दीपेन्द्रसिंह ऐरी : नेपाली क्रिकेटकाे दरिलाे खम्बा !

कृष्णउदाशी

काठमाडौं
Photo : Facebook/Deependra sing
Photo : Facebook/Deependra sing

नेपाली क्रिकेट जगत थुप्रै इतिहास रच्न सफल छ। साेहीअनुसार धेरै खेलाडीहरूले अनेकाैँ कीर्तिमानी बनाएर चम्किएका छन्। ती कीर्तिमानी कति अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासका लागि छन् भने कति नेपाली क्रिकेट इतिहासका लागि।

यो इतिहास यहाँसम्म आइपुग्न नेपालले धेरै समय भने खर्चिनु परेकाे छैन। छिमेकी देश भारतले सन् १९८३ मा विश्वकप जित्दै गर्दा नेपालमा भने ‘क्रिकेट पनि खेलिन्छ’ भन्ने कुरा समेत विदेश घुम्न जाने एक/दुई कुलिन बर्गका मानिसलाई बाहेक आम नेपालीहरूलाई थाहा थिएन। वि.सं. २०४१ सालमा जब नेपालमा टेलिभिजन आयो। त्योसँगै नेपालीहरूले भारतबाट प्रसारण हुने दूरदर्शन पनि हेर्न थाले। भारतबाट प्रसारण हुने रेडियो आकाशवाणीमा आएको क्रिकेटको कमेन्ट्री सुनेर नेपालीहरूले क्रिकेटको सामान्य कुरा सिके।

त्यस यता विस्तारै उदाएका नेपाली क्रिकेट खेलाडीहरूको टिम बन्यो। त्यसपछि राष्ट्रिय टोलीका पहिलो कप्तान उत्तम कर्माचार्य हुन्, अथवा, दुई–दुई ह्याट्रिक विकेट लिने पहिलो खेलाडी विनोद दास। विकेट लिएपछि हात फैलाएर मैदान वरिपरि दाैडिँने शक्ति गौचन हुन्, या त नेपाली क्रिकेटलाई नयाँ उचाइ दिएर नेपाली जनतामा क्रिकेटको रस भिजाइदिने पारस खड्का। या भनौँ, आफ्नो बलिङ् क्षमताले अन्तर्राष्ट्रि्रय स्तरमै राम्रो छवी बनाएका सन्दीप लामिछाने हुन्। अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा छिटो ५ सय रन बनाउने पछिल्लो समयका युवा खेलाडी कुशल भुर्तेल नै किन नहुन्। यी सबै नेपाली क्रिकेटको जगलाई बलियो बनाउने आधारहरू हुन्। यही मेसोमा अर्का युवा खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेटमा अर्को इतिहास बनाएका छन्। त्यो इतिहास हो, एकै खेलमा सबैभन्दा धेरै रन हान्ने नेपाली खेलाडीको इतिहास र सबैभन्दा छिटो १ हजार अन्तर्राष्ट्रिय रन बनाउने नेपाली खेलाडीको इतिहास।

दीपेन्द्रसिंह ऐरी उमेरले भर्खर २२ वर्षका भए। उनी वि.सं. २०५६ साल माघ १० गते जन्मिएका हुन्। उनी कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा जन्मिएका हुन्। कञ्चनपुर जिल्ला क्रिकेटको उर्वरभूमि मानिन्छ। एकदमै लजालु स्वभावका दीपेन्द्र सानैदेखि खेलप्रति आकर्षित थिए। उनी ब्याटमिन्टन, टेबल टेनिस र फुटबल खेल्न पनि खुब रुचि राख्थे। तर, उनी जहाँ हुर्किए त्यहाँको माहोल क्रिकेटमय थियो। त्यसैले उनी ज्यादाजसो क्रिकेटमै डुब्दै गए। त्यसमाथि पनि घरमा उनकै दाजु पनि त्यतिबेला स्थानीय खेलहरूमा राम्रो खेलाडी थिए। दाजुहरूकै पछि लाग्दा लाग्दै उनले क्रिकेट खेल्न सिके। हुन त उनलाई सानो छँदा स्थानीय क्रिकेट खेलमा टिममा चाहिँ राखिन्थ्यो। तर, उनलाई ११ जना बाहिर नै राखिन्थ्यो। उनी सम्झिन्छन्,‘त्यतिबेला मेरो काम भनेको ‘बाउन्ड्री’ पार गरेका बल ल्याउने काम मात्रै हुन्थ्यो।’

