चाउचाउको कार्टुनभित्र ५० लाख रुपैयाँ, हुन्डी र सुनसँग कनेक्सन !

Breaknlinks
Breaknlinks

शनिबार दिउँसो सौर्य एयरलाइन्सका एक कर्मचारी स्रोत नखुलेको रकमसहित समातिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सका सहयोगी मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको सौर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको थियो।

विमानबाट आएको भद्रपुर लेखिएको रातो रङ्गको ब्यागमा करेन्ट चाउचाउको कार्टुनभित्र ५० लाख रुपैयाँ भेटिएको थियो। उनले पैसाको स्रोत खुलाउन सकिनन्। अर्थात ५० लाख रुपैयाँ कहाँबाट आयो?

पोखरेललाई प्रहरीले थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा बुझाएको  छ। यही केसमा सौर्य एयरलायन्सका विराटनगरका स्टेशन म्यानेजर प्रकाश पौडेललाई जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार साँझ पक्राउ गरेको थियो। एउटा घटनामा दुई जनाको कनेक्सन हुन सक्ने देखिएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

यसरी प्रहरीले बरामद गरेको अबैध मुद्रा के को लागि प्रयोग भइरहेको? उनीहरुले के प्रयोजनले रकम लिएर नेपाल आएका थिए? त्यो रकम उनीहरुको हो वा अरु कसैको भन्ने प्रश्नको जवाफ प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले मात्र होइन अब यसको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले गर्नेछ। प्रहरीले यस्तो केसमा समातेका मानिसलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण विभागलाई बुझाउनुपर्छ।

२०७७ पुस २० गते ३० वर्षीय अमितकुमार गुप्तालाई यसरी नै समात्यो। भारतको गोरखपुर घर भएका उनलाई बिहान ४ बजेर २७ मिनेटमा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा समातेको थियो।

गुप्ता चढेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको गाडीभित्र राखेको रकम फेला परेको थियो। उनी कपिलबस्तुबाट कारमा काठमाडौं आउँदै गरेका थिए। प्रहरीले विषेश सूचनाका आधारमा उनले स्रोत नखुलेको रकम ल्याउँदै गरेको जानकारी पाएको थियो। त्यही अनुरुप प्रहरीले सुरक्षाकर्मी खटाएको थियो। त्यसैको जालमा अमित परेका थिए।

सुरुमा कारभित्र चेक गर्दा केही फेला परेको थिएन। पछि कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएको रहेछ रकम फेला पारेको हो। कारभित्र रहेका तीनवटा कालो रंगका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटिएको थियो। सबै नोट १ हजारका, कुनै नयाँ त, कुनै पुराना नोटका बन्डल। गुप्ताको शरीर खानतलासी गर्दा थप ८६ हजार रुपैयाँ पनि भेटिएको थियो।

प्रहरीले कार चालकलाई समेत नियन्त्रणमा लिएको थियो। कपिलबस्तु बाँडगंगा नगरपालिका ४ बस्ने २२ वर्षीय संगम थारु उनका चालक थिए। प्रहरीले बरामद गरेको कार भने भाडामा लिएको खुलेको थियो।

प्रहरीले थप अनुसन्धानको लागि रकमसहित दुई जनालाई सम्पत्ति शुद्धीकरण विभाग बुझायो। विभागले अनुसन्धान गर्दा उनीहरु नेपाल सुन किन्न रकम लिएर आएको खुल्यो। विभागले विषेश अदालतमा २ करोड ९२ लाख माग दाबीसहित मुद्दा दायर गर्‍याे।

दुई महिनापछि विभागले गरेको अध्ययनमा सो रकम भारतीय नागरिक अमितकुमार गुप्ता भन्ने अंकित कुमार अग्रवालले अवैध सुन खरिद गर्नका लागि ल्याएको खुल्यो।अग्रवालले सचिन टेवडेवाल भन्ने सचिन कुमार अग्रवालबाट प्राप्त गरी नुर महोमद भन्ने नुरुद्धीन अन्सारीलाई दिइ सुन लिनका लागि साे रकम ल्याएका थिए।

नेपाल प्रहरीले मात्र आर्थिक वर्ष २०७७/७८ मा अबैध अर्थात स्रोत नखुलेको ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ बरामद गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा झन्डै  ७ सय ६ प्रतिशतले बढेको हो। प्रहरीको पछिल्लो तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष अबैध मुद्रा बरामद गर्ने दर बढेको छ। अबैध मुद्रा बरामदबाट हुने राजस्वको मात्रा पनि बढेको छ।

चालु आर्थिक वर्षको पाँच महिनामा ५ करोड ८७ लाख ५५ हजार ५६७ रुपैयाँ संकलन गरिएको छ। जवकी अघिल्लो आर्थिक वर्षको पाँच महिनामा  १ करोड ४९ लाख ६९ हजार ४ सय ९६ रुपैयाँ संकलन गरिएको थियो। तुलनात्मकरुपमा झन्डै २ सय ९२ प्रतिशतले वृद्धि भएको हो।

यसरी अबैध रुपमा बरामद गरेको रकम हुन्डी र सुन खरिद गर्न ल्याउने गरेको देखिएको छ। गत साउन महिनामा न्डीको कारोबार गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ बाट चार जनालाई रकमसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल,  गोगंबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाइ रहेको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए।

उनीहरूको साथबाट प्रहरीले ९२ लाख ९६ हजार रुपैयाँ नगद, ८० लाख ४३ हजार ३ सय रुपैयाँ बराबरको बैंकमा डिपोजिट गएको रसिद र ३६ लाख ८३ हजार ४ सय रुपैयाँको चेक बरामद गरेको हो। प्रहरीले यसरी बरामद गरेको हुन्डीको रकम विदेशमा जाने र विदेशबाट सुन खरिद गरेर अबैध रुपमा तस्करी हुने गरेको छ।

'स्रोत नखुलेका धेरै रकम अबैध गतिविधिकै देखिन्छ। धेरै जसो हुन्डीकै रकम हुने गरेका छन्,' केन्द्रिय अनुसन्धान व्यूरोका डिआइजी धिरजप्रताप सिंहले भने। प्रहरीले यसरी ठूलो मात्रामा बरामद गर्ने अबैध रकमा धेरै जसो मालिक समेत पत्ता लाग्ने गरेका छैनन्।

प्रकाशित मिति: : 2022-01-04 18:12:00

प्रतिकृया दिनुहोस्