लामो झोलुङ्गे पुलले फेरिएको अदुवाबारी

File photo
File photo

अन्नबाली हुने स्थानमा बाँदरको बिगबिगीले बाँझो बनेको अदुवाबरी अहिले पर्यटकीय केन्द्र बनेको छ। केही वर्षअगाडिसम्म पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको हुन्थ्यो। 

खेतपाती हुने स्थानमा बाँदरको बिगबिगीका कारण अदुवा मात्रै खेती गरेका कारण अदुवाबारी भएको उक्त स्थानको अहिले मुहारै फेरिएको छ। यहाँ यही पुलकै कारण पर्यटककको घुइँचो पनि लागेको छ। 

तीतेपातीले भरिएको अदुवाबारी अहिले व्यावसायिक आयआर्जनको गतिलो थलो बनेको छ। बागलुङको बाङ्गेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिएपछि अहिले व्यावसायिक चहलपहल बढ्दो छ।  

अहिले यस क्षेत्रमा धमाधम व्यवसायहरु सञ्चालन हुन थालेका छन्। घर भवनहरु निर्माण भइरहेका छन्। केही वर्षअघि सम्म अदुवाबारी यसरी परिवर्तन, सम्भावना लिएर आउला भन्ने स्थानीयवासीले नसोचेको बताउँछन्। डरलाग्दो भिरमाथिको टाकुरोमा झोलुङ्गे पुल बनाएपछि यसले पर्यटक पनि आकर्षित गरेको छ। 

पुलले स्थानीयवासीलाई वारपारमा सहज मात्रै बनाएन, उनीहरुलाई व्यापार, व्यवसायसँग जोड्नाका साथै सिङ्गो धौलागिरिको पर्यटन क्षेत्रमा पनि रौनक थपेगको छ। 

कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुँदै आएको छ । पुलमा दैनिक चारदेखि ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्। 

मानिसहरुको आगमन बढेसँगै पुलको पारि पर्वततर्फ व्यवसाय फस्टाउन थालेको छ। किराना पसल, होटल तथा रेष्टुरेन्टलगायत व्यवसाय गर्ने सङ्ख्या र लगानी बढ्दो छ। 

पुल निर्माणसँगै फेरिएको अदुवाबारीमा व्यवसायको राम्रो सम्भावना रहेको अदुवाबारीका होटल व्यवसायी गोपाल रिजालले बताए। उनले गत वर्षदेखि होटल सञ्चालन गरेकामा कोरोना सङ्क्रमणका कारण केही समय नचले पनि अहिले राम्रो व्यापार हुन थालेको बताउछन्। 

'पहिला हामीले यो ठाउँमा यस्तो बन्ला भन्ने सोचेकै थिएनौँ, जब यहाँ पुल बन्यो, अहिले पूरै ठाउँ नै परिवर्तन भएको छ, यहाँ जग्गा हुने जग्गाधनीलाई निकै फाइदा पुगेको छ' उनले भने। 

स्थानीय गोम माझीले लामो पुलले अदुवाबारीको मुहारै फेरिएको बताउछन्। यस ठाउँ भिर रहेका कारण पहिला खासै मान्छे नआउने गरेकामा अहिले दैनिक सयौँ मानिस आउँदा पर्यटन र अरू व्यापारका सम्भावना बढेको देखिन्छ।  

पुल खुलेपछि माझीले व्यवसाय सुरु गरेका हुन्। आफ्नो व्यवसाय अहिले राम्रो भएको उनी बताउछन्। पुलको मुखमै उनको पसल छ। माझीले अहिले दैनिक सयौँ मानिसलाई पानी र सामान्य खाजा बिक्री गर्छन्। 

यस क्षेत्रमा व्यावसायिक रुपमा स्विङ पनि सञ्चालनमा ल्याइएको छ। पर्वतको कुश्मा नगरपालिका–१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले यस स्थानमा पर्यटनमैत्री पूर्वाधार निर्माण गरिने बताए। 

प्रकाशित मिति: : 2021-10-16 15:24:00

प्रतिकृया दिनुहोस्