दोबाटोमा छोडिएका डोबाटे

बाटो चिन्ने मात्रै दोबाटोमा नछोडिदा रैछन्। कहिलेकाँही बाटो चिन्नेहरु पनि दोबाटोमै छोडिनुपर्दो रहेछ। सहयात्री भनेर नहुँदो रहेछ। कहिलेकाँही आफूभन्दा पछि हिडेका पनि उछिनेर अघि लाग्दा रहेछन्।

हो, गण्डकी प्रदेशमा शुक्रबार यस्तै घटनाक्रमको विकास भयो। मन्त्रीको शपथ खान गृहजिल्ला तनहुँबाट हतारिदै पोखरा आउँदै गरेका डोबाटेलाई उनकै सहयात्रीले उछिने। डोबाटे बिचैमा छोडिए।

सरकार गठन भएको महिना दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि आलोचना खेपिरहेको गण्डकी सरकारले शुक्रबार पूर्णता पायो। बिहीबार नै मन्त्रिपरिषद् टुँग्याउने गरी गृहकार्य अनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लागे पनि बिहीबार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

बिहीबार बेलुकी नै काँग्रेसबाट मन्त्रिपरिषदमा कुन–कुन सांसद समावेश हुने तयारी भए पनि गोप्य राखिएको थियो। शपथ हुन डेढ घण्टा बाँकी रहँदा नाम सार्वजनिक भयो। काँग्रेसबाट मन्त्री हुनेमा स्याङ्जाका मेखलाल श्रेष्ठ, बागलुङका मणिभद्र शर्मा, तनहुँबाट डोबाटे विश्वकर्मा मन्त्री हुने भनिएको थियो। अन्तिम घडीमा आएर सँगै हिडिँरहेका सहयात्री डोबाटेको नाम बीचैमा काटेर मुख्यमन्त्री पोखरेलले अर्का सांसद विन्दुकुमार थापालाई मन्त्री बनाउन सिफारिस गरे।

डोबाटे उनै व्यक्ति हुन्, जसलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका बुवा गोवर्धन पोखरेलको मियो समाएर राजनीतिमा आएका थिए। २०३६ पछि सक्रिय राजनीतिमा लागेका डोबाटे विभिन्न राजनीतिक घटनाक्रमका साक्षी बसे। एकले अर्कालाई खुइल्याउने राजनीतिको साक्षी बसेका डोबाटे शुक्रबार आफै पनि त्यसको सिकार भए।

विश्वकर्मा ०१२ मंसिरमा तनहुँको व्यास– ११ तनहुँसुर अर्चलचौरमा जन्मिएका थिए। नेपाली काँग्रेसले ०४२ मा बहुदलीय व्यवस्था मागेर राखेको सत्याग्रहसँगै ०४६ को जनआन्दोलनमा पनि जोडिए। दुई पटक व्यासनगर सदस्य समेत भएका डोबाटे राष्ट्रिय दलित आयोजको सदस्य समेत भएका थिए।

‘मुख्यमन्त्रीलाई सोधें: म बाट के गल्ति भयो ?’

एक त दलित समुहको प्रतिनिधित्व, अर्को, मुख्यमन्त्री पोखरेलसँगको लामाे यात्रा।

मुख्यमन्त्रीमा नियुक्त भएपछिका भेटमा नेपालीले उनलाई भनेका थिए रे ! ‘डोबाटे बिनाको मन्त्रिपरिषद् पनि के मन्त्रिपरिषद्!’ प्रजान्त्रिक व्यवस्था पछ्याउने काँग्रेसमा योगदानको पनि कदर हुने ठानेका डोबाटेले एक रत्ति पनि सोचका थिएनन्। अन्तिममा आएर यति ठूलो घात होला भन्ने।

‘दलित समुदायको पनि भएँ। मुख्यमन्त्री ज्यूले पनि भनिरहनु भएको थियो। डोबाटे बिनाको मन्त्रिपरिद् कसरी पूरा होला भनेर,’ बिएल नेपाली सेवासँगको कुराकानीमा सांसद डोबाटेले भने, ‘अन्तिममा आएर के भयो के भयो खै !’

मन्त्रीको शपथ लिन पोखरा आइपुग्दा नपुग्दै उनले थाहा पाए, मन्त्रीको लिस्टमा उनको नाम काटिई सक्यो। राजनीतिलाई नै सम्पति ठानेर जिन्दगी यसमैमा लगानी गरेका डोबाटेले अझै पनि मेसो पाउन सकेका छैनन्, अन्तिम घडीमा आएर आफूमाथि किन यस्तो गरियो ?

शपथ कार्यक्रमपछि मुख्यमन्त्रीलाई भेटेर पनि डोबाटेले सोधे, ‘म बाट के गल्ति भयो? किन यस्तो गरियो?’ मन्त्री बनाउने आश्वासन यसअघि नै मुख्यमन्त्रीले दिई सकेका थिए। डोबाटेको प्रश्नमा उनी केही बोल्न सकेनन् रे !

व्यापारिक पृष्ठभुमीका सांसद विन्दुकमार थापा प्रदेश सभा निर्वाचनबाट राजनीतिमा आएका हुन्। यसअघि उनी पोखरा उद्योग वाणिज्य महासंघका अध्यक्ष थिए।

अन्तिम समयमा आएर डोबाटेको नाम काटिनुलाई धेरैले राजनीतिक गुट र दबाबको रुपमा लिएका छन्। पौडेल गुटका डोबाटे मुख्यमन्त्रीमाथि दबाब आएको होला सोचेर गृहजिल्ला फर्किसकेका छन्। थाहा छैन, अझैं कति डोबाटे यसरी नै फर्किने हुन्?

प्रकाशित मिति: : 2021-07-23 21:35:00

प्रतिकृया दिनुहोस्