कसरी बन्ने ‘पावरफुल’ ?

एक मान्यबर छन्। उनको ठूलो गुनासो छ, मलाई कसैले गन्दैन अर्थात् आफ्ना नजिकका मान्छेहरुले वास्ता गर्दैनन् वा गम्भीर रुपमा लिने गर्दैनन्। उनको कुरालाई पंक्तिकारले ‘कसैले नगने पनि हरेक दश वर्षमा जनगणना गर्न आउने गणकले गन्छ’ भनेर व्यङ्ग्य हान्छ। तर, यो कुरा वास्तवमै गम्भीर छ।

आफ्नो वरिपरिको मान्छेहरुले आफ्नो बिचार र क्रियाकलापलाई कत्तिको गम्भीर रुपमा लिन्छ वा हावा मा उडाइदिन्छ, त्यसले कुनै पनि व्याक्तिकाे पूर्ण व्यक्तित्वमा फरक पार्छ। सबैलाई आफ्नो कुरा अरुले सुनेको र स्वीकार गरेको नै मनपर्छ। यद्वपी कसै कसैले ‘अरुले जे भने पनि मलाई फरक पर्दैन’ भनेर चित्त बुझाउने गरेका हुन्छन्। तर, त्यो कुनै सिद्ध पुरुष बाहेकको हकमा बाहेक जबर्जस्ती आफ्नो चित्त बुझाउनु मात्र हो। अलि गहिरिएर हेर्ने हो भने आफूलाई अरुले गन्दैन भन्ने समस्या प्राय: सबैमा हुनसक्छ।

अरुलाई आफूप्रति आकर्षित गर्न प्रत्येक व्यक्तिमा शक्ति अर्थात् पावर हुनु जरुरी छ। यहाँ शक्तिको अर्थ कुनै उच्च पदको कुर्सी प्राप्त गर्नु नभएर आफू भित्रको शक्तिको बारेमा बोल्न खोजिएको हो। मनोवैज्ञानिक रबर्ट ग्रीनले आफ्नो पुस्तक ‘द फोर्टी एट ल अफ पावर’मा यस्तै मनोविज्ञानिक शक्तिको बारेमा उल्लेख गरेका छन्, जुन कुरा आफूमा लागू गर्न सकियो भने अन्य मान्छेहरुले आफ्नो कुरालाई गम्भीरतापूर्वक लिन्छन्। यहाँ ग्रीनको ४८ मध्ये मुख्य–मुख्य बुँदाहरुलाई केलाउने प्रयास गरिएको छ:

पहिलो, तपाईंसँग क्षमता र योग्यता भएर तपाईंले जति राम्रो काम गरे पनि कसैले तपाईंको मुल्याङ्कन गर्दैन। हाम्रो समाजमा भएको ‘हिन्ने गोरुको पुच्छर निमोठ्ने’ भनेको जस्तै जसले काम गर्छ, उसको गल्ती मात्र देखिन्छ। जसले काम ठगेको हुन्छ, उसले काम पनि गर्दैन र गल्ती पनि हुँदैन। त्यसैले आफ्नो क्षमता र अपरिहार्यता देखाउन अरुलाई आफ्नो कमी महसुस गराउन जरुरी छ। त्यसैले समय–समयमा काम बाट लामो छुट्टी लिनुपर्छ। जब तपाईं त्यहाँ हुनुहुन्न त्यसपछि मात्र तपाईंको सम्झना आउँछ।

दोश्रो, सकेसम्म हरेक कुरामा प्रथम हुनुहोस्। त्यो उत्तम हो तर यो भनेजति सरल र सहज छैन। यदी तपाईं उत्कृष्ट हुन् सक्नुहुन्न भने भीडभन्दा छुट्टै हुनुहोस्, सायद यो त्यती कठिन काम होइन। भीडबाट छुट्टै हुन् काममा मात्र होइन अरु सँग को व्यवहारमा मा पनि लागू हुन् त्यती नै जरुरी छ।

तेश्रो, आफ्नो गोप्य कुरा केही विश्वासप्राप्तहरुसँग बाहेक कसैसँग चर्चा नगर्नुहोस्। आफ्ना भावी योजनाहरु अरुलाई बताउने गर्नुभयो भने त्यसबाट फाइदाभन्दा बेफाइदा नै हुन्छ। हाम्रो समाजमा कोही–कोही अरुलाई प्रभावित पार्न नक्कली योजनाहरु भनेर गफ दिन्छन, जब लामो समयसम्म त्यो योजनाले मूर्त रुप लिएको हुन्न त्यपछि अर्को मान्छेले तपाईंलाई बम्क्फुसे सोच्छ र तपाईंलाई गम्भीरता पूर्वक लिँदैन।

