फेवाताल जोगाउने 'सिल्टेशन ड्याम' बाढीले बगायो, तल्लो क्षेत्रका बस्ती जोखिममा 

लगातारको वर्षापछि आएको बाढीले फेवातालको मुहानमा बनाइएको सिल्टेशन ड्याम भत्काएको छ। बाढीले ड्यामको करिब १५ मिटर भत्काएको छ।

पोखरा-२३ का कार्यवहाक वडाध्यक्ष भरतराज भण्डारीका अनुसार बाढीले ड्यामको १५ मिटर भाग बगाएको हो। ड्याम फुटेर पानी बाहिरिएपछि माथिल्लो भागमा जोखिम नरहेपनि तल्लो तटिय क्षेत्रका ६ घर जोखिममा परेका छन्।

वर्षा नरोकिए ठूलाखेतस्थित ६ घरलाई स्थानान्तरण गर्नुपर्ने उनले बताए। भत्किएको ड्याम पोखरा २३ हर्पन खोलामा पर्छ। निर्माण सकिएको २ वर्ष पनि नबित्दै ड्याम भत्किएको छ।

फेवातालको मुहान हपर्न खोला र तालका अन्य सहायक मुहानहरुबाट निस्किने गेग्रयान छेक्न ड्याम बनाइएको थियो। महानगरका अनुसार वर्षेनी फेवा मुहानबाट १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान फेवातालमा मिसिन्छ।

गेग्ग्रयान छेक्न ५ वटा सिल्टेशन ड्याम बनाइएको छ। ०७६ पुसदेखि बाँध बनाउन सुरु गरिएको थियो। १५ महीनाभित्र निर्माण सक्ने सम्झौतासहित सिल्टेसन ड्याम निर्माण शुरु गरिएको यो योजनामा गण्डकी प्रदेश र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा लगानी छ।

बेत्यानी खोलामा दुई, खहरे, घाँटीछिना र लौरुक खोलामा एक एक गरी पाँच वटा ड्याम बनाउने डिपिआर अनुसार पोखरा २४ बेत्यानी खोलामा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका मेयर मानबहादुर जिसीले सिल्टेशन ड्याम शिलान्यास गरेका थिए।

अघिल्लो वर्ष पनि बर्खायाम सुरु हुन नपाउदै ड्याम भत्किएपछि विवाद भएको थियो। निर्माण कम्पनीले कच्चा काम गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका थिए। खड्का कृष्ण, पिके जेभी दाङले ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा ठेक्का पाएको ड्याम छिटो सक्न गुणस्तरमा ध्यान नदिइएको स्थानीयको गुनासो थियो।

प्रकाशित मिति: : 2021-07-08 12:09:00

प्रतिकृया दिनुहोस्