उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले अन्ततः प्रशासन समक्ष आत्मसमर्पण गरेको खुल्न आएको छ।
आफूसँग असहमत भएका व्यक्तिलाई भौतिक रुपमै आक्रमण गर्दै आएका फागो ‘कानुनी फन्दा’मा परेको खुल्न आएको हो।
मान्छेलाई कुटपिट गरेपछि माफी मागेर उन्मुक्ति पाउँदै आएका फागो यसपटक भने फन्दामा आएको जिल्ला प्रशासन कार्यालय मोरङ स्रोतले बताएको छ।
एकपछि अर्को गर्दै फागोबाट प्रताडित हुनेको सुचिमा पछिल्लोपटक उर्लाबारी–९ का नारायण बस्नेत थपिएका छन्। गत चैत ३० गते नगरपालिका परिसरमै फागोद्वयले नारायण बस्नेतमाथि निर्ममतापुर्वक आक्रमण गरेका थिए।
अभद्र व्यवहार कसुरमा फागो र उनका भतिजो दुर्गाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता भएको थियो। किटानी जाहेरी दर्ता भइसक्दा पनि इलाका प्रहरी कार्यालय उर्लाबारीले आरोपी दुबैलाई नियन्त्रणमा लिएन।
प्रहरीले जाहेरी लिन आनाकानी गरेपछि पीडित बस्नेतले जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहार कसुरमा बैशाख १३ गते जाहेरी दिएका थिए।
जसअनुसार मेयर फागोले जिल्ला प्रशासन कार्यालय मोरङमा जेठ १९ गते शरीर उपस्थित भएर समर्पण गरेका हुन्। उनलाई सोही दिन सादा तारेखमा छाडिएको प्रशासन स्रोतले बताएको छ।
यस्तै, जेठ १७ गते उर्लाबारी–५ घर भएका दुर्गा फागो ४ हजार धरौटी बुझाएर मुक्त भएका हुन्। मुद्दाको अन्तिम किनारा नलागुन्जेल अभियुक्तद्वय काका भतिजोले तारेख खेप्नुपर्ने बताइएको छ।
यसैबीच पीडित बस्नेतले प्रहरीबाट सर्वसाधारणले न्याय पाउने आशा मरेको प्रतिकृया दिएका छन्। यद्यपि अदालतको भूमिकाप्रति आशावादी हुने ठाउँ भने रहेको उनले जनाए।