अचानक फुरेकाे साहित्य नै असली सिर्जना हाे : गीतकार बस्न्यात (अन्तर्वार्ता)

लामो समय तत्कालीन शाही नेपाली सेना (हाल: नेपाली सेना)मा कार्यरत रबिमान सिंह बस्न्यात कुशल शब्द शिल्पी पनि हुन्।

हाल क्यानडामा बसोबास गर्ने बस्न्यात नियमित रुपमा गीत तथा कविता समेत लेख्दै आएका छन्। राष्ट्र्र प्रेमका कविता तथा हल्काफुल्का मनोरञ्जक गीत लेख्ने बस्न्यातको ‘सुन माकुरी’ बोलको गीत हालै सार्वजनिक भएको हो। यो आलेख तयार पारुञ्जेलसम्म युट्युबमा १६ लाखभन्दा बढीले हेरेको सो गीतका सर्जक बस्न्यातसँग बिएल नेपाली सेवाका लागि नवीन रायमाझीले गरेको कुराकानीको रोचक अंश प्रस्तुत छ:-


गीत वा कविता के को लागि लेख्नुहुन्छ ?

एकै शब्दमाभन्दा सोख हो। मनमा उत्पन्न विभिन्न अनुभूतिहरुलाई कविता, गीत, मुक्तक र लेख आदि/इत्यादिको ढाँचामा कलात्मक प्रस्तुति गर्ने प्रयास हो। म कुनै व्यवसायीक कवि/गीतकार हाेइन, विद्यार्थी बन्ने प्रयत्न चाहिँ पक्कै हो।

तपाईंका कवितामा शब्द गम्भीर र गीतमा हल्काफुल्का हुनुको रहस्य के हो ?

कविता र गीत फरक–फरक विषय नै भइहाल्याे। कविता कोर्दा विषय वस्तुलाई ध्यानमा राखेर भावनाहरु फुटकर र विचारपूर्ण गहन परिकल्पनालाई स्वछन्द वा पध्यात्मक वा गध्यात्मक लययुक्त बनाउने प्रयास गर्छु। गीतको बारेमा मेरो बुझाइ– यो आम मानिसको लोकमत प्राप्त गर्ने साहित्य नै रहेछ। हाल नेपाली गीत संगीतको आकाशमा मनोरञ्जनात्मक गीत/संगीतको बोलवाला रहेको र मुखमा झुन्डीने क्याची शब्दहरु नै प्राय: स्रोताहरुको माझ सदाबहार हुने आकर्षणको लपेटमा गीत/संगीतको त्यो पाटोलाई समेटन मैले चेष्टा गरेको मात्र हो।

मेरा केही गीतहरु ‘मनमा नेपाल’, ‘सिपाही’, ‘मिर्मिरको बिहानी’, राष्ट्रभाव र वीरगाथालाई समेटेर बनाएको पनि छु। ‘सिपाहीको आमा’, ‘आजफेरि’ ‘पृथ्वीपथ’, ‘बिसे नगर्ची’, ‘नारी’ ‘यार्सागुम्वा’ केही सत्य र केही परिकल्पना साध्यमा मिश्रित गीतहरुको गृहकार्य गरिरहेको जानकारी गराउँछु।

तपाईं सृजना गर्नकै लागि समय दिनुहुन्छ वा अचानक फुर्छ ?

दुबै। तर, मेरो विचारमा अचानक फर्नुनै असली सिर्जना हो। निरन्तर अभ्यास र साधानाबाट मात्र प्राप्त हुने रहेछ। एकाग्र हुन जरुरी छ।

आफ्ना सिर्जनाहरुको शब्द चयनमा इमान्दार हुनुहुन्छ ?

लामो समय साहित्य सिर्जनाका अग्रज, पेशेवर स्रष्ट्रा, हस्तिको विचारहरुको सारांस चाहिँ नेपाली शब्दकोश सानो र पर्यायवाची शब्दहरुको कमी, त्यो कमी पूरा गर्न रचानात्मक हुन अत्यावश्यक रहेछ भन्ने लाग्यो। हल्का वा साधारण शब्द भए पनि भावहरु अभिधाभन्दा लक्ष्यणा र व्यञ्जना युक्त शब्द अलाङ्कारमा माधुर्य हुने हुँदा त्यसैमा ध्यान दिएर पछ्याउने कोसिसमा रहेको हुँदा इमान्दार नै छुजस्तो लाग्छ।

तपाईंको हालैको गीतमा महिलालाई ‘माकुरी’ र ‘लोखर्केले उफ्रेर म्वांइ खाला’ जस्ता शब्दहरुले महिलाप्रतिको सम्मानमा कमिभयो जस्तो लाग्दैन ?

