चुनावको असर पढाइमा : मतपत्र छपाइले अझै ४५ लाख पुस्तक छाप्न बाँकी

सबै विद्यालयमा जेठ १ अगाडि नयाँ पाठ्यपुस्तक नपुग्ने निश्चित

थाहा खबर

श्याम राई

देशभरका सामुदायिक विद्यालयहरूमा यो वर्षको नयाँ शैक्षिक सत्रमा नयाँ पाठ्यपुस्तक नपुग्ने निश्चित भएको छ। स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइका कारण समयमा छपाइ हुन नसकेको हो। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी जेठ १ गतेबाट पठनपाठन थाल्ने निर्णय गरिसकेको छ तर सबै नयाँ पाठ्यपुस्तक छाप्न जेठ १५ सम्म समय लाग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ। 

सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले १ करोड ४५ लाख थान पुस्तक छापिसकेको र अझै ४५ लाख थान छाप्न बाँकी रहेको बताए। यता नयाँ शैक्षिक सत्र सुरु हुन भने अब ११ दिन मात्रै बाँकी छ।

मतपत्र छपाइले गर्दा पुस्तक छाप्न समस्या भएको उनको भनाइ छ। ‘मतपत्र छाप्नुपर्ने भएकाले पुस्तक छाप्न ढिलाइ भयो, कागज पनि सकिएर समस्या भयो,’ उनले भने। उनका अनुसार निर्वाचन आयोगले मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई नदिएका वेला दैनिक एक लाख किताब छाप्ने क्षमताअनुसार पुस्तक छापिएको थियो।

तर आयोगले जब गत चैत ११ गते जनक शिक्षालाई नै मतपत्र छपाइको जिम्मा दिने निर्णय गर्‍याे। त्यसपछि नै जनक शिक्षालाई पहिला मतपत्र छाप्ने कि नयाँ पाठ्यपुस्तक छाप्ने भन्नेमा चटारो थियो। यही वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको निर्वाचन हुँदै छ।

यो वर्ष पनि स्कुलमा नपुग्ने भए पुस्तक 

अघिल्लो वर्षहरूमा झैँ यो वर्ष पनि समयमा सम्बन्धित ठाउँमा नयाँ पाठ्यपुस्तक नपुग्ने भएको छ। शैक्षिक सत्र सकिन लाग्दा पनि हुम्ला, जुम्ला, मुगु लगायत विकट जिल्लाहरूमा नयाँ पुस्तक विद्यार्थीहरुको हातमा नपुगेको उनीहरूबाटै गुनासो आएको थियो।

जनक शिक्षाका सूचना अधिकारी आचार्यले बाँकी पुस्तक छाप्न वैशाखसम्म भारतबाट ६ सय टन कागज ल्याउन लागिएको जानकारी दिए। ‘अब सबै पुस्तक छापिसक्न जेठ १५ सम्म समय लाग्छ, समयमा सबै विद्यालयमा भने पुस्तक नपुग्ने भयो, सक्दो पहल भने गर्नेछौँ,’उनले भने। 

प्रकाशित मिति: : 2022-05-03 18:14:00

प्रतिकृया दिनुहोस्