वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको छ।
हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब अफ मकवानपुरको सहकार्यमा अस्पताललाई तीन वटा डायलासिस मेसिन उपलब्ध गराइएको हो ।
ती तीन वटा मेसिन खरीद गर्न उपमहानगरपालिकाले रु १६ लाख ५० हजार सहयोग गरेको र बाँकी रकम रोटरीले उपलब्ध गराएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
हेटौँडा अस्पतालमा पछिल्लो पटक सेवा विस्तारसँगै मिर्गाैलाको समस्यासम्बन्धी बिरामीलाई डायलासिस गराउन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटेको छ।
उपमहानगरपालिकाको सहयोगमा यस अस्पतालमा मिर्गाैलाको समस्यासम्बन्धी बिरामीको डायलासिस हुँदै आएको छ। वाग्मती प्रदेश सरकार मातहत रहेको यस अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालन हुँदै आएको छ। अस्पतालले पछिल्लोपटक सेवा विस्तार गरी जटिल प्रकृतिका विभिन्न शल्यक्रियासमेत शुरु गरेको छ।
अग्नि सुुरक्षा सामग्री उपलब्ध
उपमहानगरपालिकाअन्तर्गत बारुणयन्त्रमा कार्यरत कर्मचारीलाई अग्नि सुरक्षा सामग्री उपलब्ध गराइएको छ। रु साढे तीन लाख मूल्य पर्ने अग्नि सुरक्षाका सामग्री बारुणयन्त्रका कर्मचारीलाई उपलब्ध गराइएको हो।
ती सामग्री लगाएर आगो लागेको स्थानमै गएर आगलागीमा परेकालाई उद्धार गर्न सहज हुनेछ । हाल उपमहानगरपालिकासँग दुई बारुणयन्त्र रहेका छन्।
सार्वजनिक यातायात सञ्चालन हुने
कोरोना महामारीका कारण करीब दुई महिनादेखि बन्द रहेका सार्वजनिक यातायात यही असार २७ गतेदेखि सञ्चालन हुने भएका छन्।
जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशासन कार्यालयका अनुसार आइतबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न पाउने भएका हुन्।
सवारी सञ्चालन गर्दा विभिन्न नौ बुँदे निर्देशन पालना गर्नु पर्नेछ। प्रशासनले निषेधाज्ञाको समयावधि यही असार ३१ गतेसम्म लम्ब्याएको छ। रासस