चौथो, आवश्यकता भएको ठाउँमा आवश्यक कुरा मात्र बोल्नुस्। यदी कोही सङ्गीतको बारेमा गलत बोल्दैछ तर तपाईंलाई त्यसले गलत बोलेको लाग्यो भने पनि तपाईंलाई नसोधेसम्म नबोल्नुस्। हाम्रो समाजमा कसैले कुनै कुरा गर्न लाग्यो भने त्यसको भन्दा मलाई बढी जानकारी छ भन्ने प्रमाणित गर्न बिचमा प्वाक्क बोल्ने चलन छ। यो बानी निकै घातक पनि हुनसक्छ। भावनामा बगेर बोलेको कुराले पछि निकै ठूलो समस्या खडा गर्न पनि सक्छ।

पाँचौ, तपाईंलाई अरुलाई जित्नु छ भने आफ्नो कामले जित्नुहाेस्। कसै–कसैलाई हरेक कुरामा अरुभन्दा जानकार छु भने प्रमाणित गर्न हरेक कुरा मा जित्नैपर्छ। एउटा कुरा सम्झिनुस् तपाईंले बहस गरेर जिते पनि तपाईं त्यो मान्छेसँग हार्नुहुन्छ। यसैले तपाईंलाई आफूसँग विश्वास छ भने काम गरेर देखाउनुस् त्यसलाई सबैले स्वीकार गर्छन र गर्नैपर्छ।

छैठौं, कसैलाई पनि सतप्रतिसत विश्वास नगर्नुस्। धोका त्यसैले दिन्छ जसलाई विश्वास गरिएको हुन्छ। आँखा चिम्लेर कसैमाथि विश्वास गर्नु उचित होइन। सकेसम्म साथी र नातेदारहरुमाथि धेरै विश्वास नगर्नुस्। यदी धोका खाइयो भने यिनीहरु बाटै खाइन्छ।

सातौँ, मान्छेअनुसार व्यवहार गर्नुस्। मान्छेअनुसार साम, दाम, दण्ड, भेद अपनाउन सक्यो भने राम्रो हुन्छ। यो संसारमा विभिन्न किसिमका मान्छेहरु हुन्छन र उनीहरु सँग त्यसैअनुसार व्यवहार गर्नुपर्छ।

आठौँ, अरुको अगाडि आफूलाई केही नजानेको प्रमाणित गर्नुस्। यदी त्यो मान्छे सच्चा ह्रदयको छ भने त्यसले तपाईंलाई नीच देखाउने कोशिस गर्दैन तर त्यो मान्छे घटिया छ भने त्यसले तपाईंलाई तल्लो स्तरको प्रमाणित गर्न खोज्छ। यो पृथ्वीमा सर्वगुण सम्पन्न कोही नहुने भएको कारण कुनै कुरामा कसैलाई ज्ञान छैन भने उसलाई जिस्काउने र होच्चायाउने गर्ने मान्छे गलत प्रवृतिको हो।

नवाैँ, आफ्नो प्रतिष्ठा अर्थात् ‘रेपुटेसन’लाई सबैभन्दा माथि राख्ने प्रयास गर्नुस्। यो संसारमा हजारौं प्रकारका फोन छन् तर सबैले आइफोन कै इच्छा किन राख्छन ? किनकी यो फोन बलियो र राम्रो हुन्छ भन्ने जनमानसमा रेपुटेसन छ। यदी समाजमा तपाईंको रेपुटेसन राम्रो भयो भने सबैले तपाईंलाई राम्रो दृष्टिले हेर्छन्।

दशौँ, अरुलाई यस्तो व्यवहार गर्नुस् जस्तो तपाईं अरुबाट चाहनुहुन्छ। अरुलाई अपमान गरेर त्यो मान्छेबाट मान खोज्नु मुर्खता मात्र हुन्छ।

एघारौं, समाजमा आफूलाई बिनम्र र असल देखाउन चाहिने भन्दा बढी झुक्नु पनि राम्रो होइन। सबैलाई सम्मान गर्नुस् तर आफूलाई चित्त नबुझेको कुरा राम्रो शब्दमा राख्न अफ्ठयारो नमान्नुस।

तपाईंहरु पनि यी उपाय अपनाउने हो कि ?

प्रकाशित मिति: : 2023-03-14 06:42:00

प्रतिकृया दिनुहोस्