मेचीनगरकाे मेयरमा काँग्रेसबाट काे–काे छन् आकांक्षी ?

आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखका पदकाे लागि आकांक्षीहरू दाैडधुप सुरु भएको छ। साेही अनुसार विभिन्न राजनीतिक दलहरू उम्मेदवार चुन्ने कसरतमा जुटेका छन्।

नेपाली कांग्रेसबाट पनि कसले उम्मेदवारी दिने भन्ने विषयकाे चर्चा सुरू भएकाे छ। स्वयंम आफैले घाेषणा नगरे पनि आकांक्षा प्रस्तुत हुन थालेको देखिन्छ। यसअघि मेयर पदमा विजयी भएकाे कांग्रेसले यसपटक पनि रामै छवि भएका व्यक्तिलाई उम्मेदवार बनाएर आफ्नाे साख: जाेगाउन चाहन्छ। यसकै लागि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा केही दिनदेखि झापामै छन्।

नेपाली काँग्रेसका वर्तमान झापा जिल्ला उपसभापति केशवराज पाण्डेकाे मेचीनगरकाे मेयरमा उम्मेदवारी दिने चर्चा चलेकाे छ। नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, पूर्व क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती पनि टिकटको दौडमा छन्।

नेपाली काँग्रेसका महिला नेतृहरु राधा कार्की, विना तामाङको नाम भने उपप्रमुखको टिकटको दौडमा रहेकाे बुझिएको छ। जनताको चहानाअनुसार आफूहरुले पालिका उप–प्रमुखमा उम्मेदवारी दिन लागेको बताउँदै आएका छन्।

अघिल्लो निर्वाचनमा नेपाली काँग्रसकातर्फबाट केशवराज पाण्डे प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’मा एमालेका श्रीप्रसाद मैनालीसँग पराजित भएका थिए। मैनालीले पाण्डेलाई ५ हजार ७ सय ३२ मतान्तरले पराजित गरेका थिए। मैनालीले २२ हजार ९ सय ७२ मत ल्याएर विजयी हुँदा पराजित उम्मेदवार पाण्डेले १७ हजार २ सय ४० मत प्राप्त गरेका थिए। पाण्डे अहिले मेचीनगर नगरपालिकाको नगर प्रमुखको टिकटको दौडमा रहेको काँग्रेस निकट स्रोतले जनाएको छ।

प्रमुखमा आकांक्षी नेपाली काँग्रेस क्षेत्र नम्बर १ सभापति इन्द्रबहादुर बुडाथोकी र उप्रेती पनि जनता माझ लाेकप्रिय नेता मानिन्छन्।

वर्तमान नगरप्रमुख विमल आचार्यले भने यसपटक मेयरमा पुन: नउठने देखिएको छ। संचारकर्मीसँगकाे कुराकानीमा उनले आफू बाहिरबाटै सहयोग गर्ने मनशाय रहेकाे बताए। तर, प्रदेशसभा सदस्यमा इच्छा व्यक्त गरे जस्ताे देखिन्छ।

विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा काँग्रेस उम्मेद्वार विमल आचार्य नगरप्रमुखमा निर्वाचित भएका थिए। उनले २० हजार ७ सय ७६ मत प्राप्त गरेका थिए। आचार्यका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाईंले १९ हजार ४ सय २२ र माओवादी केन्द्रका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याएका थिए।

प्रकाशित मिति: : 2022-04-05 09:03:00

प्रतिकृया दिनुहोस्