यस्ताे छ श्रावण महिनाकाे महिमा

File Photo
File Photo

सनातन धर्मको पृष्ठभूमिमा हरेक ऋतुमा ऋतुको प्रकृतिअनुसार चाडपर्व र व्रत उत्सवहरु मनाउने परम्परा रहिआएको छ। उपयुक्त परम्पराअनुसार श्रावण महिनाकाे पहिलो दिनलाई साउने (श्रावण) संक्रान्ति भनिन्छ। श्रवणको अर्थ सुन्नु भन्ने हुन्छ। यस महिनामा श्रीमद् भगवद् गीता महापुराण जस्ता विभिन्न पुराण सुन्नु र सुनाउनु पर्छ। उक्त कारणहरूले गर्दा श्रावणलाई अति उत्तम महिना मानिएको छ।

श्रावण महिनाबाटै नेपालीहरुका चाडपर्वहरु सुरु हुने गर्दछन्। यस महिनामा वर्षकै अत्याधिक वर्षा पनि हुने गर्दछ। तर यस वर्ष भने खासै वर्षा भएकाे छैन।

श्रावण महिनालाई भगवान शिवको प्रिय महिनाको रुपमा ग्रहण गरिएको पाइन्छ। यसै महिनामा समुद्र मंथन भएको थियो र त्यही बखत हलाहल बिष निस्केको थियो भन्ने पौराणिक कथनहरुमा व्याख्या गरिएको पाइन्छ। संसारलाई रक्षा गर्नका लागि भगवान शिव आफैंले सो बिष सेवन गरेर हिमालय पर्वतमा गएर बस्नुभएको उल्लेख छ। यसरी बिष ग्रहण गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाइँकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ। त्यसैले यस महिना शिवलिङ्गमा जल तथा बलि पुष्प चढाए भगवान प्रसन्न हुन्छन् भन्ने मान्यता छ।

सम्भव भए श्रावण महिनाभरि यदि सम्भव नभए श्रावण महिनाको सोमबार मात्र भएपनि जसले विधिपूर्वक शिवको व्रत लिन्छ र स्नान गरी भगवानको पूजा गर्दछ उसले पुत्र प्राप्त गर्छ, धनवान हुन्छ, विद्या प्राप्त गर्छ, खुशी हुन्छ र समाजमा बुद्धिमान व्यक्तिका रूपमा प्रसिद्ध हुन्छ भन्ने मान्यता छ।

श्रावण महिनाको सोमबारको व्रत गर्नाले धर्म पनि प्राप्त हुने कुरा धर्म शास्त्रमा बताइएको पाइन्छ। यो महिनामा विभिन्न शिव धामहरुमा महिनौं मेला लाग्ने पनि गर्दछ र पशुपतिनाथमा विशेष शिवको पूजाआजा गर्ने पनि गरिन्छ।

श्रावण संक्रान्तिका दिन घरका परिवारलाई वर्षभरि नै लुतो, दाग, खटिरा, घमौरा आदि नआउन, सबैको स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यद्वारा अभिप्रेरित भइ निशाचर (राक्षस) को पूजा गरी अगुल्टो बाली ‘पूर्व-पश्चिम, उत्तर-दक्षिण चारैतिर लुतो नआओस्’ भनेर अगुल्टो फालेमा लुतो, खटिरा आउँदैन भन्ने परम्परागत मान्यता रहिआएको छ। त्यसैले श्रावण संक्रान्तिलाई लुतो फाल्ने दिन पनि भन्ने गरिन्छ।

जताततै हराभरा, हरियाली देखिने यो महिनामा हरियो रङको विशेष अर्थ अर्थात् महिमा रहेको पाइन्छ। आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलवा परिवारजनमा सुख, शान्ति र कान्ति छाइरहोस् भनेर पनि रंगिन चुराहरु लगाउने गरिन्छ। यो रंगिन महिनाको सुरुवात भनेकै कर्कट संक्रान्ति हो।

‘बिशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरु हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहेन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाङ्ग, धतुरो तथा  बेली पुष्प समर्पण गरी सफलता, सुस्वास्थ्य तथा योग्य बर पाउँ भनी व्रत बस्ने चलन रहिआएको पाइन्छ।’

प्रकाशित मिति: : 2022-07-17 10:47:00

प्रतिकृया दिनुहोस्