गोष्ठीमा भाग लिन अमेरिका गएकी उपमेयर २१ महिनादेखि उतै बेपत्ता, तलब–सुविधा भने नियमित उनको  खातामा

मेयर भन्छन्– कारवाही गर्ने कानून छैन, तलब–सुविधा पनि रोक्न मिल्दैन

‘म आउँछु। मैले नआउनलाई कसको के नै बिगारेकी छु र, मेरोलागि स्वास्थ्यभन्दा ठूलो केही छैन। मलाई पहिलाभन्दा अलि सञ्चो भएको छ।’

उक्त भनाइ ०७६ कात्तिक १ गते एउटा चारदिने कार्यक्रममा सहभागी हुन अमेरिका  प्रस्थान गरेर उतै लुकेकी कालिकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली ‘दर्शना’को हो। उनलाई सबैले दर्शना नेपाली भनेर चिन्ने गर्छन्।

गत २२ फेब्रुअरीको बिहानको ‘च्याट’मा उनले आफ्नो अवस्थाबारे उक्त भनाइ व्यक्त गरेकी थिइन्। त्यसको तीन महिनापछि मे १४ को बिहान उनीसँग सामान्य ‘हेलो हाई’ मात्र भयो। त्यसयता म्यासेञ्जरमा पठाएका सन्देशको पनि उनले ‘रेस्पोन्स’ गरेकी छैनन्।

०७६ असोज २६ गते तिलागुफा नगरपालिकाले उनलाई ‘इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन’ (आईसीएमए)ले आयोजना गरेको गोष्ठीमा जान सिफारिश गरेको थियो। सोही अनुसार उनी  कात्तिक १ गते अमेरिका गएकी थिइन्। 

त्यसपछि उनी बिरामी भएकाले केही समय उपचार गरेर आउने भन्दै उतै बसेकी थिइन् तर गएको २१ महिनासम्म नफर्किएपछि एक पल्ट फेरि उनको विषयमा चासो बढ्न थालेको छ। उनी माओवादीकेन्द्रका तर्फबाट नगरपालिकाको उपमेयर निर्वाचित भएकी थिइन्।

यो अवधिसम्म उनी न मेयरको सम्पर्कमा छिन् न त नगरपालिकाका अरु कुनै पदाधिकारीसँग। उनीसँग म्यासेञ्जरमा पटक–पटक प्रतिक्रिया माग्दा पनि ‘रेस्पोन्स’ गरिनन् तर उनको मौनताले कालीकोटको तिलागुफा नगरपालिकाको कामकारबाही नराम्ररी प्रभावित बनेको छ। 

चारदिने चल्ने गोष्ठीमा सहभागी हुन भन्दै गएकी उनी ३ महिना उतै बस्दासम्म धेरैले चासो राखेका थिएनन् तर जब २०७६ माघ ९ गते राष्ट्रियसभाको निर्वाचन हुने भयो तब पार्टीले उनको  खोजी गर्न थाल्यो। अमेरिकाबाट नफर्किएको विषयबारे समाचार आउन थाले। विभिन्न सञ्चारमाध्यममा समाचार आए। उनीको सामाजिक सञ्जालमा आलोचना पनि भयो। 

नेपाली काँग्रेस, कालीकोटले उपमेयर फिर्ता बोलाउन नगरपालिकालाई अल्टिमेटम नै दियो तर हालसम्म उनी आउनेरनआउने अत्तोपत्तो छैन। तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले उपमेयर कालिकोटबाट अमेरिका गएपछि कुनै सम्पर्क नभएको बताए। 'गएदेखि नै सम्पर्कमा हुनुहुन्न, सुरु–सुरुमा बिरामी भएर थलिएकी छु भन्ने खबर परिवारसँग आएको सुनिन्थ्यो' उनले भने, 'त्यसयता भने उहाँको अवस्था के छरु जिम्मेवारीमा फर्किनुहुन्छ या फर्किनुहुन्न, कुनै जानकारी नै छैन।'

कारबाही गर्न कानूनी बाधा

स्थानीय सरकारको उपप्रमुख लामो समय सम्पर्कबिहीन हुँदासमेत बर्खास्त गर्न मिल्ने कानून छैन। यो विषयमा काननूमा केही नलेखिएको हुनाले कारबाहीको प्रक्रिया अगाडि बढाउन नसकिएको मेयर शाहीले बताए।

कानूनमा स्थानीय तहका पदाधिकारीले राजीनामा दिएमा वा मृत्यु भएमा मात्र पदमुक्त भएको मानिने व्यवस्था छ। ‘नगरसभाबाट पनि बर्खास्त गर्न मिल्दैन।’ उनले भने, ‘ यत्तिको जिम्मेवार व्यक्तिले आफैँ जानेर फर्किनुपर्ने हो। जनमतको अवहेलना गर्नु राम्रो होइन।’

