आज कहाँ–कहाँ भारी वर्षा हुन्छ ? पहाडी भेगमा हिमपातको सम्भावना

Image Source : PTI

देशभर आज पनि निरन्तर वर्षा हुने भएको छ। पहाडी र हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अधिकांश भू-भागमा सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ। त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।

सुदूरपश्चिम र प्रदेश १ का केही स्थान र प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने विभागको प्रक्षेपण छ। साथै प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागका अनुसार भोलि बुधबार पनि देशभर पानी पर्नेछ। बिहीबारदेखि मौसम सफा रहनेछ। विभागले देशभर वर्षा र हिमपातको सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

मौसम विभागकाअनुसार हाल बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। जसका कारण आइतबारदेखि नेपालमा वर्षा भइरहेको छ। 

प्रकाशित मिति: : 2021-10-19 06:57:00

प्रतिकृया दिनुहोस्