मेयरद्वारा पिटिएका व्यक्तिलाई अभद्र मुद्धा (भिडियाे)

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र उनको समुहबाट मरणासन्न हुने गरी कुटपिट गरिएका एक जनालाई प्रहरीले अभद्र व्यवहार सम्बन्धि कसुरमा मुद्धा चलाएको छ।

आफ्नो भवन निर्माण कार्य रोकिएको विषयमा जानकारी लिन जाँदा उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारी र उनीसगैँ रहेका उर्लाबारी–८ का नारायण बस्नेतमाथि मेयर फागोको अगुवाइमा आक्रमण भएको थियो।

सोमबार नगरपालिका परिसरमै निर्घात पिटिएका बस्नेतलाई भने मेयर फागोकै दबाबमा मुद्धा चलाइएको प्रहरी स्रोतको भनाई छ। तर, इलाका प्रहरी कार्यालय उलाबारीका प्रहरी निरीक्षक कुन्दन देवले भने मेयरलाई हुलहुज्जत गर्ने मनसाय पाइएकोले बस्नेतलाई नियन्त्रणमा लिइएको दाबी गरे। 

नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेले दिएको उजुरीका   आधारमा बस्नेतलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। यद्यपि, पीडित भण्डारीले मेयर फागो सहितलाई प्रतिवादी बनाउदै दिएको उजुरीलाई ‘ठाडो निवेदन’ भन्दै प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अवरोध गरेको भन्दै भण्डारी सो विषयमा कारण खोज्दै नगरपालिका पुगेका थिए। उनले निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्षमा पुगेर ‘आफ्नो काममा किन अवरोध गरिएको?’ भन्दै जानकारी मागेका थिए।

घिमिरेले ‘यस विषयमा मेयरलाई नै बुझ्नु’ भनेर पन्छिएपछि मेयरको कार्यकक्षतर्फ लाग्दै गर्दा एक्कासी आफूहरूमाथि स्थानीय दुर्गा फागो र ड्राइभर भनिने दीपेन्द्र धिमालले जथाभावी प्रहार गरेको पीडित बिष्णु भण्डारीले बताए।

यसपछि स्थितिलाई नियन्त्रणमा लिनुको साटो मेयर फागोले जंगिएदै भण्डारी र बस्नेतमाथि निरन्तर लात्ती प्रहार गरेको प्रत्यक्षदर्शी उर्लाबारी–४ का खड्गबहादुर थापाले बताए। कतिसम्म भने निरन्तर कुटपिट भइरहँदा नगर प्रहरी र अन्य कर्मचारीहरू मुकदर्शक बनेको बताइन्छ। केही बेरपछि बस्नेतलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको थियो। कुटपिटमा संलग्न दुर्गा फागो मेयरका भतिजो हुन् भने धिमाल मोरङ जिल्ला फुटबल संघका अध्यक्ष हुन्।

यसैबीच पक्राउ गरिएका नारायण बस्नेतलाई मंगलबार उर्लाबारी प्रहरीले अभद्र व्यभार कसु्रमा मुद्धा चलाएको छ। सार्वजनिक रुपमा मेयरसंग माफी मागे थुनामुक्त गरिदिने नगरपालिकाको प्रस्ताव ठाडै अस्वीकार गरेपछि उनलाई मुद्धा चलाइएको प्रहरीले जनाएको छ।

आफु जस्तोसुकै कारबाहि भोग्न तयार रहेको भन्दै बस्नेतले फागोको अघि नझुक्ने बताए। भने –‘न बिराउनु न डराउनु, मैले किन माफी माग्ने ?’

प्रहरीको आफ्नै दुईवटा भ्यान हुँदाहुदै मेयर फागोले उपलब्ध गराएको स्थानीय बद्री टेन्टको भ्यानमा राखेर नारायण बस्नेतलाई बिराटनगरतर्फ लगिएको भन्दै स्थानीय इन्द्र लामाले आपत्ति जनाए।

उनले भने–‘षड्यन्त्रको तानाबुना यतिमै सीमित छैन, छत नभएको गाडीमा हतकडी लगाएर एउटा निरपराध व्यक्तिलाइ अपराधी करार गर्न प्रहरी नै अग्रसर हुनु दुःखद छ।’ उनका अनुसार फागो दुनियाँलाई सन्देश दिन चाहन्छन्, ताकि विरोधीलाई यसरी कज्याउन सकियोस्।

उता, निर्घात पिटिएका भण्डारीले गत पुस ४ गते उर्लाबारी नगरपालिका–५ निवासी युवा प्रवीण बास्तोलाको हत्या प्रकरणमा पीडित पक्षलाई सघाएको भन्दै मेयर फागोले रिसिबी साँधेर कुटपिट गरेको बताए। फागो र भण्डारी छिमेकी पनि हुन्। यसबारेमा प्रतिक्रिया लिन खोज्दा फागोले विस्तृतमा बोल्न चाहेनन्। उनले कुटपिट गरेको अस्वीकार गर्दै उल्टै दुवैजनाले कार्यालयमा आएर अराजकता देखाएपछि प्रहरीले समातेर लगेको दाबी गरे।

त्यही घटनालाई अदालतसम्म लैजान सघाएका बस्नेतसँग पनि फागो आक्रोशित रहदै आएका थिए। फागोले सार्वजनिक कार्यक्रमहरुमा बस्नेतले संचालन गरेको त्रिकाल फाउण्डेसनको कटु आलोचना गर्दै आएका थिए। गुनासो लिएर पुगेका सेवाग्राहीमाथि मेयर नै कुटपिटमा उत्रिनु निन्दनीय भएको उर्लाबारी–३ का पीपलराज गिरिले बताए।

यस्तै, स्थानीय कांग्रेस नेता मुक्तिप्रकाश न्यौपानेले भने– कांग्रेसबाट निर्वाचित मेयरको हर्कतले हद नाघेको देखेर आफुलाई कांग्रेस हुँ भन्न लाज लागेको छ।

‘नियोजित रुपमा टहरो निर्माण रोकेको र कुनै गुनासो आए त्यतिबेलै आक्रमण गर्ने मेयरले तानाबुना रचेका रहेछन्, त्यसै अनुरुप आक्रमण भएको हो’, उर्लाबारी–८का नेत्र गुरुङ भन्छन्– 'एउटा नागरिक गुनासो लिएर निकायमा जानै नपाउने, सेवाग्राही पिटिनु पर्ने, हामीले कहाँ न्याय खोज्ने ?'

यसअघि पनि मेयर फागो गुण्डागर्दी शैलीमा उत्रिएको भन्दै आलोचना हुदै आएको थियो।


उर्लाबारीका मेयरद्वारा सेवाग्राहीमाथि कुटपिट 

प्रकाशित मिति: : 2021-04-13 18:55:00

प्रतिकृया दिनुहोस्

    Tyo thuko abibhabak jasto bhayera baseko Le janta sanga pratisodh keene.testa lai ya ma nakachara bhanxu

    • 3 बर्ष अगाडि
    • Neetukhadka