डोल्पाको पोम्जोक डाँडामा बन्याे टेलिकमकाे टावर, फाेनमा कुरा गर्न पाउँदा स्थानीय दंग

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पोम्जोक डाँडामा नेपाल टेलिकम (नमस्ते) काे मोवाइल राखिएकाे छ। टेलिकमको प्राविधिक समूहले आइतबार टावर निर्माणकार्य सम्पन्न गरेको हो।

टावर निर्माण भएपछि यस क्षेत्रमा नमस्तेको टेलिफोन सेवा सुचारु भएको छ। टावर निर्माण भएपछि शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं १ मा पर्ने निजाल, लुरी, कोमास लगायतका ग्रामिण क्षेत्रहरु सञ्चारको पहुँचमा जोडिएका छन्। 

उक्त टावरले डोल्पोबुद्ध गाउँपालिका वडा नं. ६ मा पर्ने सिमेन, फालमा समेत सेवा दिन सुरु गरेको टेलिकमकाे प्राविधिक टोलीले जनाएको छ। दुई वटै स्थानीय तहको लगानीमा टावर निर्माण गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङ्गले बिएल नेपाली सेवालाई जानकारी दिए।

टावर निर्माणका लागि आफ्नो गाउँपालिकाले मात्रै १० लाख रकम लगानी गरेको गुरुङ्गको बताए। यो टावर बनेसँगै उपल्लो डोल्पाका ८० प्रतिशत ग्रामिण गाउँबस्तीहरु सञ्चारको पहुँचमा जोडिएको उनको भनाई छ।

जिल्लाकै विकट क्षेत्रको रुपमा रहेको उपल्लो डोल्पामा टावर बनेर सेवा सुरु भइसकेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं– १ का अध्यक्ष जिग्मे बुढाले बताए।

यसअघि सञ्चारकाे पहुँच नहुँदा कष्टकर जीवन बिताउँदै आएका नागरिकहरु अहिले घरमै बसेर देश तथा विदेशमा खबर आदान प्रदान गर्न पाउँदा खुशी भएको अध्यक्ष बुढाले बताए।

उपल्लो डोल्पासम्म सडक बिस्तार नभएकाले टावरका सम्पूर्ण सामानहरु हेलिकप्टर चार्टर गरेर उपल्लो डोल्पा पुर्याइएको स्थानीय तहले जनाएका छन्। यसरी हेलिकप्टर चार्टर गरेर सामान लैजाँदा सामान भन्दा पनि ढुवानी भाडा महंगो पर्ने गरेकाे उपल्लो डोल्पा बासीको गुनासो छ।

प्रकाशित मिति: : 2021-09-13 18:40:00

प्रतिकृया दिनुहोस्