‘जनताको माया पाइरहेकी छु, त्यसैले जित्नेमा ढुक्क छु’

आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै यतिबेला दलहरू चुनाव केन्द्रीत भइरहेका छन्। देशभरकाे सबै स्थानीय तहका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएसंगै निर्वाचन आयाेगले चुनाव चिन्हसमेत प्रदान गरिसकेकाे छ।

यतिबेला सबै स्थानीय तहका उम्मेदवारहरू आ-आफ्नो चुनाव चिन्ह र घाेषणापत्र लिएर घरदैलाे अभियानमा व्यस्त छन्। विभिन्न दलहरूबाट उम्मेदवारी दिएकाहरू अहिले गाउँगाउँमा पुगेर भोट मागिरहेका छन्।

साेही दाैरानमा छिन्, नुवाकोटकाे विदुर नगरपालिकाको उपमेयरकाे उम्मेदवार प्रभा बोगटी। माओवादी केन्द्रकी उनले गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी हुन्।

केही समय पत्रकारितामा जमेकी उनी पछिल्लो समय भने पार्टी संगठनमा केन्द्रीत छिन्।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमेयरकाे उम्मेदवार बनेकी उनी आजभाेलि नागरिकको घरदैलो धाउनमा व्यस्त छिन्।

निर्वाचनकै सेरोफेरोमा रहेर माओवादी केन्द्रका स्वर्गीय नेता पोष्टबहादुर बोगटीकी छोरी तथा विदुर नगर कमिटीकी अध्यक्ष उनै बाेगटीसँग बिएल नेपाली सेवाका लागि ईश्वरी राईले गरेको कुराकानीः


विदुर नगरपालिकाको उपमेयरमा किन उम्मेदवारी दिनुभयो?

राज्यले दिएको अधिकार जनतासम्म पुर्याउनको लागि मैले उपमेयरमा उम्मेदवारी दिएकी हुँ। म उपमेयर बनेर जनतालाई सरकार भएको महसुस गराउन चाहन्छु। राज्यकाे तर्फबाट पाउनुपर्ने अधिकार जनताले अझै पाउन सकेको छैन। त्यही अधिकार दिलाउनका लागि मेरो उम्मेदवार उपमेयरमा भएकाे हाे।

उपमेयरको लागि उम्मेदवारी दिएसँगै तपाईंले चुनावको तयारी कसरी गरिरहनुभएको छ?

म गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुँ। मेयरको लागि नेपाली कांग्रेसबाट उम्मेदवार हुनुहुन्छ। उपमेयरकाे लागि माओवादीबाट म उम्मेदवार छु। त्यसैले हामी सबै गठबन्धनका उम्मेदवारहरू मिलेर जनताको घर–घर पुगिरहेका छाैँ।

जनताहरूलाई भेट्नका लागि विभिन्न याेजनाहरू लिएर हामी घरघरमा पुगिरहेका छाैँ। घरदैलो कार्यक्रम गरेर चुनावको तयारी गरिरहेका छौँ। यसले जनताहरू खुसी हुनुहुन्छ।

तपाईंले चुनावलाई कत्तिको चुनौतीपूर्ण रूपमा लिनुभएको छ?

चुनावको मैदानमा उत्रिएपछि चुनौती त अवश्य नै हुन्छ नी! हाम्रा प्रतिस्पर्धीहरू पनि चुनावको तयारीमा लागिरहनुभएको छ। विगतका दिनमा नगरपालिकामा हाम्रा प्रतिस्पर्धीहरूले नै नेतृत्वको गर्नुभएको हाे। त्यसैले चुनाव मेरो लागि चुनौतीपूर्ण नै छ। तर म चुनावसँग कत्ति पनि डराएकी छैन। किनकि, मसँग मेरो पार्टी र जनताहरूको माया छ। त्यसैले म यो चुनौतीलाई सफलतापूर्ण पार गर्न सक्छु भन्ने मेराे विश्वास छ।

यो पटकको चुनावमा तपाईंले नै जित्नुहुन्छ भन्ने मुख्य आधार के-के छन्?

जनताहरूको माया नै मेरो लागि चुनाव जित्ने मुख्य आधार हो। मैले जनताहरूको साथ र माया पाइरहेकी छु। त्यसैले जित्ने कुरामा म ढुक्क छु।

चुनाव जितेपछि तपाईंको प्राथमिकता के मा रहनेछ?

हामीले चुनाव जितिसकेपछि हाम्रो प्राथमिकता भनेकै जनताहरूको आवश्यकता पूरा गर्नु हो। जनताहरूलाई गास, बास, कपासलगायत शिक्षा र स्वास्थ्यको सुविधा दिनु नै हाम्रो मुख्य काम हो। जनताहरूले पाउनुपर्ने अधिकार अझै पाउन सकेका छैनन्। जसलाई दिलाउन हामी लागिपरिरहेका छौँ। हाम्रो नेतृत्वसँगै नगरपालिकामा विकासका कामहरू बन्नेछन्- जस्तै सिँचाईका काम, खानेपानी। अझैसम्म जनताहरूले खानेपानीको सुविधा पाएका छैनन्। उहाँहरूले नपाएका सुविधाहरू उहाँहरूसम्म पुर्याउनु नै हाम्रो उदेश्य हो।

चुनावी अभियानका क्रममा मतदाताहरूबाट के–कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?

मैले मेरा मतदाताहरूबाट एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेकी छु। हामी जनताहरूको घरदैलोमा पुग्दा उहाँहरू निकै खुसी र उत्साहित हुनुहुन्छ। उहाँहरूले हामीबाट धेरै कुराहरूकाे आश गर्नुभएको छ। जसलाई हामी पूरा गरेरै छाड्ने छौँ।

उहाँहरू भन्नुहुन्छ, ‘हामी तपाईंहरूलाई जिताउने छौँ।’ तपाईंहरूलाई देखेर हामी धेरै रमाएका छौँ। उहाँहरूको कुरा सुनेर हाम्रो मनोबल बढ्दै गइरहेको छ। त्यसैले हामी धेरै खुसी छौँ।

अन्त्यमा, तपाईं मतदाताहरूलाई के भन्न चाहनुहुन्छ?

म उहाँहरूसँग हामीलाई जिताउनु भनेर आग्रह गर्न चाहन्छु। गठबन्धनका उम्मेदवारहरूलाई जिताएर हामीलाई सेवा गर्ने मौका दिनुहोस्। किनकि, हामीलाई चुनावमा जिताउने या हराउने सबै जिम्मा मतदाताहरूकै हो। त्यसैले हामीलाई जिताउने काम मतदाताहरूको हाे। अनि हाम्रो काम भनेको उहाँहरूको सेवा गर्नु हो। जनताहरूको खुसी नै हाम्रो खुसी हो।

प्रकाशित मिति: : 2022-05-03 09:11:00

प्रतिकृया दिनुहोस्