कर्णालीकाे आँखामा काठमाडाैँका बालेन

Breaknlinks
Breaknlinks

कालो कोट, जिन्स पाइन्ट, आँखामा कालाे चस्मा, गालामा दारी अनि काँधमा जिम्मेवारी बोकेर काेही मानिस काठमाडाैँका गल्लीहरूमा भाेट माग्दै हिँडिरहेकाे देख्नुभयाे भने ती व्यक्ति बालेन शाह हुने सम्भावना अधिक हुन्छ।

यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा काठमाडाैँकाे मेयरकाे पदमा उम्मेदवारी दिएका शाह यतिबेला आफ्नाे चुनाव चिन्ह ‘लाैराे’मा भाेट हाल्नु अनुराेध गर्दै हिँडिरेका छन्।

पेसाले इन्जिनियर र ऱ्यापर हुन्, उनी। ऱ्यापर भन्न साथ एउटा सिमित सोच र धारणा पालेका जमातलाई ऱ्यापमार्फत् पनि विसंगतिका पाटाहरूको बारेमा जनमानसलाई चेतना पस्कन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्, बालेनले। वास्तवमा ऱ्यापरको परिभाषा फेर्न सफल भएका छन्, बालेन। नेपाली राजनीतिले नयाँ अनुहार, संलग्नता र उपस्थिति खोजिरहेको अहिलेको अवस्थामा उदाएका बालेन शाहको चर्चा सहर, बजार, गल्ली र चोक-चोकमा छ।

राष्ट्रले परिवर्तन खाेजिरहेका बेला त्यो परिपूर्ति गर्न युवा पुस्ता पनि राजनितिमा होमिनुपर्ने अवस्था आएको बेला विकास गर्छु भनी बालेन अगाडि सर्नु एकदम साहसिक कार्य हो। विगतकाे चुनावका छनोटको परिणामहरु प्रायः आम जनताका लागि निराशाजनक नै रहेको छ। सुन्दर सफा हुनुपर्ने काठमाडौं सहर आज फोहोरको डङ्गुरमा परिणत भएको छ। न्युनतम पूर्वाधारको अभाव र चरम अव्यवस्था छ। यस्तो अवस्थामा राजधानीकाे सहरको बागडोर सम्हाल्न एक काविल युवाको हैसियतले तपाईंले आफ्नो उम्मेदवारी पेश गर्नुभएको छ। आफैँमा तपाईं ईन्जिनियर भएको हुँदा काठमाडौं सहरको गुमेको गौरव फर्काउन सकिने तपाईंको आत्मविश्वासको सबैले कदर गरेका छन्।

काठमाडौंमा मेयर बन्ने आकांक्षीहरूकाे जमातमा सम्भवतः बालेनको जति चर्चा, चासो र ‘भाइरल’ अरू कोही भएको छैन। आमतप्कादेखि उच्च तहसम्म देखिएको बालेनको क्रेज र वाहवाही साँच्चै लोभलाग्दो छ।

काठमाडौंबासी बालेन मेयर पदमा विजय भएपछि काठमाडौंलाई यस्तो गर्छु, उस्तो गर्छु भन्दै काठमाडौंबासीलाई विकासका योजना सुनाए रहँदा मजस्ता दुर्गम कर्णाली तथा काठमाडौं बाहिरका मानिसको लागि के कस्तो योजना र विकास तयार पारेका छन्, त्यो भन्ने सुन्न पाएको छैन। भन्नेले भन्लान् यो त बालेन शाह र विकास विरोधी हो तर म एक निष्पक्ष बालेन शाहको सपोर्टर हो विरोधी होइन। तर, पनि मजस्ता दुर्गम र उपत्यका बाहिरका जनताका लागि के कति गर्न सकिन्छ त्यो प्रष्ट भएको देखिएन।

