काँग्रेस महाधिवेशन: डा. सुनीलले पार्टीको चाबी लिन खाेजेपछि माेरङमा संस्थापन इतरका नेताहरू तनाबमा

मोरङमा संस्थापन इतरको टिमलाई उम्मेद्वारको अन्तिम नामावली तयार गर्न सकस परेको छ। संस्थापन इतरका नेताहरूले आफ्नो उप गुट बलियो बनाउन आफ्ना नजिकका ब्यक्तिलाई उम्मेद्वारी दिन लगाएपछि उम्मेद्वारको अन्तिम नामावली तयार गर्न सकस भएको हो। 

निर्वाचनको मिति मङ्सिर १२ गतेलाई तोकिएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार मङ्सिर १० गते मनोनयन दर्ता गर्ने र ११ गते मतदान गर्ने कार्यक्रम थियो। तर, संस्थापन इतरका नेताहरू बीच सहमति नजुटेपछि १२ गते हुने निर्वाचन पनि सर्ने सम्भावना बढेको छ। शनिवार प्रकाशित अन्तिम नामावली अनुसार संस्थापन इतरबाट सभापतिमा डिगबहादुर लिम्बू र यदुकुमार बिष्टको उम्मेद्वारी परेको छ। संस्थापनबाट ( देउवा पक्ष) पूर्व राज्यमन्त्री दिलिपकुमार गच्छदारको एकल उम्मेद्वारी परेको छ।  लिम्बू यस अघि १३ औं महाधिवेशनमा देउवा समूहमा थिए।

देउवाबाट कोइराला – पौडेल समूहमा जम्प गरेपछि लिम्बूलाई उम्मेद्वार नमान्नेहरूको सङ्ख्या बढेको छ। मीनेन्द्र रिजालले मुख नखोले पनि महेश आचार्य र सुजाता कोइरालाले लिम्बू बिरुद्ध बिष्टलाई उभ्याएको बताइन्छ। बिष्ट मोरङ कांग्रेसका पूर्व सचिव हुन्। निष्ठाको राजनीतिलाई मूल नारा बनाएका बिष्टले सहमतिको नाममा चुनाब सार्ने प्रपञ्च रचिए बिद्रोह गर्ने बताएका छन्। उनले शनिबार पत्रकार सम्मेलन गरेर आइतबार मतदान प्रक्रिया अघि बढाउन दबाब दिएका छन्।

सभापतिमा मात्र होइन। सचिवमा समेत संस्थापन इतरबाट पाँच जनाको उम्मेद्वारी परेको छ। निर्वाचन समितिका अनुसार सचिवमा संस्थापन इतरबाट ललित श्रेष्ठ,मोदराज घिमिरे, मनोज बस्नेत, ज्ञानेन्द्र ढकाल र रविन राईको उम्मेद्वारी परेको छ। ललित श्रेष्ठ डाक्टर शेखर कोइरालाको रोजाईका उम्मेद्वार हुन् भने सुनील शर्माको पहिलो रोजाईमा ज्ञानेन्द्र ढकाल परेका छन्। तर, शर्माका नातेदार ज्ञानेन्द्र ढकाल, कोइराला– पौडेल समूहबाट रिङ आउट भइसकेका छन्। डिगबहादुर लिम्बूको गृह नगरका ढकाल मोरङ नेविसङ्घका पूर्व सभापति हुन्।

२०७० सालको दोस्रो संविधान सभाको निर्वाचन ताका एमाओवादी केन्द्रमा प्रवेश गरी  समानुपातिक उम्मेद्वार बनेका ढकाललाई  सुनील शर्मा बाहेक कसैले पनि आफ्नो टिममा राख्न चाहेका छैनन्। अब ढकाल यदु विष्टको  समूहबाट उम्मेद्वार बन्ने सम्भावना बढेको छ।

डाक्टर शर्माको निर्वाचन क्षेत्रका ललित श्रेष्ठ प्रति समेत शर्मा सशंकित छन्।  महाधिवेशन प्रतिनिधि चयन गर्दा श्रेष्ठले  आफूलाई मात्र एक छापे मत मागेको आरोप डाक्टर शर्माको छ। शर्माले आफूलाई धोका दिएको दिएको भन्दै श्रेष्ठको विपक्षमा अभिमत दिन थालेकाछन्। तर, कोइराला समूहका नेताहरूले ललित र मनोज बस्नेतलाई टिममा राख्न दवाब दिइरहेका छन्।

