स्थानीय तह चुनावका लागि मतपत्र छपाइ सुरू

वैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ।निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको हो।

आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ भने एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन।

यसअघि आइतबार एक लाख ८० हजार थान नमुना मतपत्र छापेको थियो । नमुना मतपत्र छाप्ने कार्य सफल भएसँगै जनक शिक्षाले थप मतपत्र छाप्ने काम तीव्रताका साथअघि बढाएको उनको भनाइ छ ।

आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।

राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन्। आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने बताएको छ।

प्रकाशित मिति: : 2022-04-04 16:56:00

प्रतिकृया दिनुहोस्