जो एमबीए पढेर पानीपुरीकाे व्यापार गर्छन् (भिडियाे)

काठमाडौंस्थित नयाँ बानेश्वरको चौकबाट देखिन्छ ,‘पुच्का वर्ल्ड’। जहाँ पाइन्छ, पानीपुरीका अनेकौँ स्वाद।

महिना दिनअघि सुरु भएको पुच्का वर्ल्डमा पाँच किसिमका ‘फ्लेवर’ पाइन्छ। यही पुच्कामा पाइने ‘फ्लेवर’काे टेस्ट गर्न ग्राहकहरु बानेश्वरबाट मात्र होइन, सुन्दरीजलबाट पनि धाउने गर्छन्।

पहिलो पटक पानीपुरीको स्वाद लिने ग्राहकहरू भन्ने गर्छन्, ‘वाह पानीपुरी होस् त पुच्का वर्ल्डको जस्तो!’

ग्राहकहरुको सन्तृष्टि देखेरै खुसी छन्, पुच्का वर्ल्डका सञ्चालक रोहित शाह। ‘ग्राहकहरुको सन्तृष्टि नै हाम्रो खुसी हो’, बिएल नेपाली सेवालाई उनले बताए।

२५ वर्षीय शाहले पानीपुरी मात्र होइन, पुस्तकहरु पनि राखेका छन्। यहाँ आउने ग्राहक जाे पढ्न रूचाउँछन्, उनीहरूका लागि लक्षित गरेर पुस्तकहरू राखिएकाे उनी बताउँछन्।

‘मैले यहाँ  विद्यार्थीहरुलाई टारगेट गरेर बुक्सहरु राखेको हुँ’, आफ्नो पसलमा सजाइएका किताबहरु देखाउँदै उनले भने, मेरो कारण कसैले पढा्ेस् भन्ने मेरो चाहना हो।’

आफैँ पनि शिक्षित भएकाले सबै मानिस शिक्षित रहोस् भन्ने आफ्नो उदेश्य रहेको उनले बताए। ‘मेरो कारण कसैले किताब पढेको देख्दा खुसी लाग्छ’, उनले भने, ‘कमसेकम मैले कसैलाई किताब त पढाएँ।’

कसरी सुरु भयो ‘पुच्का वर्ल्ड’?

झापा सिम्गन्जका उनी सन् २०१९ मा काठमाडौं आए। कारण थियो–एमबीएको तयारी।

राजधानी आएका उनी नयाँ बानेश्वरको एक होस्टेलमा बसे। होस्टेलमै बसेर उनले आफू पनि पढ्ने र अरुलाई पनि पढाउने गर्न थाले। त्यहीँबाट उनले आफ्ना लागि खर्च निकाल्थे।

‘मैले गाउँबाट पैसा पठाइदिनु भनिनँ, म आफैँले मेरो खर्च जुटाएँ’, उनले भने, ‘बाआमालाई दुख दिने मन भएन।’

पुर्खा नै व्यापारी भएकाले उनमा पनि सोच आयो, सानोतिनो पसल खोलेर बस्ने। त्यसैले उनले ‘चिया पसल’ खोल्ने सोच बनाए। तर विस्तारै उनले पानीपुरी बेच्ने निधो गरे।

पानीपुरी ‘लबर’ उनी एकदिन साथीभाइसँग पानीपुरी खान गए। तर त्यहाँ न सफा पानीपुरी थियाे, न त बस्ने ठाउँ नै। त्यहीबेला उनले साेचे–पानीपुरीलाई व्यवस्थित बनाउने।

‘सुरुमा मैले चिया पसल खोल्ने सोचेको थिएँ तर काठमाडौंमा फोहोर गरेर बनाएको पानीपुरी, चटपटे देखेरै मैले पानीपुरीको पसल खोलेको हुँ’, उनले भने, ‘म आफैँले देखेँ फोहोर पानी र फोहोर तरिकाबाट पानीपुरी चटपटे बनाएको। त्यसैले मैले सफा गरेर ग्राहकहरुलाई खुवाउने उदेश्यले पुच्का वर्ल्ड खोलेँ।’

काठमाडौंतिर सबैले पानीपुरी भनेर बेच्ने गरेकाले आफूले त्यसलाई ‘पुच्का’ नाम दिएको उनले बताए। पूर्वतिर पानीपुरीलाई पुच्का भनेर चिनिने उनले सुनाए।

पुच्का वर्ल्ड अरुभन्दा फरक रहेको उनी बताउँछन्। ‘अरु ठाउँतिर पानीपुरीको एउटै स्वाद पाइन्छ तर यहाँ फरक–फरक स्वादहरु छन्’, उनी भन्छन्, ‘मानिसहरु अप्शन चाहन्छन्, त्यसैले धेरै स्वाद राखेको हुँ। पुच्का वर्ल्डकाे मतलब पनि त्यही हाे, पानीपुरीकाे धेरै स्वाद।’

पानीपुरी पसल खोल्न आफूलाई सबैभन्दा धेरै साथीहरुले सहयाेग गरेको उनले बताए।

‘म लक्की रहिछु, त्यसैले त मैले सुजन मिश्र, सन्दिप गिरी, साैहार्धपूर्ण सिग्देल र तीर्थ कार्की जस्ता साथीहरू पाएँ’, साथीहरुले गरेकाे सहयाेगकाे प्रशंसा गर्दै उनले भने, ‘उनीहरुको लगानीमा नै पुच्का वर्ल्ड खोल्न सफल भएँ। उनीहरूले मलाई विश्वास गरेर लगानी गरे। साथीहरू हाेस त उनीहरू जस्ता। जसले जस्ताेसुकै अवस्थामा पनि साथ दिन्छन्।’

एमबीए पढेर पानीपुरीकाे व्यापार?