पटक्कै लाग्दैन, खुसीको कुरा स्रोताहरुले यो गीतलाई रुचाइदिनुभयो। गीत चल्यो पनि। नेपालमा लामाे समय ट्रेन्डिङमा बस्याे। यो विशुद्ध ठट्टामस्करी गीत हो। नारी वा महिलाप्रतिको मेरो सम्मान र भावना गीत ‘नारी’ अवश्य छिट्टै लिएर आउने छु। त्यो गीतको चारपंक्ति यस्तो छ।

नारी नै जुनेली सृष्टिको सितारा 

नारी नै ऐश्वर्य भाग्यको पिटारा 

सौन्दर्यको बिम्ब प्रेमको पुजारी 

ममताको प्रतिबिम्ब हो, नारी

अचेल गीत मात्रैले पुग्दैन, त्यसको म्युजिक भिडियो पनि निर्माण गर्नुपर्छ। त्यसको लागि लाग्ने ठूलो लगानी उठाउनु हुन्छ ?

गीत कुन प्रयोजनका लागि बनाएको त्यसको सफलता नाप्ने विधि फरक हुन सक्छ। व्यवसायी दृष्टिकोणले राम्रो गीत/संगीत भएमा, लगानीकर्ताले मन पराएमा लगानी गर्ने वातावरण पनि रहेछ, हाम्रो म्युजिक ईन्ड्रष्टीमा। त्यही भएर खुसी नै छु। कतिपय काम टिममा पनि हुन्छ। आफ्नो रोल प्ले गर्दै अनुभव बटुलिरहेछु।

गीत बज्ने र टेलिभिजनहरुमा प्रसारित हुने प्रक्रियामा आफ्नालाई च्याप्ने र अर्कालाई टिकनै नदिने चलनबारे तपाईंको विचार के छ ? के तपाईंले आफूले यस्तो समस्या भोग्नुभएको छ ?

समस्यालाई खोतल्ने हो भने लामो लिष्ट नै तयार हुन्छ, सर। प्राविधिक र पेसेवर कारणले काम ढिला भयो भने चाहिँ नमज्जा लाग्ने रहेछ। मेरो एउटा गीत ‘मनमा नेपाल’ नेपाल टेलिभिजनबाट प्रसारण हुन्छ, त्यसैमा खुसी छु। मार्केटिंङ गर्ने कोसिस पनि खासै गरेको छैन।

सैनिकहरु कठोर हुन्छन भन्ने चलन छ तर कविता र गीत संवेदनशील मनले लेखिन्छ। यो दोहरो खुबी कसरी भयो ?

सैनिकको मन कठोर हुँदैन सर, गलत हो सर। सैनिकले पेशागत जिम्मेवारी बहन गर्दा कठोर बन्नुपर्ने परिस्थिति आइपर्छ। र, त्यो सामाना गर्न : Military strategies, Military psychology को शारीरिक, मानसिक, व्यवसायिक तालिमबाट तयार गरिएको मात्र हुन्छ। हरेक व्यक्तिको अलग–अलग रुचि हुन्छ। पोयट्टी मेरो रुचिको बिषय पनि हो, त्यसलाई विभिन्न माध्यमद्वारा तन्काउने कोसिस मात्र हो। सम्भव भएसम्म प्रयत्नशील छु।

अन्तमा गीतबाट आर्थिक उपार्जन भएको छ कि केवल साेख मात्र हो ?

सोख मात्र हो। व्यवसायीक गीतकार पनि हाेइन। आर्थिक उपार्जन पनि छैन। माथि केही कुरा यस विषयमा राखिसकेको छु। तर, गीत लेखनबाट आर्थिक लाभ प्राप्त गर्ने सर्जकहरु यो ईन्ड्रष्टीमा नभएको चाहिँ होइन, हुनुहुन्छ।

प्रकाशित मिति: : 2022-04-02 17:54:00

प्रतिकृया दिनुहोस्