 

वि.स. १६०४ मा लिगलिगकोटमा दौडेर राज बन्ने प्रचलन सुरु भएको थियो। राजा द्रव्य शाहले दौडमा विजय प्राप्त गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भयो। त्यसको प्रतिकात्मक भल्को दिने उद्देश्यका साथ वि.स.२०६७ देखि प्रत्येक वर्ष लिगलिग दौड प्रतियोगिता हुँदै आएको छ।

सोही परम्परा पछ्याउँदै दौडमा सहभागी खेलाडिले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिगकोट सम्म पुगेर टुंगिन्छ। लमजुङ र गोरखाको सिमाना चेपेघाटबाट सुरु हुने दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरागाउँ, मैबल, दर्खेपानी, राईगाउँ, बिजुलेडाँडा हुँदै लिगलिगकोट दरबारमा पुगेर टुंगिन्छ। दौडमा प्रथम हुनेलाई एक दिनको लिगलिगे राजा घोषणा गर्दै श्रीपेचको लगाएर साठी हजार एक सय रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिदै आएको छ। 

गत वर्षदेखी सुरु गरिएको साइकल डौडलाई निरन्तरता दिँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको आयोजकले बताउँदै आएको छ।    

लिगलिग सामुदायिक ‘होमस्टे’ 

लिगलिगकोटको काखमा अवस्थित खोल्ली गाउँमा वि.स.२०७७ मंसिर १३ बाट होमस्टे सुरु गरिएको हाे। 

पाहुनालाई शाकाहारी भोजनमा दाल, भात, ढिँडो, गुन्द्रुकको अचार, सिस्नोको साग लगायत स्थानीय उत्पादनका तरकारीको साथै मांसाहारीका लागि लोकल कुखुरा, खसी र बंगुरको मासु खुवाउने व्यवस्था रहेको ‘होमस्टे’का संरक्षक वेदबहादुर रानाले बताएका छन।

पालुंटार–२ सिमपानीका डा.बालकृष्ण शर्मा (हाल अमेरिका निवासी)को पहलमा छुट्टै घर ‘होमस्टे’ निर्माणका लागि सहयोग गरेका छन्। उनकै पहलमा २१ लाख आर्थिक सहयोग प्राप्त गरी ७ खोपी निर्माणमा लगाएको ‘होमस्टे’का अध्यक्ष चन्द्रवति रानाले बताइन्। निर्माण सामाग्री ढुवानीका लागि पालुङटार नगरपालिकाले समेत सहयोग गरेको छ। 

‘होमस्टे’ले पाहुनालाई गाउँको स्वच्छ वातावरणमा अर्गानिक खाना, आरमदायी बास र सांस्कृतिक नाचगान प्रस्तुत गर्दै आएका छन। बेलुकीको खाजा, साहाकारी भोजन, रातको बास र विहानको खाजा सहितको प्याकेज राखिएको छ। 

कसरी पुग्ने

तनहुँ जिल्लाको डुम्रेबाट तुरतुरे हुँदै पालुङटार एयरपोर्ट, ठाँटिपोखरीबाट खोल्ली सम्म करिब २६ किलोमिटर पक्कि सडक छ। लमजुङको बेसीसहरबाट राइनस नगरपालिका धमिलिकुवा हुँदै गोरखा सदरमुकामबाट छेपेटार, खोप्लाङ, लुइँटेल, बडडाँडा हुँदै लिगलिगकोट पुगिन्छ।


लिगलिगे साइकल दौडकाे उपाधि लक्ष्मण र साेनुलाई (तस्वीरहरु)


लिगलिगकोटमा साइकलेको मेला [फोटोफिचर]

प्रकाशित मिति: : 2021-06-27 17:46:00

प्रतिकृया दिनुहोस्