कोहलपुरमा चुनावी सरगर्मी, यी हुन् मेयरका आकांक्षी

Breaknlinks
Breaknlinks

आगामी स्थानीय तहको निर्वाचनको लागि कोहलपुरमा उम्मेदवारहरुको विषयमा निकै चर्चा हुन थालेको छ। कोहलपुरका चिया पसल, चोक, होटल तथा रेष्टुरेण्टमा कुन पार्टीबाट को उम्मेदवार बन्लान् ? भन्ने विषयमा निकै चर्चाको हुन थालेको छ।

अहिलेको मेयरमा युवा पुस्तालाई दिनुपर्छ भन्ने सोचका मानिसहरुको निकै ठूलो जमात छ। भने, अर्कोतिर पार्टीलाई नै जिताउनुपर्छ भन्ने सोच भएका मानिसहरुको पनि उत्तिकै जमात छ। अब कोहलपुरमा कुन पार्टीबाट कसलाई उम्मेदवार दिएपछि जित्ला वा कसकाे बढी लोकप्रिय छ, भन्ने विषयमा दिनप्रति दिन बजार तातिरहेको छ।

बाँकेका ८ पालिकाहरुमा मुख्यदलहरुले चुनावी गतिविधिलाई तिव्रता दिइरहेका छन्। सबै पार्टीहरुले आ-आफ्नो नगरदेखि वडा कमिटी हुँदै टोल कमिटीहरुको विस्तार तथा जनवर्गीय संगठनहरुको जुर्मुराउन थालेका छन्।

लुम्बिनी प्रदेशका ३२ नगरपालिका मध्ये बाँकेको कोहलपुर नगरपालिकाका तीन प्रदेशको ट्रान्जिट प्वाइन्टमा रहेको छ।

कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको मुटुको रुपमा चिरपरिचित रहेको नगरपालिका हो, कोहलपुर नगरपालिका। कोहलपुरकोे आगामी निर्वाचनबाट नयाँ मेयर बन्न दर्जनभन्दा बढी नेताहरु दौडधुपमा छन्। केन्द्रदेखि स्थानीय तहसम्म पार्टीबाट आधिकारिक उम्मेदवार बन्न सबैले लबिङ्ग गरिरहेका छन्। तर, केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहमा सत्ता गठबन्धन र प्रतिपक्षले समेत अन्य दलहरुसंग गठबन्धन गर्ने सम्भावना त्यत्तिकै रहेकाले चुनावी समीकरण कस्तो बन्छ र कुन पालिकामा कुन पार्टीको उम्मेदवार हुन्छ, त्यो हेर्न बाँकी नै छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राप्रपाबाट दर्जनभन्दा बढी कोहलपुरको मेयरको आकांक्षी देखिएका छन्।

यस्तै कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसभित्र ६ जनाले आकांक्षी देखाएका छन्। जसमा पूर्ण आचार्य, भानुभक्त भट्टराई, सञ्जु चौधरी, बलराम शर्मा, चिन्तामणि धिताल र चक्र अधिकारी रहेका छन्। तर, अन्तिम कसले मेयरको टिकट ल्याउँछ, त्यो हेर्न बाँकी छ।

कोहलपुरमा युवा पुस्ता पूर्ण आचार्यको चर्चा अलि बढी नै देखिन्छ। उता उपमेयरमा सञ्जुकुमारी चौधरीले पनि २०७४ सालको चुनावमा १० हजार बढी मत ल्याई विजय भएकी थिइन। तर, उनको न्यायिक समितिमा भएको बेलामा केही विवाद तथा जग्गाका सीमा विवादका कारणले गर्दा चुनावमा केही धक्का पुग्ने देखिएको छ।

यस्तै एमालेमा पनि ९ जनाले मेयरको आकांक्षी देखाएका छन्। अन्य पार्टीभन्दा बढी विवाद भएको पार्टीको रुपमा पनि एमाले चिनिन्छ। कोहलपुरको मेयरको आकांक्षी बसन्ती अधिकारी, खिलप्रसाद भुसाल, नरेन्द्र शर्मा, गोपाल गिरी, कर्णबहादुर थापा, टिपी न्यौपाने, कुलबहादुर शर्मा, रेशम खत्री, बलराम भट्टराई रहेका छन्।