उनले पढेको विद्यालयमा अतिरिक्त क्रियाकलापमा क्रिकेट पनि समावेश हुन्थ्यो। विद्यालयमा उनको खेल राम्रो लागेकाले कक्षा ७ मा पढ्दा विद्यालयका खेलकुद शिक्षकले उनलाई प्याब्सन कपका लागि छनौट गरेका थिए। उनले पहिलो अवसरलाई नै राम्रोसँग सदुपयोग गरेर चमत्कार देखाए। उनले पहिलो खेलमा नै ४५ बलमा ५० रन हानेर आफ्नो सुनौलो क्रिकेट यात्राको सुरुवात गरे। कक्षा ८ मा पढ्दा उनले प्याब्सन कपमा प्लेयस अफ द सिरिजको पुरस्कार प्राप्त गरे।

फेरि, उनले कक्षा ९ मा पढ्दा पनि प्याब्पसन कपमा प्लेयर अफ द सिरिजको पुरस्कार पाप्त गरे। यसरी उनले निरन्तर ३ वर्षसम्म उत्कृष्ट प्रदर्शन गरेपछि उनी कञ्चनपुरका जिल्ला स्तरीय कोचको नजरमा परे। उनलाई विभिन्न बन्द प्रशिक्षणहरूमा सहभागी गराइयो। ती प्रशिक्षणहरूमा उनले दिएको उत्कृष्ट प्रस्तुतिले कठमाडाैँकाे यात्रा तय गरायो।

सन २०१६ मा भएको १६ वर्षे उमेर समूहको नेपाली टिममा उनी छनौट भएनन्। तर, लगत्तै भएको १९ वर्षमुनिको टिममा उनी छनौट भए। त्यसपछि उनले आफ्नो कला देखाउन थाले। यो समूहबाट उनले आइसीसी विश्व कप र एसियन कपका लागि थुप्रै खेल खेले। श्रीलङ्का, बङ्गलादेश, भारत, हङ्कङ, सिङ्गापुर आदिसँग खेले। यी खेलहरूमा उनले राम्रो प्रदर्शन गरेर सबैकाे मन जिते। सन् २०१६ मा भएको श्रीलङ्कासँगको खेलमा उनले ९९ बलमा ९० रन बनाएका थिए। उक्त खेलमा नेपाल श्रीलङ्कासँग २ रनले पराजित भएको थियो। २ रनले पराजित हुँदा उनी मैदानमै घुँडा टेकेर रोएका थिए। सन् २०१७ मा सिङगापुरसँग खेल्दा उनले ८३ बलमा ५४ रन हानेर टिमलाई जिताएका थिए। सन् २०१७ मा भारतसँग खेल्दा भने नेपालको तर्फबाट उनी कप्तान थिए। सो खेलमा उनले जादु नै देखाए। जम्मा १०१ बल खेल्दा उनले ६ चौका र २ छक्काको मद्दतले ८८ रन बनाएका थिए भने १० ओभर बलिङ् गर्दा ४ विकेट पनि लिएका थिए। सो खेलमा उनी प्लेयर आफ द म्याच मात्रै भएनन्, भारतमाथि जित हाँसिल गरेर इतिहास बनाए।

भर्खर सम्पन्न मलेसिया, पपुवान्युगिनी र नेपालको त्रिदेशीय खेलमा नेपालले ५ खेलमा पाँचै खेल जित्यो। त्यो जितमा दीपेन्द्रसिंह ऐरीको महत्वपूर्ण भूमिका रहयो। सेमी फाइनलमा नेपाल मलेसियासँग खेलिरहेको थियो। उनी नट आउन खेलिरहेका थिए र ८८ रन बनाएरका थिए। अन्तिम ओभरको पहिलो बलमा २ रन जोडे र ९० रन बनाए। दोस्रो बलमा ‘डट’ भयो। त्यसपछि उनको ब्याटिङको जादु हेर्न पाइयो। तेस्रो बलमा छक्का हानेर ९६ रन बनाए, चौथो बलमा छक्का हानेर १०२ रन बनाए, पाँचौँ बलमा फेरि छक्का हानेर १०८ रन बनाए र अन्तिम बलमा २ रन जोड्दै ११० रन बनाए। योसँगै नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा ठूलो व्यक्तिगत रन बन्याे।

