निर्मला हत्याको अनुसन्धान मेरो पहिलो प्राथमिकता, सरुवा-बढुवाका निम्ति शक्तिकेन्द्र धाउनु पर्दैन : आईजीपी सिंह 

प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले निर्मला पन्त हत्या घटनाको अनुसन्धान आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

आईजीपीमा नियुक्त भएको १ महिना पुगेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गरी सिंहले निर्मला हत्याको अनुसन्धान जारी रहेको बताएका हुन्।

उनले तत्कालीन आईजीपीले संगठनको विकासका लागि ल्याएका योजनाहरुलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै अघि बढाउने प्रतिबद्धतासमेत जनाएका छन्।

‘संगठन फेरिँदैमा सबै कुरा फेरिन्छ भन्ने हैन, पुराना आईजीपी सावहरुले ल्याउनुभएका योजनाहरुलाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्दै संगठनको विकास गर्नु मेरो दाहित्व हो। त्यहीअनुसार अघि बढ्छु’, आईजीपी सिंहले भने।

उनी भन्छन्, ‘बाहिर के कस्ता टिकाटिप्पणी आउँछन्, त्यसमा मेराे केही भन्नु छैन। नीति नियममा चल्ने संगठन भएकाले त्यहीअनुसार चल्छ।’

प्रहरी बढुवा बरियता क्रमअनुसार हुने

पछिल्लो समयमा प्रहरी संगठनमा तलबाट टिपेर बढुवा गर्ने प्रचलन बढेको छ। दलका नेता तथा शक्तिको आडमा बरियतालाई मिच्दै ब्याजीहरुलाई पछि पारेर आफूअघि जाने प्रचलन भएकाबेला आईजीपी सिंहले अब यस्ता कार्यको अन्त्य भएको बताए।

उनले अब बरियता क्रमअनुसार नै बढुवा गरिने बताए। ‘तलबाट टपक्क टिपेर कसलाई पनि बढुवा गरिँदैन, बरिएता क्रमकै आधारमा बढुवा गरिन्छ’, सिंहले भने।

यस्तै आईजीपी सिंहले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सफल भएको समेत दाबी गरेका छन्। ‘स्थानीय तहको निर्वाचन एकाधबाहेक शान्त र सफलताका साथ सम्पन्न भयो। त्यो कुरा सरकार र निर्वाचन आयोगबाटै आइसकेको छ’, उनले भने।

उनले अपराध रोकथामका निम्ति प्रहरीले कुनैपनि सम्झौता नगर्ने बताए। ‘अपराध नियन्त्रण तथा शान्ति कायमका लागि हामीले विषेश योजना बनाएका छौं। योभन्दा अघि लागु हुँदै आएका योजनालाई पनि उत्तिकै प्राथमिकता साथ अघि बढाउने छौं’, आईजीपी सिंहले भने।

प्रकाशित मिति: : 2022-06-02 16:30:00

प्रतिकृया दिनुहोस्