उर्लाबारीमा अर्को दुर्घटना, पवन लिम्बूको मृत्यु

purbicommand
purbicommand

उर्लाबारी–७ मा मोटरसाइकल र मारुती भेन ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्।

बेलुका ७ः४० बजेको समयमा ग्राण्ड होटल नजिक पूर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको को १ च ३६४४ नम्बरको मारुती भेन र पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो।

मोटरसाइकलमा सवार उर्लाबारी–४ बस्ने बर्ष २५ को पवन लिम्बू र सोही ठाउँका बर्ष ३२ को हिरण वि.क घाईते भई बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा पवन लिम्बूको उपचारको क्रममा ८ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र भेन ईप्रका उर्लाबारीको नियन्त्रणमा छ। भेन चालक जिल्ला ईलाम चुलाचुली गापा २ बस्ने बर्ष ४५ को वकिल कुमार देवानलाई पनि प्रहरीले नियन्त्रणमा राखेको जनाएको छ।

सडकका भएको खाल्डोबाट जोगिन खोज्दा दुर्घटना भएको स्थानीयले बताएका छन्। सडक मर्मत सम्भार नभएको कारण दुर्घटना भएको भन्दै स्थानीयले आक्रोस समेत पोखेका छन्।

मृतक लिम्बू केहि दिनभित्रमै रोजगारका लागि दुवई जाने तयारी थिए। तर दुर्घटनामा उनको मृत्यु भयो।

यसैगरी,मोरङको उर्लाबारी -३ मंगलबारे स्थित सोल्टी पुलमा विहानै दुर्घटना हुदाँ एकको ज्यान गएको छ।

मोटरसाईकलमा सवार उर्लावारी-७ का निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

आज बिहान करिव ५:३० बजे प्रदेश १-०१०१२प७१५२ नम्वरको मोटरसाईकलमा सवार बानियाँ पश्चिमबाट पूर्वतर्फ जाने क्रममा बिपरित दिशाबाट आईरहेको को२ट ८२९६ नम्वरको ट्याक्ट्ररले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बानियाँ उर्लाबारी स्थित नेपाल दर्शन कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्।

ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का १९ वर्षीय मोहन तामाङलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-01-12 23:04:00

प्रतिकृया दिनुहोस्