दाङको मुख्य दुई ठूला उपमहानगरपालिकामा गठबन्धन दलहरुबाट प्रमुख र उपप्रमुखमा महिला उम्मेदवार नै नपरेपछि महिला राजनीतिक कर्मीहरुले भोट मार्फतविद्रोह गर्ने चेतावनी दिएका छन्।
गठबन्धन दलले घोराही उपमहानगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखका लागि हेमराज शर्मा र उपप्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगीलाई उम्मेदवार बनाउन सिफारिस गरेका छन्।
यस्तै तुसीपुर उपमहानगरपालिमा पनि गठबन्धन दलहरुले प्रमुखमा कांग्रेसबाट गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा एकिकृत समाजवादीबाट जोगबहादुर रानालाई उम्मेदवार बनाउन सिफारिस गरेका छन्।
दुई ठूला उपमहानगरमा महिलालाई प्रमुख र उप्रमुख मध्ये कसैमा पनि उम्मदेवार बनाउन गठबन्धन दलहरुले सिफारिस नगरेपछि गठबन्धन दललको चौतर्फी विरोध भइरहेको छ।
संविधान मै महिला सहिभागिता ३३ प्रतिशत हुनु पर्ने व्यवस्था छ। एउटै दलले उम्मेदवारी दिँदा प्रमुख वा उपप्रमुखमा एक जना महिला अनिवार्य उम्मेदवार बनाउनु पर्ने कानुनी व्यवस्था रहेको छ।
तर फरक दलका भएका यो व्यवस्था लागू नहुने निर्वाचन आयोगले निर्णय गरेपछि गठबन्धन दलहरुले महिला सहभागितालाई कमजोर बनाउने काम गरिहेको आरोप लागेको छ।
दुई उपमहानगरमा महिला सहभागिता नबनाएको गठबन्धन दलले अन्य पालिकामा पनि महिलालाई नेतृत्व दिन इन्कार गर्ने हुन कि भन्ने चिन्ता थपिएको महिला राजनीतिककर्मी बताउँछन्।
यदि महिलालाई कमजोर सोचेर नेतृत्व दिन कञ्जुस्याई गरे भोली निर्वाचनमा भोट मार्फत भएपनि विद्रोह गर्न सकिने एक राजनीतिक पार्टीकी लुम्बिनी प्रदेश सदस्यले बताइन्।
आफूहरुले महिला सहभागितालाई जोड दिन पार्टीहरुलाई दबाब दिइरहेको भन्दै उनले यदि राजनीतिक पार्टीले आफूको माग नसुने निर्वाचनपछि मत परिणामसमेत गडबड हुने सक्ने उनले जिकिर गरिन्।
पार्टी निर्देशन मान्ने आफ्नो दायित्व भएपनि आफूहरुको आवाज पार्टी नसुने राम्रो परिणाम नआउने ती महिला राजनीतिकर्मीले चेतावनी दिइन्।
अझै मिलेन दाङमा गठबन्धन दलहरुबीच कुरा
दाङमा गठबन्धन दलहरुले अझै पनि भागबण्डा मिलाउन सकेका छैनन्।
भोली सोमबार उम्मेदवारी मनोनयन दर्ता गराउन समय तोकिएपनि आइतबार साँको पौन ९ बजेसम्म दाङको ६ वटा पालिकामा गठबन्धन दलहरुले भागबण्डा मिलाउन सकेका छैनन्।
घोराही र तलसीपुरसँगै शान्तिनगर र बंगलाचुलीमा भागबण्डा मिले पनि अन्य ६ पालिकामा भने दलहरुले आफ्नो दाबी छाड्न सकेका छैनन्। जसले एक्ला एक्लै चुनाव जानेसम्मको कुरासमेत उठिएको नेताहरुले बताएका छन्।
नेकपा एकिकृत समाजवादीका दाङ जिल्ला अध्यक्ष सुरामनी बेल्वासेले अहिले पनि गठबन्धन दलहरुको जिल्लाका तीन ठाउँमा बैठक बसिरहेको भन्दै भागबण्डा मिलाउने प्रयासमा रहेको बताए।