बाल ठाकरेः कहिल्यै चुनाव लडेनन्, आजीवन राजनीतिको केन्द्रमा रहे

[File Photo PTI]
[File Photo PTI]

बम्बईका ‘हिन्दू हृदय सम्राट’ अर्थात् बाल केशव ठाकरे बाँचुञ्जेल भारतीय राजनीतिको केन्द्रमा रहे।

पाँच दशकसम्म सार्वजनिक जीवनमा रही शिवसेनाको नेतृत्व सम्हालेका उनी आफू चुनाव कहिल्यै लडेनन्। न त उनी विधिवत रूपमा पार्टी प्रमुख नै चुनिए तर ‘हिन्दू रत्न’ ठाकरेको महाराष्ट्र र विशेष गरी मुम्बईको राजनीतिमा ठूलो प्रभाव थियो।

मुम्बईस्थित ‘मातोश्री भवन’ बाट मराठी राज्यसत्ता चलाएका उनी सधैँ राजनैतिक चर्चामा रहेको स्थानीय रामचन्द्र चौहान बताउँछन्। कट्टर हिन्दू राष्ट्रवादी नेता ठाकरेको राजनीतिक यात्रा उत्तिकै रोचक र अनौठो मानिन्छ। उनी एक समय मुम्बईबाट प्रकाशित हुने ‘फ्री प्रेस जर्नल’ नामक अंग्रेजी अखबारमा पेशेवर कार्टुनिस्टका रूपमा काम गर्थे। 

सन् १९६० ताका ‘मार्मिक’ नामक एक स्वतन्त्र साप्ताहिक अखबारसमेत प्रकाशित गर्थे। लगतै उनले मराठी भाषामा ‘सामना’ निकाल्न थाले– जो अहिले पनि शिवसेनाको मुखपत्र छ। 

सन् १९६६ मा बाल ठाकरेले ‘सामना’ अखबारसँगै शिवसेना गठन गरे। उनले ‘मराठी समाज’को आन्दोलन राज्यभर चर्काए र बेरोजगारी अन्त्यको मुद्दा जोरतोडले उठाए।

अहिलेझैँ ऊबेला पनि काम खोज्दै मुम्बई आउनेहरूको ठूलै जमात हुन्थ्यो। ठाकरे बारम्बार गुनासो गर्थे– खासगरी दक्षिण भारतीयहरू यहाँ आई रैथाने मराठीहरूको रोजगारी खोसे। मराठी भाषा बोल्ने स्थानीयलाई रोजगारीमा प्राथमिकता दिन माग राख्दै उनको नेतृत्वमा आन्दोलन समेत थालियो।

बाल ठाकेर दक्षिण भारतीयप्रति जीवनभरि सकारात्मक भएनन्। स्थानीय मराठीले सबैभन्दा पहिले रोजगारी पाउनुपर्ने उनको तर्क थियो। मुम्बईस्थित विभिन्न कम्पनीविरूद्ध ठूलै आन्दोलन चर्काए। ‘मराठी मानुस’ अभियानमा महाराष्ट्रका जनताले ठाकरे नेतृत्वको आन्दोलनलाई दह्रो साथ दिएको शिवसेना मीरा–भायन्दर शाखाप्रमुख राजेन्द्र थलारी बताउँछन्। 

मराठी भावना आत्मसाथ गरी बेरोजगारीविरूद्धको मुद्दा हातमा लिएका ठाकरेलाई मुम्बईको राजनीतिमा हिंसा मिसाएको आरोपसमेत लाग्थ्यो तर उनी भन्थे, ‘म राजनीतिमा हिंसा र शक्तिको प्रयोग गर्नेछु किनकि वामपन्थीहरूले यस्तै भाषा बुझ्छन्। केही मानिसलाई हिंसाको डर देखाउनै पर्छ। तब मात्रै उनीहरूले पाठ सिक्छन्।’

दक्षिण भारतीयको मुम्बईमा बाक्लो बासोबास छ। उनीहरूको सम्पत्तिमा प्रदर्शनकारीले बिस्तारै निशाना बनाउँदा हजारौँ युवा पार्टीमा प्रवेश गर्न थाले। भुइँतहसम्म पार्टी–सङ्गठन पुर्‍याउन शिवसेनाले महाराष्ट्रमा हिंसा मच्चाएको कतिपय आरोप लगाउँछन्। 

