इम्बोस्ड नम्बर प्लेट भनेको के हो? किन आवश्यक छ? (भिडियोसहित)

यातायात व्यवस्था विभागले १ मंसिर २०७८ देखि दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै सडकमान गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ।

असारमसान्तभित्र सबै सवारी गुड्न इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने भन्दै यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे भन्छन्, 'साउन १ गतेसम्म सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न जरुरी छैन, तर २०७८ मसिंर १ गतेबाट नयाँ दर्ता हुने सवारीमा, २०७८ फागुन १ गतेबाट नामसारी गरिएका सवारी साधनमा र २०७९ जेठ १ गतेबाट नविकरण गरिने सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न आवश्यक छ।' 

साउन १ गतेभित्र सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गन आवश्यक नभएको भन्दै सर्वसाधारणलाई यसबारे नआत्तिन उनी बताउँछन्। 

२२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनाबमोजिम इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो तर योजनाअनुसार कार्यान्वयन हुन सकेन। 

इम्बोस्ड नम्बर प्लेट भनेको के हो?

आधुनिक प्रविधिको प्रयोगमार्फत सवारीको नियमन गर्ने प्रणाली नै इम्बोस्ड नम्बर प्लेट हो। 

यो नम्बर प्लेटले सर्वसाधारणदेखि राष्ट्रपतिको सवारी चिन्न सकिने विभागको भनाई छ।

सवारीमा नेपालको झन्डासहित लालिगुराँसको निसान छाप हुनेछ। 

त्यस्तै सार्वजनिक सवारीमा भने पहेँलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारीमा सेतो प्लेटमा रातो अक्षर, कूटनीतिकमा सेतो प्लेटमा निलो अक्षर रहने बताइएको छ। 

किन आवश्यक छ इम्बोस्ड नम्बर प्लेट?

यो प्लेट जडानले सवारी सुरक्षित हुने घिमिरेको भनाई छ। 

यस्तो प्लेट एक पटक जडान गरिसकेपछि अर्को पटक जडान गर्न नमिल्ने बताउँदै उनले भने, 'यसले चोरीको सम्भावना कम हुन्छ। यो प्लेटको प्रयोगले अन्तर्राष्ट्रिय स्तरमा चोरी भएको छैन।'

यो नम्बर प्लेटमै रेकर्ड राखिने हुँदा कर नतिरी चलेका सवारी सजिलै  नियन्त्रणमा लिन सकिने विभागको दाबी छ।

यो नम्बर प्लेटमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन भन्ने नम्बर हुन्छ, जसले सवारी कहाँ र कस्तो अवस्था छ भन्ने कुरा थाहा पाउन सकिन्छ।

किन अंग्रेजी भाषामा लेखियो इम्बोस्ड नम्बर प्लेट?

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा लेखिनुमा यातायात व्यवस्था विभागको कुनै सरोकार नभएको उनले बताए। 

'यो नम्बर प्लेटलगायत भाषाको कुरा सार्वभौम संसदबाट बनेको कानुन हो। यो बारेमा हामी पनि केही गर्न सक्दैनौँ,' उनले भने, 'विगतका दिनमा नम्बर प्लेटमा लेखिएको अंग्रेजी भाषाको कारण विवाद बन्यो तर अदालत रिट खारे गरिदियो।' 

साधारण नम्बर प्लेटको तुलनामा इम्बोस्ड प्लेट पाँच गुणा बढी महँगो पर्ने बताउँदै उनले भने, 'शुल्कलगायतका कुराहरु पनि कानुनमा नै छ, त्यसैले यसको मूल्य के कत्ति पर्छ हामीलाई यकिन छैन।'

इम्बोस्ड नम्बर प्लेट जडान गर्न कहाँ जाने?

२ पांग्रे सवारीमा यातायात व्यवस्था कार्यालय गुर्जुधारामा गएर इम्बोस्ड नम्बर जडान सकिनेछ भने ३ पांग्रे र ४ पांग्रे सवारीले सवारी परीक्षण कार्यालय, टेकुमा गएर यस्तो नम्बर प्लेट जडान गर्न सकिने बताइएको छ। 

त्यसैगरी ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय, एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग, मीनभवनमा जडान स्थल तोकिएको छ।

प्रकाशित मिति: : 2022-06-07 20:53:00

प्रतिकृया दिनुहोस्

    यो नम्बर ल्पेट चेन्जगर्नु भनेकै जनता ठग्नेकाम हो र यातायातका दलेहरु पोसाउने र नेपाली लिपिमाथिको हस्तक्षप हो । नेपाल राष्ट्रमा चल्नेगाडिमा नेपाली लिपिनै हुनुपर्छ मेरो बिचारमा

    • एक बर्ष अगाडि
    • इश्वरथापा