झुक्याएर पदक लिने प्रहरी कर्मचारीमाथि कारवाही हुने, ‘कासमु’ बाट पाउने २ नम्बर कटौती गर्ने तयारी 

कमल प्रभात

काठमाडौं
Breaknlinks
Breaknlinks

‘चेनअफ कमाण्ड’ को बेवास्ता गर्दै पहुँचका आधारमा पदक प्राप्त गर्ने प्रहरी अधिकारीलाई कारवाही हुने भएको छ।

वर्षभरि उत्कृष्ट कार्य गरेका प्रहरी कर्मचारीको मातहत हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पुग्ने र त्यसैका आधारमा हेरफेर गरी प्रहरी प्रधान कार्यालयले पदकका लागि गृह मन्त्रालयमा सिफारिस गरेपछि पदक प्राप्त गर्ने प्रवाधान छ।

तर पछिल्लो सयममा प्रहरी कर्मचारीले पहुँचका भरमा प्रधान कार्यालयलाई थाहै नदिएर तक्मा प्राप्त गर्न लागेपछि त्यसको विकृति फैलाएको भन्दै प्रहरी मुख्यालयले त्यस्ता कर्मचारीलाई कारवाहीस्वरुप उनीहरुले पाउने नम्बरबाट २ नम्बर कटौती गर्ने तयारी थालेको छ।

सम्बन्धित निकायबाट सिफारिसका आधारमा सरकारले संविधान दिवसका अवसरमा उत्कृष्ट कार्य गरेका प्रहरी कर्मचारीलाई विभिन्न शीर्षकमा पदक दिने गरेको छ। त्यही पदक प्राप्त गर्नका लागि प्रहरी अधिकारीहरु नेताको घरदैलो तथा बिचौलियाको पछि लाग्न थालेपछि प्रहरीमा बेथिति बढेको छ।

उक्त बेथितिलाई हटाउन प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले पदक प्राप्तिका निम्ति गलत बाटो प्रयोग गरी ‘शक्ति केन्द्र’ धाउने प्रहरी कर्मचारीलाई कारवाही गर्ने तयारी थालेका हुन्।

यसो त प्रहरी महानिरीक्षक सिहंले केही दिनअघि भएको एक ब्रिफिङ कार्यक्रममै पदकका निम्ति ‘चेनअफ कमाण्ड’को बेवास्ता गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका थिए।

विभिन्न कारवाही भोगेका, अनुसन्धानकै क्रममा रहेका तथा बदनाम भएका अधिकारीहरुले पहुँचका आधारमा प्रहरी प्रधान कार्यालयलाई थाहै नदिएर तक्मा प्राप्त गरेका घटनाले प्रहरी संगठनकै आलोचना हुन थालेपछि प्रहरी महानिरीक्षक सिंहले यस्तो कदम चालेका हुन्।

प्रहरी प्रधान कार्यालयको सिफारिस बेगर पदक प्राप्त गर्नु संगठनको हितविपरीत हुने भएकाले त्यस्तो कार्य गर्ने प्रहरी कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको नेपाल प्रहरीका प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताए।

बिएल नेपाली सेवासँग कुरा गर्दै प्रवक्ता राईले भने, ‘चेनअफ कमाण्डको बेवास्ता गर्दै पदकका लागि कुद्नु गैरकानुनी कार्य हो, यसलाई संगठन प्रमुख ज्यूले गम्भीरताका साथ लिनुभएको छ।’

‘विभिन्न चरणमा कारवाहीमा परेका तथा गैरजिम्मेवारी काम गरेकाहरुले ‘शक्ति केन्द्र’ धाएर पदक पाएका हुन्छन्। प्रहरी प्रधान कार्यालयलाई उनीहरुले तक्मा पाएको थाहै हुँदैन, तर यो कुरा बाहिर जानकारी हुने कुरा भएन’, प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी अधिकारीले भने, ‘यसले सिंगो संगठनको बदनाम भएको थियो। चिफ सावले थाल्नुभएको यो कार्य धेरै राम्रो छ, आवश्यक पनि थियो।’

हुन पनि प्रहरी प्रधान कार्याललाई झुक्याएर प्रहरीले प्राप्त गर्ने पदककै कारण प्रहरी संगठनकै बदनाम हुने गरेको छ। असोज ३ गते संविधान दिवसका दिनमा राष्ट्रपतिबाट पाउने विभिन्न पदकको घोषणा गरिन्छ।

संगठनको सिफारिस बिना कुनै पनि प्रहरी कर्मचारीले पदक लिएको पाइएमा प्रहरी प्रधान कार्यालयले आर्थिक वर्षको असार २२ गतेसम्म गरिने कार्य सम्पादन मूल्यांकनमा पाउने नम्बरबाट २ नम्बर घटाउने तयारी गइरहेको प्रहरी मुख्यालय स्रोतले बिएल नेपाली सेवालाई जानकारी दियो।

यसअघि प्रहरी बढुवामा उक्त पदकको २ नम्बर जोडिने प्रवाधान थियो। नम्बर जोडिने भएपछि त्यसरी गलत बाटो प्रयोग गरी पदक हासिल गर्न प्रहरी अधिकारीहरुमा होड चलेपछि गएको वर्षदेखि बढुवामा उक्त नम्बर जोडिने प्रावाधन हटाइएको छ।

प्रकाशित मिति: : 2022-07-24 22:00:00

प्रतिकृया दिनुहोस्