कस्तो छ नेपालको शिक्षा?

व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने र श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पुर्‍याउने खालको शिक्षा हुनुपर्छ।

हिमाल खबर

काठमाडौँ

शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो। नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पुर्‍याउने खालको शिक्षा हुनपर्छ। व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने र श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पुर्‍याउने खालको शिक्षा हुनुपर्छ। त्यस दृष्टिकोणले हेर्दा माध्यमिक तहसम्मको हाम्रो शिक्षा विद्यार्थीको व्यक्तित्व विकास गर्ने र सामामाजिक, सांस्कृतिक चेतना उठाउने मात्रमा सीमित छ भन्दा फरक पर्दैन।

उच्च माध्यमिक तहदेखि एउटा सीपको विकास गर्ने किमिमको बजारमुखी शिक्षा दिन खोजिरहेको देखिन्छ। तर, अहिले मूलतः उच्च शिक्षाको लागि तयारी गर्ने अर्थात् एउटा तहबाट माथिल्लो तहको विद्यार्थी तयार गर्ने काम मात्र भइरहेको छ। एउटा तहको पार गरिसकेपछि विद्यार्थी उत्पादन प्रक्रियामा बजारमा वा आर्थिक उन्नतिका लागि उपयोगी भएका छैनन्।

त्यसैले स्‍नातक गरिसकेपछि एमए गर्ने र त्यसपछि अर्को विषयमा एमए गर्ने अथवा त्योभन्दा माथिल्लो तहमा जाने भइरहेका छ। एक किसिमले हेर्ने हो भने त्यही शिक्षा प्रणालीभित्रै ’रिसाइकल’ भइरहेको छ। शिक्षा प्रणालीबाट बाहिर गएर उत्पादनशील क्रियाकलापमा सहभागी बन्न, श्रम बजारमा वा आर्थिक उन्नतिमा टेवा पुर्‍याउने काम भइरहेको छैन।

अहिलेको शिक्षा प्रणाली अनुसार नेपाली पढियो भने नेपालीको मास्टर बन्ने, अंग्रेजी पढियो भने अंग्रेजीको मास्टर बन्ने वा अर्थशास्त्र पढ्यो भने अर्थशास्त्रको मास्टर बन्नेसम्ममा मात्र सीमित छ। यो त एउटा रूखको वरिपरि घुम्ने काम भयो। सामाजिक र आर्थिक विकासलाई अगाडि बढाउने खालको शिक्षा हैन। धेरैजसो 'ह्वाइट कलर जब’ गर्ने वा त्यो पाइएन भने 'ब्राउन कलर जब' गर्ने किसिमको श्रमशक्ति हामी तयार गर्दै छौं। त्यस्तो शिक्षाले देशलाई गरीबीको कुचक्रबाट पार लगाउन सक्तैन।
 

प्रकाशित मिति: : 2021-11-17 10:47:00

प्रतिकृया दिनुहोस्