‘जुन जोगी आएपनि कानै चिरेका’भनेझैँ उनका योजना, निकास र विकासका कुराहरु सहर केन्द्रित मात्र भए गाउँ केन्द्रित भने पटक्कै भएका छैनन्। हुन् पनि कसरी उनी त काठमाडौँबासी पो परे ! न त उनलाई गाउँमै जानुपर्छ न त उनले गाउँका दुःख देखेका र भोगेका छन्। न त उनले अँध्यारो देखेका छन्, न त औषधि नपाएर आफ्ना आफन्त गुमाएका पीडा खेपेका छन्। न त खेत बारीमा फलेका खाद्यन्न बस्तुहरुलाई बजारसम्म पुर्याउने बाटो–घाटो र यातायातको पहुँच नहुँदा घरमै कुहिएको देख्नु परेको छ। न त उनले पैदल हिँडेर कैयौँ दुरी पार गर्नु परेको छ। सोध्न मन छ काठमाडौंको चस्माले उपत्यका बाहिरका जनताहरुलाई कस्तो नजरले हेर्छ ? भनेर।

झरो, टुकी र मैनबत्तीको उज्यालोमा कष्टकर जीवन बाँचिरहेका दुर्गम र पिछडिएका बस्तीहरूमा जन्म दर्ता, विवाह दर्ताजस्ता कागजातहरू र वृद्ध भत्ताको होम डेलिभरी गर्छु भन्दा कता–कता मेरो मन चसक्क भयो। हामीलाई चाहिएको होम डेलिभरी होइन उज्यालो दिने बत्ती हो। अनि म बुढो हुँदा मलाई दिने बृद्धभत्ता होइन, मलाई अहिले देशमै केही काम गर्न सक्ने वातावरण र ऋणको जरूरत छ, बरु मलाई वृद्धभत्ताको साटो अहिले ऋण दिने वातावरण मिलाइदिनुहोस्।

पूर्वाधार, स्वास्थ्य, पशु एम्बुलेन्स, फायर ब्रिगेड, प्रकोप व्यवस्थापन, मानसिक स्वास्थ्य, घरेलु हिंसा, बाल दुर्व्यवहारहरुका लागि कल सेन्टर अहिले हामीलाई चाहिएको छैन। हामीलाई केबल पशु बोक्ने एम्बुलेन्स होइन मान्छे बिरामी हुँदा बिरामी मान्छे बोक्ने एम्बुलेन्सको जरूरत छ। हामीलाई ठूला ठूला हस्पिटल बनुन् भन्ने आशा पनि छैन्, केबल भएका स्वास्थ्य चौकीमा सिटामोल नभएर आकालमै ज्यान घुमाउन नपरोस् भन्ने मात्र हो। फायर ब्रिगेड भएर मात्र के गर्नु भनेको बेला दुर्घटना ग्रस्त क्षेत्रसम्म पुग्ने बाटो–घाटो नै छैन हामीलाई चाहिएको सुविधा सम्पन्न बाटो–घाटो हो।

फोन गर्नलाई रुखको टुप्पा अनि डाँडाकाँडा धाउनुपर्ने जस्तो ठाउँमा बालदुर्व्यवहारका लागि कल सेन्टर स्थापना गर्नु मुर्खता हो बरु हामीलाई सञ्चार सूचनाको राम्रो पहुँच बनाइदेउ त्यसले गर्दा अप्रिय घटना घरेलु हिंसा बालदुर्व्यवहार जस्ता लैङ्गिक हिंसाका घटनाहरु सामाजिक संजालबाट बाहिर निस्किने थिए र केही हदसम्म सामाजिक सञ्जाल र सञ्चार सूचनाको पहुँचले गर्दा पनि कमी हुने थियो।

भ्रष्टाचारविरुद्ध विशेष फोर्स, सबै कार्यालयमा सिसिटिभी भन्ने कुरा पनि सहर केन्द्रित छ। एक गाउँबाट अर्को गाउँ जान ३/४ दिन लाग्ने ठाउँमा कसले हिँडेर अनुगमन गर्न जान्छ बरु कर्मचारीको भत्ता बढाउँछु भनेको भए केही हदसम्म भ्रष्टाचार कम हुने थियो। जहाँ आफ्ना आफन्त मरेको खबर सुन्न पनि २/३ दिन लाग्छ, जहाँ समाचार सुन्ने टि.भी त छैन त्यहाँ सिसिटिभी राख्नुपर्छ भन्दा कतिको उपयुक्त होला।

