मेयर बालेनको चुनावी नारा ‘फेल’, उठेन काठमाडौंको फोहोर (भिडियो रिपोर्ट)

फोहोरै फाेहाेरले भरिएको काठमाडौंलाई ‘सफा बनाउँछु, मलाई जिताउनुस्’ भन्दै बालेन्द्र साह (बालेन) चुनावी नारा लिएर काठमाडौंबासीको घरदैलोमा पुगे।

राजनीतिक दलका नेतादेखि दिक्क बनेका काठमाडौंबासीले र्‍याप दुनियाँबाट निस्केका बालेनलाई काठमाडौंको मेयर बनाउने निधाे गरे। बालेन उम्मेदवार बने, भारी मतले विजय पनि भए।

मेयर भएर शपथ खाएको ३ दिन भइसकेको छ, तर बालेनको चुनावी नाराले अहिल्य नै हावा खान थालिसकेको छ। बालेनकाे चुनावी नारा समयमा कार्यान्वयन नभएकाे केही स्थानीयहरू तर्क गर्छन्।

बालेन चुनाव जितेकै दिन सिस्डोल पुगेर त्यहाँका नागरिकलाई काठमाडौंबासीलाई जस्तै ललिपप देखाएर आए। त्यसो त बालेनले त्यो ललिपप चुनावअघि काठमाडौंबासीलाई नदेखाएका हाेइनन्।

मेयर भएको भोलिपल्ट नै काठमाडौंको फोहोर उठाउने बाचा मात्र गरेका थिएनन्, गन्हाउने काठमाडौंलाई बास्ना आउने बनाउने आश्वासनसमेत दिएका थिए। मेयर बनिसकेपछि बालेनको पहिलो प्राथमिकता थियो–काठमाडौंलाई फोहोररहित बनाउने।

उसाे त जनतालाई आश्वासन दिँदै उनले मेयर बनेको भोलिपल्टदेखि नै काठमाडौंको फोहोर व्यवस्थित गर्ने बताएका थिए।

तर मेयर बनेको पाँच/छ दिन बित्न लाग्दा पनि उनले काठमाडौंको फोहोर उठाउन सकेका छैनन्। फोहोर व्यवस्थापन गर्न उनले एक समिति गठन त गरेका छन्, तर त्यो समितिले कहिले के गर्ने हो भन्ने कुनै अत्ताेपत्ताे नै छैन।

काठमाडौंलाई सफा बनाउँछ भन्ने आशामा बालेनलाई जिताएका स्थानीयहरुसमेत अहिले आक्रोशित हुन थालेका छन्।

‘हाम्रो काठमााडौंलाई सफा बनाउँछन् भनेर बालेनलाई भोट दिएँ’, आफ्नो पसल अगाडिको फोहोर देखाउँदै एक स्थानीयले बिएल नेपाली सेवासँग भने, ‘तर यो फोहोर अहिलेसम्म पनि उठेको छैन।’

घर नजिकै फोहोरको डङ्गुर थुप्रिएको कारण सास फेर्नसमेत समस्या भएको घट्टेकुलो वडा नम्बर–२९ की एक स्थानीय बताउँछिन्।

‘फोहोर उठाउने मात्र भन्छन्, तर उठेको छैन’, उनले भनिन्, ‘यो फोहोरबाट एकदिन हैजा फैलिनेछ।’ सडकमा भरिभराउ फोहोरकै कारण समस्या भाेगेका बत्तिसपुतली वडा नम्बर–९ का स्थानीयहरुको पनि उस्तै गुनासाे छ।

महिनौँदेखि थुप्रिएको फोहोर व्यवस्थित नहुँदा आफूले चुनेका प्रतिनिधिप्रतिको विश्वास घटेको त्यहाँ स्थानीय बताउँछन्। त्यसैगरी तीनकुने शान्तिनगरमा थुप्रिएको फोहोरको गन्धले निसासिन थालेको वडा नम्बर–३१ का स्थानीय गणेश खत्री बताउँछन्।

‘मरेको कुकुर, कुखुँँरा सबै यहीँ नै छ। यही फोहोरले गर्दा दुर्गन्ध फैलिएको हो’, उनले भने, ‘यो फोहोर कहिले उठ्ने हो थाहा छैन। तर हामी जनताले भोट दिएर जिताएको मेयरले हामीलाई विश्वासघात नगरोस्। हामी जनतालाई बोली होइन, काम चाहिन्छ।’

प्रकाशित मिति: : 2022-06-02 19:10:00

प्रतिकृया दिनुहोस्