पछिल्लो एमालेमा बसन्ती अधिकारी र खिलप्रसाद भुसालले बिचको ट्क्रावले गर्दा एमालेलाई निकै ठूलो धक्का पुग्ने देखिन्छ। तर, नरेन्द्र शर्मा र गोपाल गिरीले पनि आ– आफ्नो मेयरमा दाबी गरिरहँदा कर्णबहादुर थापाले भने नगरपालिकाको सभाहलबाट नै मेयरको घोषणा गरेका थिए। टिपी न्यौपाने, कुलबहादुर शर्मा, रेशम खत्री र बलराम भट्टराई समेत आन्तरिक क्षेत्रबाट कोहलपुरको मेयरमा आकांक्षी देखिएका छन्। तर, कसले कोहलपुरको मेयर पाउने भन्ने अझै हेर्न बाँकी नैै छ। अहिलेका मेयर लुटबहादुर रावत पुनः मेयरमा आकांक्षी नभएपछि यस्तो विवाद र्सिजना भएको हो।

यस्तै नेकपा (माओवादी केन्द्र)मा भने कुनै विवाद छैन। माओवादी केन्द्रमा नरेन्द्र न्यौपाने मेयरको टिकट ल्याउनेमा कार्यकर्ताहरु पूर्ण रुपमा सहमत देखिन्छन्। नरेन्द्र न्यौपाने लकडाउनमा निकै सहयोग गरेको भन्दै कार्यकर्ताहरुले उनलाई निकै प्रभावकारी र प्रभावशालिन नेता मान्छन्।

लकडाउन भएको बेलामा सबैको घर–घरमा चामलदेखि नून तेललगायत कोरोनाको बेलामा शव व्यवस्थापनसम्मको काम गरेकै कारणले उनलाई राम्रो मानिएको ठानिएको छ। उनले कोहलपुरमा सुकुम्बासीहरुलाई लालपूवर्जा उपलब्ध गराउनका लागि केन्द्र, प्रदेश र स्थानीय तहसम्म पहलकदमी राम्रै गरेको देखिन्छ।

नरेन्द्रले गर्दा १ सय ३७ जना सुकुम्बासीहरुले लालपूर्जा पाएका छन्। यति मात्र होइन उनकै पहलमा नापी र मालपोत कार्यालय कोहलपुरमा आउने भएपछि कोहलपुरका जनताले नरेन्द्र न्यौपानेलाई एकलौटी रुपमा जिताउनुपर्ने संकेत सत्ताभित्र र बाहिरका पार्टीहरुले देखाएका छन्। तर, उनले गरेको कामप्रति कोहलपुरका जनताले के कस्तो परिमाण देखाउँछन, त्यो हेर्न भने बाँकी छ।

यस्तै एकीकृत समाजवादीमा पनि दुई जना मेयरमा आकांक्षी देखिएकी छिन्। जसमा नारायणी वली र मञ्जु कोइराला रहेकी छिन्। उनीहरुको बिचमा पनि विवाद देखिएको छ। २०७४ सालको निर्वाचनमा नारायणी वली निर्वाचित भएकी थिइन्। उनी अहिले कार्यपालिका सदस्य हुन्। तर, कोहलपुरको मेयर पदमा चुनाव कसले जित्ला ? त्याे भने हेर्न बाँकी छ।

राप्रपाबाट अर्जुनजङ्ग शाहको मेयरमा आकांक्षी देखिएका छन्। उनलाई कार्यकर्ताहरुले पनि उनलाई नै समर्थन गरेका छन्। उनी राप्रपा कोहलपुर नगर पार्टीको अध्यक्ष हुन्।

यस्तै नेपाली काँग्रेसका सक्रिय सदस्य देवानन्द अर्याल। उनी अहिले स्वतन्त्र उम्मेदवारको रुपमा कोहलपुरको मेयरमा दाबी गर्दै चुनावी प्रचारप्रसारमा दौडिँरहेका छन्। तर, नेपाली काँग्रेसले बागी उम्मेदवार रुपमा लिएको छ। उनी फेरि नेपाली काँग्रेसमा फर्किने सक्छन भन्ने आंकलन गरिएको छ। उनको मनसाय भनेको पार्टीभित्रको गुटबन्दी कै कारणले अहिले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचारप्रसार गरिरहेको देखिन्छ।

यस्तै ठूला दलहरुले मेयरमा धेरै आकांक्षी देखाएपछि साना दलहरु जस्तै राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी पर्ख र हेरको स्थितिमा छन्। मेयरका आकांक्षीहरुको चर्चा सुनिएको छैन।

प्रकाशित मिति: : 2022-04-03 18:25:00

प्रतिकृया दिनुहोस्