सामुदायिक विद्यालयमा छट्के अनुगमन: २५ शिक्षक अनुपस्थित, बैशाखदेखि नै छैन हाजिरी

बाँकेको कोहलपुर नगरपालिकाको सामुदायिक विद्यालयमा २५ जना शिक्षक अनुपस्थित भएका छन्।  

सोमबार नगर प्रमुख पूर्णप्रसाद आचार्यले सामुदायिक विद्यालयमा छट्के अनुगमन गर्न जाँदा उनीहरु बैशाखदेखि नै अनुपस्थित रहेको भेटिएको हो। 

कोहलपुरको सामुदायिक विद्यालयमा विभिन्न समस्या बढिरहेको भन्दै जन गुनासोहरु आएपछि नगर प्रमुख सहितको टोली अनुगमन गएका थिए।

अनुगमनमा जाँदा बैशाखदेखि शिक्षकहरुको हाजिरी थिएन। २५ जना शिक्षक अनुपस्थिति थिए भने ७ वटा कक्षा कोठामा शिक्षक नै थिएनन्।

‘एउटा नमूना विद्यालयमा यति धेरै कमी कमजोरी भेटियो भने अन्य विद्यालयको अवस्था कस्तो होला?’ नगर प्रमुख आचार्यले प्रश्न गरे?

‘आज दोस्रो दिन हो, कुन दिन कुन विद्यालयमा जाने, के गर्ने, कसरी जाने भन्ने विषयमा मलाई मात्र थाहा हुन्छ, उनले थपे, ‘पहिलो चरणमा नेपाल सरकारले दिएको रकमको सहि सदुपयोग भएको छ या छैन भनेर हेर्छौँ। त्यसपछि कारवाहीको काम सुरु गछौँ।’

अचार्यले आफू पढेको विद्यालय अहिले कोहलपुरको नमूना विद्यालय भएको बताउँदै भने, यो खुसीको कुरा हो, तर नमूना विद्यालयबाट अन्य विद्यालयहरुले अनुयाई हुने किसिमको वातावरण बनाउनुपर्छ।

यस्तै कक्षामा नियमति विद्यार्थी र शिक्षक उपस्थिति, शौचालय, विद्यालय क्षेत्र र कक्षा कोठामा सरसफाई, बत्ति पानीको व्यवस्था, शिक्षकको विदा र हाजिरी, बगैँचा र खेल मैदान व्यवस्थित गर्नुपर्ने, विद्यालयले कुनै पनि निर्णय गर्दा नगर शिक्षाको नीति पालना गर्नुपर्ने र इलेक्ट्रोनिक्स हाजिरिलाई नियमित प्रयोग गर्नुपर्ने जस्ता अनुगमन पश्चात विद्यालयलाई सुझाव दिइएको छ।
   
यस्तै विद्यालयका प्रधानध्यापक देवका थापाले भने बैशाखदेखि हाजिरी नहुनुको कारण विदा भएको र शिक्षकहरु जानकारी दिएको कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मिजारले बताए।

अनुगमनमा एक स्थायी शिक्षकले कक्षा कोठामा लेखेको अंग्रेजी शब्दहरु गलत भेटिएको उनले बताए। 

उक्त भेटिएको गलत शब्दलाई आफूले गलत रहेको नबताउँदै उनले भने, 'विद्यार्थीले नै शब्द गलत भएको बताए।'

‘कोहलपुरको नमूना विद्यालयका शिक्षकले अध्यापन गराएको देख्दा निकै दयनिय लाग्यो,’ उनले भने, ‘यसलाई सुधार गर्नका लागि के—के अभियान सञ्चालन गर्नुपर्ने हो त्यसको खोजी पर्ने देखिएको छ।’ 

अहिले सुझाव मात्र दिएर आएको तर अर्को पटक अनुगमनमा त्यस्तै भेटियो भने नगर प्रमुखको आदेश अनुसार कारवाहीको भागेदारी बनाउने उनले बताए।

यस्तै समाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद बिश्वकर्माले नेपाल सरकारले शिक्षामा अरबैं लगानी गरेको तर त्यसको प्रतिफल प्राप्त गर्नका लागि निकै संघर्ष गर्नुपर्ने बताए।

‘अनुगमनमा देखिएका विभिन्न समस्याका कारणले अझै केही वर्ष सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिदैन की भन्ने चिन्ता बढेको छ,’ उनले भने, ‘तर कोहलपुर नगरपालिकामा हरेक हप्ता, महिना, वर्षमा प्रत्येक विद्यालयमा अनुगमन जानेछौं।’

कोहलपुर नगरपालिकामा शिक्षा क्षेत्रमा नगरपालिकाको विशेष चासोका साथ निति तथा कार्यक्रम अनुसार अगाडि बढिरहेको समाजिक विकास समिति संयोजक बिश्वकर्माले बताए। सो अनुगमनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर विष्ट समेत रहेका थिए।
 

प्रकाशित मिति: : 2022-07-25 21:00:00

प्रतिकृया दिनुहोस्