रोकिएन तलब

उपमेयर नेपाली २१ महिनादेखि कार्यालयमा नफर्किए पनि उनको नाममा तोकिएको तलब भने गइरहेको छ। उनले पाउने बैठक र अन्य भत्ताबाहेकको सेवासुविधा गइरहेको मेयर शाहीले बताए। ‘उहाँ आफैंले  जिम्मेवारीमा नहुँदा सेवासुविधा लिन्न भन्नुपर्ने हो। उहाँले नभनेसम्म त हामीले तलब रोक्न मिलेन’ मेयर शाहीले थपे।

कानून व्यवसायीहरु भने नगरसभाले निर्णय गरेर सेवा–सुविधा रोक्न सकिने बताउँछन्। अधिवक्ता अनिता तिमिल्सिनाले भनिन्, ‘यस्तो अवस्थामा उपमेयरको सेवासुविधा रोक्ने निर्णय नगरसभाले गर्न मिल्छ।’

जिम्मेवारी वडा अध्यक्षलाई 

उपमेयर दर्शना सम्पर्कबिहीन भएपछि उनले गर्नुपर्ने कामको जिम्मेवारी वडा नम्बर ८ का अध्यक्ष तिलक न्यौपानेलाई दिइएको छ। २०७७ फागुन २७ को कार्यपालिका बैठकले उनलाई जिम्मेवारी तोकेको हो। 

न्यायिक समिति, योजना अनुगमन समिति लगायतका विभिन्न सिमितिहरुमा संयोजक उपप्रमुख हुने प्रावधान छ तर उपमेयर अमेरिका गएर उतै बेपत्ता भएपछि वडा अध्यक्षलाई जिम्मेवारी दिनुपरेको कार्यपालिकाले जनाएको छ।

वडाबाहेक उपमेयरको कामसमेत गर्नुपर्ने भएकाले कामको चाप धेरै भएको न्यौपानेले बताए। ‘धेरैजसो समितिहरुमा उपमेयर संयोजक हुने व्यवस्था रहेछ। मलाई अहिले उपमेयर गर्नुपर्ने कामको जिम्मेवारी छ’, उनले भने, ‘वडाको काम र उपमेयरको जिम्मेवारी बहन गर्न धौ–धौ छ तर पनि व्यवस्थापन गर्ने कोशिश गरिरहेको छु।’

न्यौपानेका अनुसार उपमेयर सम्पर्कबिहीन भए पनि उनको परिवारसँग सम्पर्क भइरहेको छ। ‘हामीसँग सम्पर्क नभए पनि परिवारसँग कुरा भइरहेको भन्ने छ।परिवारका सदस्यले  फर्किन्छु भन्नुभएको छ भनेर सुनाउँछन्।’ उनले भने।

कामको जिम्मेवारी अर्को व्यक्तिलाई दिएकाले कामकाजमा भने खासै असर नपरेको मेयर शाहीले बताए। 

विपक्षीको विरोध

उपमेयर बेपत्ता भए पनि उनलाई कारबाही गर्ने वा फिर्ता बोलाउने विषयमा मेयर र सम्बन्धित पार्टी नै नाजवाफ रहेको नेपाली काँग्रेस कालीकोटका सहसचिव दमन शाहीले बताए। काँग्रेसले बारम्बार ध्यानाकर्षण गराए पनि मेयरको ध्यानाकर्षण नभएको आरोप उनको आरोप छ।

‘हामी नगरपालिकामा प्रतिपक्षी दल हो। हामीले आफ्नोतर्फबाट नगर कार्यपालिका र निर्वाचन कार्यालयमा ध्यानाकर्षण गराएका छौँ’ उनले भने, ‘निर्वाचन कार्यालयले सम्बन्धित पार्टीले नै कारबाही गर्नुपर्छ भन्छ। उहाँ सम्बद्ध पार्टी माओवादी केन्द्र भने यसमा ध्यान दिदैन।’

जनमतको अपमान

जननिर्वाचित प्रतिनिधि जिम्मेवारी छोडेर लामो समय सम्पर्कबिहीन हुनु भनेको जनमतको अपमान भएको अधिवक्ता तिमिल्सिना बताउँछिन्। उनले भनिन्, ‘यो विषयमा कानूनले बोलेको छैन तर जनमतको अपमान गरी जनप्रतिनिधि जिम्मेवारी छोडेर सम्पर्कबिहीन हुनु भनेको नैतिकताको खडेरी पड्नु हो’ उनले भनिन्।

उपमेयर नेपालीसँगै धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गाना पनि गोष्ठीमा सहभागी हुन गएका थिए। चार दिने कार्यक्रममा सहभागी हुन पुगेका नेपाली र ढुङ्गानाको गोष्ठीसहित २१र२२ दिन बस्ने कार्यक्रम थियो।

सोही योजनाअनुरुप दुवै जनाको फर्किने तालिका २०७६ कात्तिक २१ गते भए पनि ढुंगाना मात्र स्वदेश फर्किएका थिए। उनले भने,‘उपमेयर सम्पर्कबिहीन हुन मिल्दैनथ्यो। उहाँ उतै लुकेर बसिदिँदा काम कारबाही प्रभावित त हुने नै भयो। जनमतको पनि अपमान भएको छ।’

प्रकाशित मिति: : 2021-07-26 19:31:00

प्रतिकृया दिनुहोस्