रोजगारी, उद्यमशीलता प्रवर्धनको लागि आईडिया ब्याङ्क, हरेक मार्टमा स्थानीय उत्पादनलाई २०% ठाउँ भन्नेजस्ता कुरा केही हदसम्म ठीक भए तापनि अहिलेका युवावर्गलाई रोजगारी होइन आफ्नै व्यापार बिजनेस गर्ने ऋणको आवश्यक छ। अहिलेका युवा वर्गहरुमा जति कति आइडियाहरुका खानी छन् तर पैसाको अभावले गर्दा उनीहरुका आइडियाहरु उनीहरुकै मानसपटलमा थन्किएका छन्। विदेशी वस्तुहरुले बजार ओगटिरहेको बेला स्थानीय उत्पादनहरुको बजारसम्म पुर्याउनका लागि राम्रो यातायातको सुविधा नभएको हुँदा अहिले यातायातको आवश्यकता छ।

देशमा भएका केही युवा वर्गहरु पनि विदेशी भूमिमा काम गर्न बाध्य भएका बेला युवाहरुको लागि करियर परामर्श र कोचिङ, विजनेस सुरू गर्न सिड मनी, राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्नुको साटो राम्रो शिक्षा स्वास्थ्य प्रदान गर्न आवश्यक छ।

निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिनुभन्दा पनि पहिले खुल्ला आकाश र रुखमुनि ओत लागेर शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई कक्षाकोठाको आवश्यकता छ।

७० वर्ष माथिका वृद्धवृद्धाको नि:शुल्क स्वास्थ्य परीक्षण घर–घरमै गरिनुको साटो रोग लाग्ने बित्तिकै औषधि उपचारको व्यवस्थापन गर्न जरुरी छ र सबै वडा र टोल स्तरमा सार्वजनिक शौचालय स्थापना गरिने, हेल्थ पोस्टहरुको स्थापना गरी राख्नुपर्ने जरुरी नै छैन भएका सार्वजनिक शौचालय र हेल्थपोष्टहरु चुस्त दुरष्ट र सेवा सम्पन्न बनाउनुपर्छ। चाहिने जति दक्ष जनशक्ति र औषधिहरू रितिनु हुँदैन। भने, हेल्थ पोष्टहरु कार्यालय सहयोगीका भरमा छोडिनु हुँदैन।

बस स्टपहरुमा फल्चा स्थापना गरिनेभन्दा पनि भएका बसस्टपहरु अपाङ्गमैत्री बस्न र उभिन लायक हुने गरी स्तरोन्नति गरिनुपर्ने आवश्यक छ।सुरक्षाका लागि सबै सार्वजनिक यातायातमा सिसिटिभी जडान अनिवार्य गरिने भने पनि केही सार्वजनिक यातायातमा सीसीटिभी भएता पनि निगरानी नगरिएको देखिन्छ यसको कार्यान्वयन गर्न गरुरी छ। महानगरको सबै मिटिङको लाइभ टेलिकास्ट भन्ने कुरा दूरदराजका जनताहरूको लागि आकाशको फल आँखा तरिमर भने जस्तै हो।

Think globally act locally भनेझैँ उनले यस्ता योजनाहरु तय गर्दा globally सोच्नुपर्ने हो तर उनका योजना, निकास र विकास सहर केन्द्रित मात्र भए। अझ गाउँ केन्द्रित पनि भैदिएको भए सुनमा सुगन्ध थपेझैँ हुने थियो। पढे/लेखेको एउटा इन्जिनियर मेयर पदका लागि उठ्दा सबैले देश विकासको आशा र भरोसा भने पक्कै गरेका छन्।

अन्ततः एक स्वतन्त्र उमेदवारको हैसियतले प्रतिस्पर्धा गर्न पक्कै पनि सहज छैन। तर, सकारात्मक सोच, दृढ आत्मबल स्पष्ट योजनासहित अघि बढ्यो भने लक्ष्य असम्भव छैन। कहियाैँ देशमा राष्ट्र प्रमुख नै युवा पुस्ता छन्। हाम्रो देशमा नगर प्रमुख एक युवा हुनु कुनै नौलो होइन। बरु अरु पार्टीहरुले पनि एकपटक युवा जनशक्तिमा विश्वास गर्दा कति राम्रो हुन्थ्यो। जितको लागि अग्रिम शुभकामना ई.बालेन शाह तपाइलाई !

(जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौंथो वर्षमा अध्यनरत विद्यार्थी हुन्।)

प्रकाशित मिति: : 2022-05-02 18:26:00

प्रतिकृया दिनुहोस्