दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एकै वडाका दुई नेता अध्यक्षका उम्मेदवार बनेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई नेकपा एमाले र गोपालचन्द्र राई नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा उठेका हुन्।लोकेन्द्र साविकको बतासे–५ र गोपालचन्द्र साविकको बतासे–१ का बासिन्दा हुन्।
गोपालचन्द्र नाताले लोकेन्द्रका काका हुन्। नाताभित्रै बीच प्रतिस्पर्धा हुने भएकाले चुनावी गतिविधि मैत्रीपूर्णा हुने धेरेको अनुमान छ।
७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा नइन्द्र राई, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा गोपालचन्द्र राई र उपाध्यक्षमा नैनकुमारी खत्री, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा ओमिराज राई, राप्रपाबाट अध्यक्षमा कल्पना राई, स्वतन्त्रबाट अध्यक्षमा बिश्वराज राई र सुरेश राईको उम्मेदवारी दर्ता भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका लोकेन्द्र यसपल्ट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका हुन्। गोपालचन्द्र नेपाल आयल निगमको उपप्रबन्धक (प्रशासन)को जागीर छाडेर गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका हुन्। आयल निगममा १ चैत २०६९ मा सेवा प्रवेश गरी हाल उपप्रबन्धक (प्रशासन) पदमा कार्यरत राईले गत ६ बैशाखदेखि लागु हुनेगरी राजीनामा दिएका थिए।