बेरोजगारका लागि म्यादी प्रहरी एक अवसर हो: एसपी मैनाली [भिडियो]

स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आइतबारदेखि आवेदन दिनेको भीड लाग्न थालेको छ। 

नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्नाका लागि खुलाएको आवेदनमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्ति सहभागी हुन सक्ने महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनाली जानकारी दिए। 

उनका अनुसार फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिक रुपले तन्दुरुस्त, साधारण लेखपढ र नेपाली नागरिक भएकाहरुले आवेदन दिन सक्नेछन्।

‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकाहरुलाई प्राथमिकता दिइने छ’ उनले भने। 

म्यादी प्रहरीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३०२४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७२०० एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी सुविधा निर्धारण गरिएको बताउँदै उनले भने, ‘बिमालगायत अन्य सुविधा सरकारले गर्नेछ।’

म्यादी प्रहरीमा छनोट भएकाहरुले प्रहरी जवानले जस्तो तालिम गर्नुपर्ने उनले बताए। ‘म्यादी प्रहरी बन्ने भएपछि प्रहरी जवानले गर्ने तालिम गर्नुपर्छ’ उनले बिएल नेपालीसगँ कुराकानी गर्दे भने, ‘तर प्रहरीले गर्नुपर्ने सबै तालिम गर्नु पर्देन।’

६ गतेदेखि म्यादी प्रहरीको लागि खुलेको आवेदन ११ गतेसम्म रहने उनले बताए। ‘१५ गतेदेखि छनोट कार्य सुरु हुन्छ, २२ गते नतिजा प्रकाशित हुन्छ’ उनले भने, ‘२८ गतेदेखि छानिएका प्रहरी चुनावमा खट्न थाल्ने छन्।’

बेरोजगाार भएका मानिसका लागि म्यादी प्रहरी एउटा राम्रो अवसर भएको उनको भनाई छ। 
 

प्रकाशित मिति: : 2022-03-21 13:45:00

प्रतिकृया दिनुहोस्