काठमाडौंको पार्किङमा गुण्डाको राज, मूकदर्शक बन्यो महानगर (भिडियाे)

देशमा बढ्दो जनसङ्ख्यासँगै कामठाडौंमा बसोबास गर्नेहरु दिन दुईगुना रात चौगुना बढ्न थालेका छन्।

काडमाडाैँमा मानिसहरूकाे चाप बढेसंगै सवारी साधानको पनि उत्तिकै चाप बढेको छ। तर सडकको हालत भने उस्तै छ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको सडक फराकिलो बनाउने भन्दै नागरिकलाई घरबारविहीन नै हुनेगरी सडक छेउमा रहेका घरहरु भत्काउन लगाए। सडक फराकिलो भयो, घण्टौंसम्म सवारी जाम खेप्न बाध्य नागरिक जामबाट मुक्त हुनेमा आशावादी थिए।

तर फराकिलो सडक ‘टोले गुण्डा’ र पहुँचवालाहरुका लागि भयो। सडकलाई नै पार्किङ बनाएर व्यापार व्यवसाय गर्न पल्केकाहरुका कारण राजधानीको सडक यति अस्तव्यस्त हुन्छ कि कुनै कल्पना नै गर्न सकिँदैन।

काठमाडौंको न्यूरोड, सुन्धारा, नयाँबानेश्वर, बागबजार, मैतीदेवी, बालुवाटार, असन, कंलकी, बल्खु, कोटेश्वरलगायतका क्षेत्रमा दिनको समयमा सवारी साधन अस्तव्यस्तका कारण मानिसहरूलाई हिँडडुल गर्न मुस्किल हुने गरेको छ भने व्यवस्थित पार्किङ नभएकै कारण सवारी साधन लिएर निस्कनै सकस हुने गरेको छ।

कहाँ पार्किङ गर्ने, कहाँ नगर्ने कुनै ठेगान छैन। बजारमा निस्किएपछि सडकमा सवारी साधन राक्याे, किनमेल गर्न पसल छिर्यो अनि बाहिर भने सवारी साधनलाई महानगरको प्रहरीले उठाइसकेको हुन्छ।

व्यवस्थित पार्किङ नहँदा याे समस्याले अहिले धेरैलाई सताउने गरेको छ। तर महानगर भने मूकदर्शक बनिरहेकाे छ।

पार्किङ व्यवस्थापन गर्ने जिम्मेवार निकायलाई समेत यो कुराको कुनै वास्ता छैन। पार्किङको विकराल अवस्था देख्दादेख्दै महानगरले समेत बेवास्ता गरेकाे सर्वसाधारण बताउँछन्।

‘दिउँसो नगर प्रहरीले सडकमा राखेका केही सवारी साधन उठाउँछन् अनि त्यसलाई नै ठूलो काम ठानेर महानगर दंग छ’, अव्यवस्थित पार्किङकाे समस्या भाेगेकाे एक सर्वसाधारण बताउँछन्।

महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेका अनुसार अहिले काठमाडौं महानगरकाे कोर एरियामा ७ ठाँउ (महाबौद्ध, विशालबजार, धर्मपथ, पाको न्यूरोड, खिचापोखरी, दरबारमार्ग, पिउखा) पार्किङ स्थान तोकेको छ। ती ठाँउ कम्पनीलाई ठेक्कामा दिएको सहायक प्रवक्ता काफ्लेले जानकारी दिए।

तर उनको भनाईलाई महानगरभित्रको अस्तव्यस्त पार्किङले नमज्जाले गिज्याइरहेको छ। महानगरले ७ ठाउँमा पार्किङ तोकेपनि अहिले ‘टोले गुण्डा’ हरुले सडक नै कब्जा गरेर पार्किङ उठाउँदै आएकाे सर्वसाधारणकाे गुनासाे छ। उनीहरू भन्छन्, ‘त्यसमा न त महानगरको ध्यान गएको छ, न त ट्राफिक प्रहरीको नै।’

अहिले काठमाडौं उपत्यकाका सडक, पेटी र फुटपाथ सबैमा पार्किङस्थल बनाइएका छन्। सडकैभरि पार्किङ अनि सडक पेटीमा पनि पार्किङ, बचेको ठाँउमा नाङ्लाे पसल अनि सर्वसाधारण हिँड्ने कहाँ? यस्तो समस्या हुँदासमेत महानगर लाचार बनेर बसेको काठमाडौंका सर्वसाधारण गुनासाे गर्छन्। यसबारे बुझ्दा महानगरका अधिकारी रेडिमेट जवाफ दिँदै भन्छन्, ‘हामी प्लान गर्दैछौं।’

अस्तव्यस्त पार्किङले सहरलाई कुरुप मात्र बनाएको छैन, यसबाट विभिन्न समस्याहरु उत्पन्न भएको छ।

अस्तव्यस्त पार्किङका कारण ट्राफिक व्यवस्थापनमा समेत निकै समस्या भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी बालनर्सिङ राणाले बताए।

‘काठमाडौँमा पार्किङको प्रमुख समस्या भनेको यहाँ ठाउँ नभएर हो। पार्किङको कठिनाइले गर्दा सवारी आवतजावतमा निकै समस्या झेल्न पर्ने हुन्छ’, बिएल नेपाली सेवासँग कुरा गर्दै डिएसपी राणाले भने, ‘हामीहरुले पनि पार्किङको उचित व्यवस्थापनको लागि कुरा राखेको छौँ।महानगरपालिकाले पार्किङको लागि स्थान तोकिदिए सर्वसाधारणलाई राहत हुने थियो।’

प्रकाशित मिति: : 2022-06-22 18:35:00

प्रतिकृया दिनुहोस्