त्यो भन्दा अगाडि पपुवा न्युगिनीसँगै भएको एक दिवसीय खेलमा उनले एक दिवसीय करिअरको पहिलो शतक प्रहार गरेका थिए। एकदिवसीयमा शतक प्रहार गर्ने उनी पारस खड्का र रोहित पौडेलपछि तेस्रो नेपाली खेलाडी बने। पौडेलले एक दिन अगाडि मात्र शतक बनाएका थिए। उनी अब एक दिवसीय र टी– २० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फम्र्याटमा शतक प्रहार गरेका थिए। दीपेन्द्र अन्तर्राष्ट्रिय टी– २० मा हालसम्मको सर्वाधिक ११० रन बनाउने नेपाली खेलाडी पनि बने। यसअघि पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध १०६ रन तथा ज्ञानेन्द्र मल्लले १३औँ दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध १०७ रन हानेर कीर्तिमानी बनाएका थिए। दीपेन्द्रले ११० रन बनाउन जम्मा ५७ बल मात्रै प्रयोग गरेका थिए। योसँगै उनी नेपालबाट सर्वाधिक अन्तराष्ट्रिय रन बनाउने खेलाडी भएका छन्। हालसम्म उनले जम्मा १ हजार ३३ अन्तर्राष्ट्रिय रन हानेका छन्। जसमा १ सतक र ५ अर्धसतक प्रहार गरेका छन्। उनले जम्मा ३९ खेलमा ८३ चौक र ३२ छक्का प्रहार गरेका छन्। एक दिवसीयमा भने १६ खेलमा १ सतकसहित जम्मा २ सय ९१ रन बनाएका छन्। जसमा २७ चौकार र ३ छक्का समावेश छन्।

यो त अन्तर्राष्ट्रिय कुरा भयो। राष्ट्रिय खेलमा पनि उनी अरु खेलाडीभन्दा अगाडि छन्। नेपाल पुलिस क्लबबाट खेल्ने उनको नाममा १ सय ४० रनको कीर्तिमानी छ। जुन नेपाली खेलाडीको एकै खेलमा आएको सबैभन्दा धेरै व्यक्तिगत रन हो।

दीपेन्द्रसिंह ऐरीको एउटा विशेषता छ, टाउकाेमा कपडा बाँधेर ब्याटिङ गर्ने। खासमा टाउकोमा कपडा बाध्ने कथा फरक छ। सानोमा उनको टाउकोमा हेलमेट ठूलो हुन्थ्यो। त्यसलैले हेल्मेट मिलाउनलाई उनी कपडा बाँधेर हेलमेट लगाउँथे। पछि उनकाे टाउकोमा कपडा बाँधेर ब्याटिङ गर्ने बानी बन्याे। त्यसो गर्दा उनमा आत्माविश्वास बड्छ।

उनको अर्को विशेषता हो, ट्याटु। उनले आफ्नो देब्रे हातमा आफ्नो जन्म मितिको ट्याटु बनाएका छन् भने दाहिने हातमा उनले खेल जीवनमाा उपलब्धी हासिल गरेका विशेष मितिहरू खोपाएका छन्। र, उनका अनुसार यी क्रमशः बढ्दै जाने छन्।

सानोमा आर्मी बन्ने सपना भएका दीपेन्द्रसिंह ऐरी अष्ट्रेलियाका भेट्रान क्रिकेटर स्टेभ स्मिथका फ्यान हुन्। उनी जीवनमा कुनै बेला सारै धेरै खुसी भएका छन् भने पहिलो पल्ट राष्ट्रिय टिममा छनौट भएर नेपालको जर्सी लगाउन पाउँदा हाे। र, दोस्रो पल्ट भने नेपालले स्कटल्याण्डलाई जिटेर एकदिवसीय मान्यता पाएको दिन हाे। अब भने दीपेन्द्र नेपाली क्रिकेटका भराेसा भएका छन्। उनको खेल जीवन अझै उत्कृष्ट बन्दै जाओस्। अन्तर्राष्ट्रिय कीर्तिमानहरू थपिँदै जाउन, हार्दिक शुभकामना।

प्रकाशित मिति: : 2022-04-09 13:06:00

प्रतिकृया दिनुहोस्