खोट र क्षमता

Breaknlinks
Breaknlinks

हामी आफ्नो नेता आफै चुन्छौ तर आफैले चुनेको नेता आफैलाई मन पर्दैन। र, भोलिपल्टदेखि नै गाली गर्न थाल्छौं।

हामीले व्यवस्था पनि फेर्‍यौ। तर, मन परेन र फेरि फेर्ने भन्दैछौं। चाडवाडमा, फेसनमा, एडुकेशनमा सबैमा खोट देख्छौ, हामी।

हाम्रो भगवान नै 'पर्फेक्ट' छैनन्, हामी आफ्नै भगवानमा पनि खोट देख्छौं। खोट पत्ता लगाउन सक्ने हाम्रो विशेष राष्ट्रिय क्षमता नै हो। फेसबुकको 'बग' पत्ता लगाउनेमा धेरै नेपालीले इनाम जितेका पनि छन्।

विचार गर्नु भएको छ, आफ्नोमा यत्रो खोट देख्दा-देख्दै पनि  हामीमा 'राष्ट्रियता' भने प्रचण्डको छ है। हामी खोट पत्ता लगाउँछौं तर हामीमा 'राष्ट्रियता' छ भनेको हामीमा राष्ट्रप्रतिको ‘ओनरसीप’ चाही छ है भनेको हो। हामीले खोट देखाएको पनि राष्ट्रकै राम्रो होस् भन्ने चाहनाले गर्दा रहेछ।

हामी नेपालीले अहिलेसम्म विदेशमा जागिर पाउन आफ्नो स्किलको ‘ब्र्याण्डीङ्ग’ गरेको भनेको ‘इमान्दार गोर्खाली’ को इमेज हो। यो इमान्दारिताले पाउने भनेको आफ्नो मालिकले जस-जसलाई ढोकाबाट छिरा भन्यो ती-तीलाई मात्र छिर्न दिने, अरूलाई रोक्ने इमानदार ‘दरवान’ को जागिर मात्र हो।

अनि गोर्खालीको 'ब्र्याण्डीङ्ग'बाट पाएको भनेको पैसाको लागि वीरता देखाउने भाडाको सैनिकको जागिर।

त्यसैले अब विदेशमा राम्रो जागिर पाउनको लागि हामीले आफ्नो 'ब्र्याण्डीङ्ग’को लागि ‘इमानदार गोर्खाली’बाट चेन्ज गरेर यही आफ्नोमा खोट पत्ता लगाउन सक्ने इमेजलाई भजाउनु पर्छ। यस्तो खोट पत्ता लगाउँदै तर कम्पनीप्रतिको 'ओनरसिप'मा डगमग नहुने क्षमताले पाउने जागिर भनेको अडिट, अन्डरराइटिङ्ग, कम्प्लायन्स, इभालुयशन, सेफ्टि, क्वालिटि मेन्टेनेन्श, बग पत्तालगाउने किसिमका ‘हाकिम’ जागिर हुन्।

अरूको खोट देखाएर हाकिम हुन पाउँदा एउटा नेपालीलाई कति मज्जा होला, मलाइ नै सोच्दा नै मज्जा लाग्छ। यसतर्फ नेपालीले क्षमता देखाउन सके ठूलो 'स्कोप' छ।

हेर्नुस त, कम्पनीको कुनै कर्मचारीले मैले राम्रै काम गरेको छु भन्ने ठानेकोमा नेपालीले त्यसमा हजार खोट देखाइदिन सक्छ र उसलाई 'चुँ' पनि गर्न नसक्ने गरेर बोलती बन्द गरेर सबै फूर्ती झारिदिन्छ।

उता कम्पनीले पनि आफूलाई परिमार्जन गर्ने ठूलो अवसर पाउँछ। तर  कम्पनीमा यति धेरै खोटै-खोट देख्दा पनि आफ्नो कम्पनीप्रतिको ‘राष्ट्रियता’मा डगमगाउँदैन र कम्पनीको हितको लागि खोट पत्ता लगाउने काममा निरन्तर अहोरात्र लागि रहन्छ- नेपाली।

कस्तो गजबको 'स्किल' !

खोट पत्ता लगाउने स्किल अझै डेभलप गरौं। अनि यो स्किल लिएर विदेशमा नाम चम्काऔं।

प्रकाशित मिति: : 2021-10-09 13:06:00

प्रतिकृया दिनुहोस्