भ्रष्टाचारको मुख्य योजनाकार उपभोक्ता समितिका सचिव बजगाई !

खोलाको दुई तर्फका पिल्लर निर्माण गर्दा ८८ लाख रुपियाँ सकेर हिसाव किताव लुकाउने मुख्य ब्यक्ति उपभोक्ता समितिका सचिब शङ्कर बजगाई भएको खुलेको छ। मोरङको मिक्लाजुङ–५ को सोल्टी खोलाको पुल निर्माण गर्ने उपभोक्ता समितिमा बजगाई सचिव थिए।सचिव बजगाईलाई आर्थिक हिनामिना गर्न सम्पूण कागजात मिलाउन गाउँपालिकाका तत्कालिन इन्जिनीयर सुवास आचार्यको सहयोग रहेको खुलेको छ। आचार्य त्यो बेला गाउँपालिकामा करार सेवामा कार्यरत थिए। हाल उनी लेटाङ नगरपालिकामा कार्यरत छन्। सोल्टी खोलाको आरसीसी पुल निर्माणका क्रममा लाखौं रुपियाँ हिनामिना भएपछि हाल पूल निर्माणको काम रोकिएको छ। उत्तर–पूर्वी मोरङको मिक्लाजुङ–५ को धानखेतीसँग गुप्ती र खोलीटारलाई जोड्ने सोल्टी खोलामा पुल नबन्दा त्यस क्षेत्रका मानिस वर्षौं देखि सास्ती खेप्न बाध्यछन्। 

स्थानीयलाई मात्र होइन,उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठलाई समेत गुमराहमा पारेर बजगाईले इन्जिनीयरसँग सेटिङमा लाखौं कुम्ल्याएको स्थानीयको बुझाई छ। तर, गाउँमा पुल बन्ने आशामा स्थानीय भने चुपचाप बसेको बुझिएको छ। समाचार स्रोतले भन्यो –करारका इन्जिनीयरको सेवा अवधि सकिन लागेको मौका पारेर बजगाईले पुलको लम्बाई ७० फिट बनाउन दबाब दिएका थिए। इन्जिनीयर आचार्यले समेत बजगाईका नोटमा लोभिएर सोही अनुसार इष्टमेट गरेको गाउँपालिका स्रोतको भनाई छ। गाउँपालिकाले ६० लाखमा पुल बनाउँने योजना तय गरेको थियो। तर, बजगाईले प्रदेश सभाका सांसद कुलप्रसाद साम्वा मार्फत बजेट ल्याउने भन्दै १ करोड १० लाखको लागत इष्टमेट गराएका थिए। बजगाईको उसबेलाको चुरिफुरीका कारण गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य र वडाध्यक्ष रुद्र लिङ्देन समेत ब्याक भएका थिए। वर्षायाममा खोला तर्दा सोल्टी खोलाले धेरै मानिसलाई बगाइसकेको थियो। त्यसैले बजगाईले बजेट ल्याउने भनेपछि स्थानीय उपभोक्ता मात्र होइन, गाउँपालिकामा पदाधिकारी समेत मौन बसेका थिए। 

प्रदेश सरकार गठन भएको वर्ष दिन नबित्दै तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गरेका थिए। स्थानीय तीन वटा सामूदायिक वन र गाउँपालिकाको साझेदारीमा निर्माण गर्ने तय भएको पुलका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ थपिदिने भएपछि बजगाई र सांसद साम्वासँग सबै खुसी भएका थिए। तर, १ करोड १० लाख रुपियाँको आयोजना निर्माण गर्दा गाउँपालिका टेण्डर आह्वान गरेन। सामान्यतया ५० लाख रुपियाँ माथिका आयोजना निर्माण गर्दा इविडिङ गर्ने सरकारी नियम छ। कार्यपालिकाको सामान्य निर्णयबाट  मिक्लाजुङ गाउँपालिकाले रकम निकासा गरीदियो। उता  तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोको ठाडो निर्देशनमा प्रदेश सरकारले उपभोक्ता समितिको नाममा चेक दियो। गाउँपालिकामा मार्फत भूक्तानी हुने उक्त रकम उपाध्यक्ष सरला राईले समेत अनुगमन गर्न भ्याइनन्। अधिकांश जनप्रतिनिधिहरू उक्त पुल निर्माणका बिषयमा बेखबर जस्तै छन्। 

