झापामा ३६१ परिवार विस्थापितः टेलिफोन, बिजुली र विमानस्थल अवरुद्ध 

Photo - Rss
Photo - Rss

दुई दिनदेखि परेको अविरल बर्षाका कारण झापामा ३६१ परिवार विस्थापित भएका छन्। कन्काइ नदी र रतुवा खोलालगायतमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका हुन्।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार कन्काइ नदीले ४ दशमलब ३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन्। कतिपय ठाउँमा टेलिफोन सम्पर्क बिच्छेद भएको छ भने बिजुलीको पोल ढल्दा विद्युत सेवा अवरुद्ध छ।

भद्रपुर विमानस्थल पनि सञ्चालनमा आउन सक्ने अवस्था छैन,’ प्रजिअ तिमिल्सनाले भने, ‘विस्थापितलाई आफन्त, विद्यालय तथा मन्दिरजस्ता सार्वजनिक स्थलमा राखिएको छ।’ उनका अनुसार रतुवा खोलाले दमक–७ स्थित पशुहाटमा रहेका ७ वटा घर बगाएको छ।

खतराको सीमा पार गरेको कन्काइ माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फवाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन भने चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन्।

दमक, भद्रपुर, शिव सताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका बाढीले प्रभावित भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रजिअ तिमिल्सनाले जानकारी दिए।

प्रकाशित मिति: : 2021-10-20 10:55:00

प्रतिकृया दिनुहोस्