यी हुन् ओस्कार अवार्डका लागि छनाेट भएका उत्कृष्ट १० चलचित्र

Photo: Agency
Photo: Agency

हलिउडमा मात्र होइन सम्भवत संसारकै चलचित्रसँग सम्बन्धित हरेक मान्छेहरुको लागि प्रतिष्ठित ऐकेडमी अवार्ड अर्थात् ओस्कार अवार्डको बेस्ट (उत्कृष्ट) चलचित्रकाे लागि सन् २०२१ मा प्रदर्शित १० चलचित्र छनाेट भएका छन्। गत फेब्रुवरी ८ तारिखको दिन सार्वजनिक गरिएकाे यो सूचीमा निम्न १० चलचित्र रहेका छन्। आउँदो २७ मार्चको दिन यसमध्येबाट एक चलचित्रलाई ‘बेस्ट फिल्म’को पुरस्कार प्रदान गरिने छ। प्रस्तुत छ यी १० चलचित्रको छोटो जानकारी:

१. बेलफास्ट

सन् १९६९ मा बेलायतमा भएको आइरिस र इसाई बीचको हिंस्रक दङ्गामा आधारित यो सिनेमामा केही हास्य प्रसंग पनि समावेश छन्। केनेथ ब्रनाघद्वारा लिखित र निर्देशित यो चलचित्रमा केटरियोना बाल्फ़, जूडी डेंच, जेमी डोर्नन, सियारन हिंड्स, कॉलिन मॉर्गन र बालकलाकार जूड हिलले अभिनय गरेका छन्। बालकलाकार हिलको निर्दोष अनुहार र स्वभाविक अभिनयले दर्शकको मन छुन्छ।

२. कोडा

आवाज सुन्न नसक्ने एक किशोरी र उसले जीवनमा भोग्नु परेकाे दु:खलाई प्रस्तत गर्ने याे चलचित्र हेर्दा धेरै दर्शककाे आँखा रसाउँछ। सियान हेडकाे लेखन र निर्देशनमा बनेकाे याे चलचित्रमा एमिलिया जोन्स, ट्रोय कोट्सर, मार्ली मतलिन, युयनियो डर्बिजकाे अभिनय रहेकाे छ। 

३. डोन्ट लुक अप

विज्ञानकाेे कथामा आधारित यो चलचित्रमा विस्तारै पृथ्वी खत्तम हुँदैछ। तर, यो कुरालाई कसैले विश्वास गर्दैनन् भन्ने कुरा यस चलचित्रमा रमाइलाे तरिकाले प्रस्तुत गरिएको छ। एडम मक्कैयद्वारा निर्देशित यो चलचित्रमा लियोनार्डो डि किप्रियो, जेनिफर लरेन्स, मेरिल स्ट्रिप्सलगायत सुपर स्टार अभिनित यो चलचित्र हास्यरसमा आधारित छ।

४. ड्राइभ माइ कार

जापानिज भाषाबाट अंग्रेजीमा डब गरिएको यो चलचित्र रयुसुके हामागुचीले निर्देशन गरेका हुन्। एक आपसमा अत्यन्तै प्रेम गर्ने एक दम्पतीमध्ये श्रीमतीको मृत्युपछि श्रीमानले भोग्ने मानसिक पीडालाई दर्शाइएकाे यो सिनेमाको एक–एक फ्रेम भावप्रधान छ। यो चलचित्रमा जापानका ख्यातिप्राप्त कलाकारहरु हिदोस्ती निसिजामा, टोको मियुरा, रिका किसिनामा आदिले अभिनय गरेका छन्।

५ . ड्यून

विज्ञान कथामा आधारित यो चलचित्र प्रसिद्ध उपन्यासकार फ्रैंक हर्बर्टको उपन्यासमा आधारित छ। डेनिस विल्लेनुवीद्वारा निर्देशित यो चलचित्रमा तिमोथी चेलमेट, रेबेका फर्ग्युसन, ओस्कार इसाक आदि कलाकारहरुले अभिनय गरेका छन्।

६. किङ्ग रिचर्ड

एक पिताले आफ्नी छोरीहरुको लागि गर्ने त्यागको कथामा निर्माण भएको यो चलचित्र एक वायाेपिक हो। यसको प्रमुख भूमिकामा विल स्मिथले अभिनय गरेका छन्। प्रसिद्ध टेनिस खिलाडी वीनस और सेरेना विलियम्सका पिता र टेनिस कोच रिचर्ड विलियम्सको जीवन कथा रहेको यो चलचित्रमा स्मिथको साथ् विनास र सेरेना विलियम्सको साथै जन बेन्थलले पनि अभिनय गरेका छन्। यो चलचित्रका निर्देशक रिनाल्डो मार्कस ग्रीन हुन्।

७. लिकोरिस पिज्जा

अमेरिकाको परिवेश र दैनिक जीवन बुझेकाे मान्छेलाई सुरुदेखि अन्तसम्म अति नै रमाइलो लाग्ने यो चलचित्र पूर्ण हास्य चलचित्र हो। पल थोमस एन्डरसनद्वारा लिखित र निर्देशित यो चलचित्रमा एलेना हेम, कुपर होफम्यान, सिन पिन, टम वेट्स, जेम्स केल्ली आदि कलाकारहरुले अभिनय गरेका छन्।

८. नाइटमेयर ऐले

यो एक यौन मनोविज्ञानमा आधारित सस्पेन्स, थ्रिलर चलचित्र हो। गुइलेरमो डेल टोरोद्वारा निर्देशित यो चलचित्रमा ब्रेडली कुपर, केट ब्लेचेण्ट, रुनी मारा, टोनी कोलेट अभिनित यो चलचित्रमा अमेरिकाको अपराध दुनियाँलाई देखाइएको छ। मुटु हल्लाउने एक्सन र सुन्दरी नायिकाको नग्न दृश्यले यो चलचित्रलाई ग्ल्यामर्स बनाएको छ।

९. द पावर अफ द डग

सन् १९२५ को कथा रहेको यो चलचित्र मनोवैज्ञानिक कथामा आधारित छ। मानवीय सम्बन्धलाई नजिकबाट देखाउन खोजिएको यो चलचित्रको निर्देशक जेन केम्पियन हुन्। उपन्यासकार थमस सेबेजको सन् १९६७ मा प्रकाशित र बेस्ट सेलर रहेको यसै नामको उपन्यासमा आधारित यो चलचित्रमा बेनेडिक्ट कम्बरबेच, किस्टन डस्ट, जेसी प्लेमोस, पल डानो आदिले अभिनय गरेका छन्।

१०. वेस्ट साइड स्टोरी

संगीतप्रधान प्रेम कथामा निर्माण भएको यो चलचित्रको निर्देशक स्टिबन स्पिल्बर्ग हुन्। अपराधी समूहको एक सदस्य नायक र धनाढ्य घर कि छोरी नायिका भएको यो चलचित्र हिन्दी चलचित्रजस्तै लाग्छ। आफ्नो प्रेम सफल बनाउन नायक र नायिकाले गरेको संघर्ष नै यो चलचित्रको कथा हो। रेचल जेग्लर, एन्सेल एल्गोर्ट, एरियाना डेबोस, मेडी जेग्लर आदिले चलचित्रमा अभिनय गरेका छन्।

प्रकाशित मिति: : 2022-02-15 19:12:00

प्रतिकृया दिनुहोस्