२०५४ सालमा जन्मिएका उनी घरका जेठा छोरा हुन्। पिता विपिन शाहले शिक्षालाई प्राथमिकता दिने भएकाले आफूलगायत भाइबहिनी नै शिक्षित भएको उनी बताउँछन्।

‘मेरो बाले उहीबेला एसएलसी पास गर्नुभएको हो। त्यसैले उहाँले हामीलाई सधैँ पढ्नमा फोकस गर्नुभयो’, उनले भने।

‘इन्जिनियरिङ’ पढ्ने सोचेका उनले इन्जिनियरिङलाई  छाडेर ‘म्यानेजमेन्ट’ पढ्ने मन बनाए। भन्छन्, ‘व्यापारमा इच्छुक थिएँ, त्यसैले त्यतै ढल्किएँ।’

उनको इच्छालाई बाआमाले समेत नरोकेको बताउँछन्। ‘घरमा कसैले रोकटोक गर्नु हुँदैन थियो। त्यसैले काठमाडौं आएर पढ्न थालेँ’, उनले भने।

व्यापार गर्ने उदेश्यले इन्जिनियरिङ त्यागेर एमबीए गरेका उनलाई पानीपुरी बेच्न थाल्दा धेरैले भनेका थिए, ‘एमबीए पढेर पनि पानीपुरी व्यापारी बन्यौ?’

पानीपुरीको व्यापार गर्छु भन्दा सधैँ आफ्नो पक्षमा रहने बाआमाको समेत साथ नरहेको उनले बताए।

‘मैले बाआमालाई सम्झाइ-बुझाइ गरेको थिएँ, तर पछि गाउँलेले कुरा काट्न थालेपछि सपाेर्ट गर्नुभएन’, उनले दुख पोख्दै भने।

उनलाई बैंकमा काम गर्ने एक जना चिनेकै दाइले पनि भनेका थिए, ‘एमबीए पढेर पानीपुरीवाला भइदेको!’

शिक्षित मान्छेबाट नै त्यस्तो कुरा सुन्दा नमज्जा लागेको उनले बताउँछन्। ‘मान्छेले पानीपुरी बेच्ने भनेर हेला गर्छन् तर त्यो नबुझेर हो। विदेशमा पलायन हुनुभन्दा यहीँ काम गरेर बस्नु राम्रो हो’, उनी भन्छन्, ‘मान्छेले खोइ कुरा बुझेको?’

‘पुच्का वर्ल्डलाई ब्राण्ड’ बनाउँछु

पढाइमा अब्बल उनी भन्सार एजेन्सीमा नाम निकाल्न सफल भएका छन्। तर उनको मन भने पुच्का वर्ल्डमै अड्किएको छ। त्यसैले त उनी पुच्का वर्ल्डलाई व्यवस्थित तरिकाले लैजान चाहन्छन्।

उनी भन्छन्, ‘समाजमा भएको समस्यालाई विस्थापित गर्दै पुच्का वर्ल्डलाई स्थापित गर्नेछु।’

अब उनको एक मात्र सपना छ– पुच्का वर्ल्डलाई ब्राण्ड बनाउने अनि स्ट्रिट फूडलाई अघि बढाएर लैजाने।

पुच्का वर्ल्डबारे के भन्छन्– ग्राहक

पुच्का वर्ल्डका दैनिक ग्राहक हुन्–अभिशेक लुइँटेल। उनी अरू ठाउँमा भन्दा पुच्का वर्ल्डमा पानीपुरी खान रूचाउँछन्। कारण हाे– फरक स्वाद र सफा ठाउँ।

‘म पानीपुरीको सोखिन छु, त्यसैले त यहाँ आएर दैनिक पानीपुरी खान्छु’, उनी भन्छन्, ‘यहाँको पानीपुरीको टेस्ट धेरै मिठो छ।’

पुच्का वर्ल्ड लेखेको ‘बोर्ड’ ले आफूलाई आकर्षित गरेको उनले बताए। ‘नयाँ ठाउँँको पानीपुरी टेस्ट गर्न पुच्का वर्ल्ड आएको थिएँ’, महिना दिनअघि पहिलाे पटक पुच्का वर्ल्डमा आएको कुरा सम्झँदै उनले भने, ‘यहाँको पानीपुरी खाएदेखि अरु ठाउँको मनै पर्दैन। यहाँ आइरहन मन लाग्छ। यहाँ बसेर खाने ठाउँदेखि बनाइने पानीपुरी र चटपटे नै मिठाे छ। त्यसैले म दैनिकजसाे आउने गर्छु।’

प्रकाशित मिति: : 2022-07-21 21:21:00

प्रतिकृया दिनुहोस्