एकथरिले रविन राई र ललित श्रेष्ठलाई आधिकारिक उम्मेद्वार घोषणा गरिरहँदा अर्कोथरीले  रविन र मोदराज घिमिरेलाई आधिकारिक उम्मेद्वार भएको दाबी गरिरहेका छन्। निवर्तमान सभापति समेत रहेका डिगबहादुर लिम्बूको किचन क्याविनेटका मोदराज घिमिरेलाई भने लिम्बूको बाहेक कसैको पनि समर्थन छैन्।

घिमिरे शुक्रबार मनोनयन दर्ता गर्न एक्लै पार्टी कार्यलय पुगेका थिए। यद्यपि डाक्टर सुनील शर्माले  सभापतिका प्रत्यासी यदु बिष्टलाई हराउन  मोरङ –२ मा घिमिरेलाई खटाएको चर्चा चलेको थियो। बिष्टलाई महाधिवेशन प्रतिनिधिमा हराउन सके डिगबहादुर  लिम्बूको सभापति बन्ने बाटो सरल बन्ने डाक्टर शर्माको बुझाई थियो। तर, बिष्ट सर्वाधिक दोस्रो बढी मत ल्याएर निर्वाचित भएपछि शर्माको क्याविनेटमा खैलाबेला चलेको थियो।

उता संस्थापन इतरकै मनोज बस्नेतले कोइराला पौडेल समूहमा नपरे संस्थापन समूहबाट उम्मेद्वार बन्ने सङ्केत दिएका छन्। बस्नेत मोरङ ४ का लोकप्रिय नेता हुन। 
    खासगरी नोवेल मेडिकल कलेजका मालिक सुनील शर्माले नेपाली कांग्रेस मोरङलाई आफ्नो तजविजबाट सञ्चालन गर्न थालेपछि महेश आचार्य लगायतका नेताहरू ‘एन्टी सुनील एन्टी डिगबहादुर’ समूह तयार गर्ने क्रममा देखिएका छन्।

अधिवेशन भन्दा पनि चुनाव जितेर पार्टी कब्जा गर्ने रणनीतिमा डाक्टर शेखर र शर्मा लागेपछि मोरङमा देउवा पक्षको पल्ला भारि हुँदै गएको छ। शनिवार शर्माको खर्चमा अधिकांश क्षेत्रीय प्रतिनिधि बिराटनगरका होटलमा कैद छन्। डाक्टर शर्माले कतिपय महाधिवेशन प्रतिनिधिको समेत मतदान आफ्ना मानिसले गर्ने ब्यवस्था मिलाएका छन्।

शर्मा निकट एक क्षेत्रीय प्रतिनिधिका अनुसार बिराटनगरको एउटा होटलमा ति संदिग्ध प्रतिनिधिलाई राखिएको छ। शर्माले डाक्टर शेखर कोइरालालाई केन्द्रीय सभापति बनाउने,बसन्त भट्टराईलाई केन्द्रय सदस्य बनाउने र उर्लाबारीका नगर प्रमुख खड्गबहादुर फागोलाई प्रदेश १ को सहमहामन्त्री बनाउने दाबी गर्दै आएका छन्।

मोरङ ३ बाट संघीय संसदको चुनाब लडेका डाक्टर शर्माले संस्थापन पक्षका एकजनालाई  चुनाब जित्न दिएनन्। महाधिवेशन प्रतिनिधिमा भुमि आयोगका अध्यक्ष केशव निरौला, मोरङ कांग्रेसका कोषाध्यक्ष गोपाल थापा र प्रदेश सांसद शेखरचन्द्र थापा मात्र होइन, संस्थापन पक्षको बीउ समेत क्षेत्रीय समितिमा आउन दिएनन्। उनको यही रबैयाले संस्थापन इतरको टिम झन झन गहिरो संकटमा पर्दै गएको छ।

यता संस्थापन पक्षका उम्मेद्वार दिलिप गच्छदारले क्षेत्रीय प्रतिनिधिलाई कैदी बन्दीलाई जस्तो थुनेर नराख्न आग्रह गरेका छन्। उनले भनेका छन्– विवेक प्रयोग गरेर मतदान गर्न दिनुपर्छ। पार्टी कब्जाको नीतिले आगामी संसदीय निर्वाचन झनै गह्रौं पर्ने उनको भनाई छ। संस्थापन पक्षले उप सभापतिमा वर्तमान कोषाध्यक्ष गोपाल थापा र  सचिवमा वर्तमान सह सचिव एवं सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाललाई उम्मेद्वार तय गरेको छ।

प्रकाशित मिति: : 2021-11-27 20:44:00

प्रतिकृया दिनुहोस्