‘शिव सैनिक’ (कार्यकर्ता) हरूले ठाकरेविरूद्ध टिप्पणी गर्ने अनेकौँ विपक्षी–पार्टी, आप्रवासी र सञ्चारमाध्यम समेत छाडेनन्। उनीहरूले पटकपटक आक्रमणसमेत गरेका थिए। मुम्बईको हरक्षेत्रमा स्थानीय युवाहरू सङ्गठित हुँदै जाँदा शिवसेना बलियो शक्ति बन्यो। उनले राजनीतिसँगै बलिउड फिल्म क्षेत्रमा समेत राम्रो पकड जमाए।  एकताका हिन्दी फिल्म चलाउन उनकै सामु पुग्नुपथ्र्यो। 

ठाकरेसँग जोडिएका अनेक रोचक खिस्सा छन्। जर्मनीका पूर्व तानाशाह हिटलरका प्रशंसक थिए रे! एक अखबारमा यस्तो कथा प्रकाशित भए पनि उनले अस्वीकार गरे। ८० देखि ९० को दशकमा ठाकरेले हिन्दुत्वको मुद्दा बोकेर कट्टर हिन्दू राष्ट्रवादीको उपमा पाए।

सुरू–सुरूमा कांग्रेसले वामपन्थीझैँ दमन नीति अपनाएपछि उनले हिन्दुत्वसँगै मराठी समाज उचाल्दा क्षणभरमै सफलता प्राप्त गरेका थिए। मराठी मानुसको समर्थनले सुरुआती संर्घषमै शिवसेना राज्यमा ठूलो राजनीतिक शक्ति बनिसकेको थियो। 

सन् १९९२ ताका उत्तरप्रदेशको अयोध्यास्थित बाबरी मस्जिद कट्टर हिन्दु समर्थकहरूले भत्काए। लगत्तै, मुम्बईमा कयौँ साता हिन्दू र मुसलमानबीच साम्प्रदायिक दङ्गा चलेको थियो। हिंसात्मक झडपको स्मरण गर्दा अहिले पनि शिवसेना र बाल ठाकरेको नाम अग्रपंक्तिमा आउँछ नै ! धार्मिक झडपमा परी लगभग नौ सय मारिए भने हजारौँ मानिस मुम्बई छाड्न बाध्य थिए। 

उनी पाकिस्तानको खरो आलोचना गर्थे। ठाकरेले एकताका भारत र पाकिस्तानबीच किक्रेट रोक्न कडा अडानसमेत लिएका थिए। कट्टरवादी रबैया अपनायकै कारण दिन–प्रतिदिन समर्थक संख्या थपिएको र शिवसेनाले मत बटुल्दै गएको विश्लेषकहरू बताउँछन्। उनी सत्तामा जाँदैनथे तर राज्यसत्ताको साँचो भने मातोश्रीमै थन्काउँथे।

१७औँ शताब्दीका प्रसिद्ध मराठा राजा छत्रपति शिवाजी महाराजको स्मरण गर्दै उनले पार्टीको नाम शिवसेना राखे। महाराजले सन् १६७४ ताका मुगलसँग लडेर पश्चिम भारतमा मराठा साम्राज्य स्थापना गरेको इतिहासमा उल्लेख छ। कट्टर हिन्दूवादी राजा छत्रपति शिवाजीलाई महाराष्ट्रमा सबैजसो आस्थाको धरोहर मान्छन्।

ठाकरे मुम्बई आएका नेपालीहरूलाई खूब् माया गर्थे। उनीकहाँ प्रायः साप्ताहिक रूपमा आर्शीवाद थाप्न र पशुपतिनाथको प्रसाद बोकेर जाने नेपाली घुइँचो नै हुन्थ्र्यो। मातोश्रीसँग नेपालीहरूको बेग्लै सम्बन्ध रहेको बाल ठाकरेका तत्कालीन मुख्य सहयोगी चम्पासिंह थापा स्मरण गर्छन्।

सन् १९२६ जनवरी २३ ताका महाराष्ट्र राज्यकाे पुणे शहरमा जन्मिएका उनकाे सन् २०१२ नाेभेम्बर १७ का दिन मुम्बईस्थित मातोश्री निवासमा निधन भएकाे थियाे। 

प्रकाशित मिति: : 2021-09-19 21:29:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