एमालेबाट पोखराकाे उमपेयरमा टिकट पाएकी मन्जु भन्छिन्- चुनाव लड्ने मन छैन

नेकपा एमालेले पोखराको उपमेयरमा हालकै उपमेयर मन्जुदेवी गुरुङलाई टिकट दिएको छ। पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो।

मन्जु अहिले केन्द्रीय सदस्य हुन् भने दीपक प्रदेश सचिवालय सदस्य। त्यसो त, मन्जुले आफू यसपालि चुनावै नलड्ने बताएकी थिइन्। त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उनले इच्छा देखाइनन् र बाहिरै बसिन्। चुनाव लड्ने चाहना नभए पनि मन्जुलाई एमालेले टिकट दिएको छ। तर, उनी सन्तुष्ट छैनन्।

‘चाहाना राख्नुभएको छैन। नलड्ने नै भन्नुभएको छ,’ उनका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भने, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ। बैठकमै व्यस्त हुनुहुन्छ।’ गुरुङले कसैको पनि फोन उठाएकी छैनन्।

त्यसो त पार्टीमा आफुभन्दा तल्लो कमिटीको व्यक्तिलाई उपल्लो पद दिएपछि उनी सन्तुष्ट छैनन्। पोखराका एमाले नेता कार्यकर्ताले समेत गुरुङलाई उपमेयर र पौडेललाई मेयर दिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भनेका छन्।

प्रकाशित मिति: : 2022-04-24 12:47:00

प्रतिकृया दिनुहोस्