गोकर्णेश्वरलाई नमुना नगरपालिका बनाउने छु : गोपाल बराल (अन्तर्वार्ता)

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसार पनि व्यापक रुपमा बढिरहेकाे छ। उम्मेदवारहरुबीच चुनावी प्रचारप्रसारकाे हाेडबाजी नै चलिरहेकाे छ। नागरिकसम्म पुग्नका लागि उम्मेदवारहरु तछाडमछाड गर्दै घरदैलो कार्यक्रम चलाइरहेका छन्।

त्यही प्रतिस्पर्धामा छन्, गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका गोपाल बराल। उनले गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएका हुन्। यसै सन्दर्भमा रहेर गोपाल बरालसँग बिएल नेपाली सेवाका लागि ईश्वरी राईले गरेको कुराकानीः

गोकर्णेश्वर नगरपालिकाको मेयरमा किन उम्मेदवार दिनुभयो?

यो नगरपालिका स्रोत र साधनले भरिपूर्ण छ। यहाँ जसरी विकसित हुनुपर्थ्यो, त्यसरी विकास हुन सकेको छैन। राज्यले दिएको बजेटको राम्रोसँग सदुपयोग हुन सकेको छैन। जनताबाट आएको राजस्वले विकासको काम गर्न सकेन। त्यही विकासको काम गर्नका लागि जनताहरुले मलाई चुन्नुभएको हो। त्यसैले मैले यो नगरपालिकाको मेयरमा उम्मेदवारी दिएको हुँ। 

मेयरको लागि उम्मेदवारी दिएसँगै तपाईंले चुनावको लागि के–कस्तो तयारी गरिरहनुभएको छ?

मैले गठबन्धनको तर्फबाट नगरपालिकाको मेयरमा उम्मेदवार दिएको हुँ। त्यसैले हामी गठबन्धनका सबै उम्मेदवारहरु जनताको घरदैलोमा पुगिरहेका छौँ। हामी स्वयमले उहाँहरुको गुनासो सुनिरहेका छौँ। जुन गुनासोलाई हामी हटाउने कोसिस गरिरहेका छौँ।

तपाईंले चुनावलाई कत्तिको चुनौतीको रुपमा लिनुभएको छ?

चुनाव भनेकै चुनौती हो। तर मैले यसलाई चुनौतीको रुपमा लिएको छैन। किनकि, मलाई मेरो क्षमता थाहा छ। विगतका दिनमा म नेतृत्व गरेको मान्छे हुँ। त्यसैमाथि मसँग जनताको साथ छ। उहाँहरुको आग्रहले नै म चुनावमा उठेको हुँ। त्यसैले मैले यसलाई चुनौतीको रुपमा लिएको छैन।

यो पटकको चुनावमा तपाईंले नै जित्नुहुन्छ भन्ने मुख्य आधारहरु के–के छन्?

मैले चुनाव जित्ने मुख्य आधार भनेकै मेरो काम हो। जुन मैले जनताका लागि गर्दै आइरहेको छु। विगतका दिनमा मैले गरेको सुशासन र सामाजिक क्षेत्रमा गरेको योगदान नै मेरो जित्ने आधार हुन्। जसलाई जनताहरुले देख्नुभएको छ। त्योसँगै मसँग उहाँहरुको साथ छ। उहाँहरुले मलाई जिताउनुहुनेछ भन्ने आश छ।

चुनाव जितिसकेपछि तपाईंकाे प्राथमिकता के–के मा रहनेछ?

चुनाव जितिसकेपछि मेरो पहिलो प्राथमिकता फर्जुल खर्च व्यवस्थापन र बजेटको राम्रो सदुपयोग गर्नुमा हुनेछ। किनकि, नगरपालिकामा हुनुपर्ने विकासका काम भएको छैन र अनावश्यक खर्च भइरहेको छ। जसलाई रोक्नु नै मेरो कर्तव्य हो। योसँगै विकास निर्माणका काम गर्नेछु। पर्यटक, शिक्षा, स्वास्थ्यलगायतमा मेरो ध्यान जानेछ। मेरो नगरपालिकामा कसैले खाना र औषधिको अभावले ज्यान गुमाउनु नपरोस्। म याे नगरपालिकालाई नमुना नगरपालिका बनाउने सोचमा छु।

चुनावी अभियानका क्रममा मतदाताहरुबाट के–कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?

मैले मेरा मतदाताहरुबाट एकदमै सकारात्मक प्रतिक्रिया पाइरहेको छु। किनकि, म मेयरमा उठ्नुको मुख्य कारण नै मेरा जनताहरु हुनुहुन्छ।चुनावमा उठ्नुअघि मैले ५०० जनासँग भेटेको थिएँ। जहाँ मलाई उहाँहरुले ‘हामीले खोजेको तपाईं नै हो’ भन्दै मलाई आश्वासन दिनुभयो। उहाँहरुले नै हाम्रो सेवाको लागि तपाईं आउनुपर्छ भन्दै मलाई रोज्नुभएको हो। त्यसैले मैले उहाँहरुबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु पाइरहेको छु। 

अन्त्यमा, तपाईं मतदाताहरुलाई के भन्न चाहनुहुन्छ?

चुनावमा उम्मेदवार बनेका हामीमध्ये जो सक्षम छौँ, उसलाई नै आफ्नो मूल्यवान भोट दिएर जिताउनुहोस्। हाम्रोलाई होइन, राम्रोलाई जिताउनुहोस्। मलाई नै जिताउनुपर्छ भन्ने केही छैन, तर इमान्दार उम्मेदवारलाई चुनेर भोट हाल्नुहोस्। जसले नगरपालिकासँगै तपाईंहरुको दुख बुझोस्। 

प्रकाशित मिति: : 2022-05-04 14:34:00

प्रतिकृया दिनुहोस्