सरकारी कोषको ८८ लाख रुपियाँ सकिए पनि पुल निर्माणका क्रममा ल्याइएका कतिपय सामग्रीको पैसा अझै भुक्तानी भएको छैन्। सरकारी पैसा आउनु अगावै बजगाईले  वरडाँडा सामूदायिक वनबाट १० लाख रुपियाँ,गौमति सामूदायिक वनबाट १० लाख र धानखेती सामूदायिक वनबाट ५ लाख रुपियाँ छिनी सकेका थिए। शिलान्यासको बेला स्थानीय टेकबहादुर राईलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको थियो। टेकबहादुरले  २ महिना पनि जिम्मेवारी सम्हाल्न नसकेपछि बुद्धिमान श्रेष्ठको अध्यक्षतामा अर्को उपभोक्ता समिति बनेको हो।सोही समितिमा शंकर बजगाई सचिव बने अनि सेटिङ मिलाउँदै रकम कुम्ल्याउन थाले। उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले भने –सचिवले  खोलाको दुई तर्फ पिल्लर लगाउँदा मात्र ८८ लाख रुपियाँ खर्च भयो भने ,होला त नि भनेर मैले पनि सही गरिदिएँ । सचिवले जे जे भन्छन् सोही अनुसार मान्दै काम गरेको बुद्धिमानको भनाई छ। अध्यक्ष श्रेष्ठका अनुसार धेरै कुरा सचिवलाई थाहा छ। अहिले पुल बनि नसक्दै बजेट सकिएको छ। साडे ३ वर्षमा न पुल बनेको। न हिसाव सार्वजनिक भएको छ। हिसाव सार्वजनिक नै नगरी बजगाईले नै हतार हतार भीमप्रसाद गौतमको अध्यक्षतामा अर्को समिति बनाएका छन्। गौतमले अघिल्लो समितिको हिसाव माग गर्दा न त गाउँपालिकाले हिसाव दिएको छ न प्रदेश सरकारले। 

को हुन बजगाई ?
शङ्कर बजगाई एमाओवादी केन्द्रका स्थानीय नेता हुन्। गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका बजगाई कांग्रेसका रुद्र लिङ्देनसँग चुनाब हारेका थिए। चुनाब हारे पनि नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि उनको चुरिफुरी निक्कै बढको थियो। प्रदेश सभा सदस्य कुलप्रसाद साम्वाको सोर्समा योजना नै नबनाई बजेट ल्याउने र आफै उपभोक्ता समितिमा बसेर रजगज गर्ने उनको मुख्य काम हो। उनी वडा नं ५ का अधिकांश योजनाका हर्ताकर्ता हुने गरेका छन्। स्थानीयका अनुसार बजगाईले केही प्रतिशत रकम प्रदेश सभा सदस्य एवं आफ्ना गुरु साम्वालाई समेत पुर्‍याउने गरेका छन्। तर, नेकपा एमाले र माओवादी केन्द्र फुटेपछि बजगाई नेकपा एमाले तिर लागेका छन्। धेरै वटा उपभोक्ता समितिमा बसेर काम गरेका बजगाईको आर्थिक हैषियत दिन दुगुना रात चौगुना परिवर्तन भएको छ। स्थानीय समाचार स्रोत भन्छ –अहिले उनले ट्रिफर, गाडी घोडा जोडिसकेका छन्। कुनै ब्यापार नगरी एकै पटक यति धेरै सम्पत्ति कसरी जोडे भन्ने विषयमा स्थानीय भन्छन् – हामीलाई कसरी थाहा हुनु र ? तर, उनको समाजिक हैषियत भने बदलिएको छ।

 सम्पत्ति सुद्धिकरण र अख्तियारमा जाने 
खेल मैदान निर्माणमा होस या पुल निर्माण । सडक निर्माण होस या कल्भर्ट जता पनि आर्थिक अनियमिततामा जोडिएका बजगाईको सम्पत्ति छानविनका लागि सम्पत्ति सुद्धिकरण विभागमा उजुरी गर्ने स्थानीयले बताए। नाम उल्लेख नगर्ने सर्तमा एक जना स्थानीयले भने उनका कारण हाम्रो बदनाम भयो। पुलमा भ्रष्टाचार गरेर पैसा कुम्ल्याए। पुल नबनेपछि हामीले यहीको स्रोत साधन प्रयोग गरेर पुल बनायौं। तर, हामी अहिले तनाब ब्यहोरिरहेका छौं। त्यति मात्र होइन ,गाउँपालिका प्रदेश सरकार र उपभोक्ता समिति बिरुद्ध अख्तियारमा मुद्धा दायर गर्ने स्थानीयको तयारी छ।

प्रकाशित मिति: : 2021-07-24 22:41:00

प्रतिकृया दिनुहोस्