महँगीको मारमा होटल व्यवसायी : पैसा माग्दा हप्काउँछन् ग्राहक

Breaknlinks
Breaknlinks

झापाकी लक्ष्मी तिवारी गत चैतमा काठमाडौं आइन्। उनको राजधानी आउनुको एउटै कारण थियो– होटल व्यवसाय सञ्चालन गर्ने।

झापामा उनी श्रीमान खड्कबहादुर तिवारीसँग होटल चलाउँथिन्। तर काठमाडौंमा व्यवसाय गरे लाभ हुने सोचले तिवारी दम्पती सहर पसे।

गाउँबाट आएका उनीहरुले काठमाडौंको नयाँ बानेश्वरमा लार्खाैँमा होटल पनि किने। तर होटल किनेको एक महिनामै महँगी निकै बढ्याे। जसकारण उनीहरुको व्यवसायबाट लाभ लिने सपना चक्नाचुर भयो।

‘काठमाडौंमा होटल गरेर पैसा कमाइन्छ भनेर सोचेका थियौँ, तर महँगीले बर्बाद गर्यो’, बिएल नेपाली सेवासँग दुख पोख्दै लक्ष्मीले भनिन्, ‘फाइदा केही छैन।’

बिहानको साढे ४ बजेदेखि बेलुकी ८ बजेसम्म होटलमा व्यस्त रहने उनीसँग खाना खानसमेत फुर्सद हुँदैन।

दिनभरि भोकभोकै खटिएपनि कमाइ नभएको उनको गुनासो छ। ‘चियाको भरमा काम गर्नुपर्छ तर केही फाइदै छैन, यो महँगीले साह्रै दुख दियो’, उनले भनिन्।

नेपालमा यसैगरी लगातार मूल्यवृद्धि भइरहे आफूले विदेश जाने साेच बताएकाे खड्कबहादुर बताउँछन्।

‘मैले त पहिले नै विदेश जान्छु भनेको थिएँ तर श्रीमतीले जानै दिइनन्। अब देशको यही ताल भइरह्यो भने जाने अवस्था पनि आउँछ’, उनले भने।

महँगी बढेको कारण खाजाको मूल्य बढाउन मुस्किल भएको लक्ष्मीले बताइन्।

खाना खाजाको मूल्य बढाए ग्राहक रिसाउने भन्दै केही दिनअघि आफूसँग घटेको घटना सुनाउँदै उनले भनिन्, ‘हस्पिटलको एकजना म्याडमले खाजा ल्याइदिनु भन्नुभयो। खाजा पुर्याएर पैसा माग्दा कस्तो महँगो भनेर हप्काउनुभयो। त्यसैले मैले आफ्नो इच्छानुसार पैसा दिनु भन्दिएँ। मान्छेसँग किन नराम्रो हुनु र!’

रमेश घिमिरले नयाँ बानेश्वरमा ‘ग्रीन ल्याण्ड रेस्टुरेन्ट’ सञ्चालन गरेको ६ वर्ष भयो। रेस्टुरेन्ट चलाएर खुसी रहने उनी हिजोआज दुखी बनेका छन्। उनी निराश हुनुको कारण हो, लगातारको मूल्यवृद्धि।

‘हामी व्यवसायीलाई गत वर्ष पनि कोरोनाले थला पार्यो, अब फेरि मूल्यवृद्धिले थाल पार्दैछ’, उनले भने, ‘अब कहिलेसम्म व्यापार टिकाउने हो थाहै छैन।’

यसैगरी दुई महिनाअघि मात्रै सञ्चालनमा आएको होटल हो– सस्तो खाना घर।

सस्तो र स्वादिष्ट खानाले छिट्टै मान्छेको ध्यान खिच्न सफल भएकाे बताउँदै सरिता ढुङ्गाना भन्छिन्, ‘अहिले महँगीले दुख दिएको छ।’

केही महिनाअघि २७ सय पर्ने कार्टुनकाे तेल अहिले ३३ सय पर्ने उनी बताउँछिन्।

‘ग्यासको सिलिण्डर १८०० पुगेको छ। सागसब्जीका मूल्य पनि त्यसैगरी महँगिएको छ। यसरी त हामीलाई धेरै गाह्रो हुन्छ नी’ उनले बताइन्।

नेपालमा आर्थिक सकंट लागिरहेको बताउँदै उनले भनिन्, ‘सरकारले हामी व्यवसायी र जनताहरुलाई मर्कामा पार्नु हुँदैन। मूल्यवृद्धिलाई रोक्नुपर्छ र सामानको भाउलाई पहिलेको जस्तै बनाउनुपर्छ।’

पछिल्लो समय नेपालमा अचाक्ली मूल्यवृद्धि भइरहेको छ। जसअनुसार खाद्यानलगायत लत्ता कपडाको समेत मूल्य बढेको छ।

प्रकाशित मिति: : 2022-06-21 18:05:00

प्रतिकृया दिनुहोस्